• Sat. Jul 27th, 2024

३६ वर्षअघि पाटनबाट चोरिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

Bysaptahiksamachar

२२ फाल्गुन २०७७, शनिबार १५:४१ २२ फाल्गुन २०७७, शनिबार १५:४१ २२ फाल्गुन २०७७, शनिबार १५:४१

३६ वर्षअघि पाटनबाट हराएको वासुदेव–कमलाजा(लक्ष्मी–नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा अमेरिकाले नेपाललाई उक्त प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।

अमेरिकी संघीय अनुसन्धान ब्युरो(एफबीआई) का उपसहायक निर्देशक तिमोथी एन डन्हामले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई उक्त मूर्ति हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राजदूत नेपालको प्राचीन मूर्ति फिर्ताका लागि पहल गरेकोमा अमेरिकी सरकारलाई विशेष धन्यवाद पनि दिए । सांस्कृति सम्पदाको संरक्षणका लागि दुई मुलुकबीच भएको सहकार्यको पनि राजदूत खतिवडाले प्रशंसा गरे ।

उनले मूर्ति फिर्ताका लागि पहल गरेकोमा सञ्चारमाध्य, सम्पदाविद् तथा विज्ञहरु, अमेरिकी विदेश मन्त्रालय, एफबीआई, काठमाडौंस्थित अमेरिकी दूतावास र डल्लास म्युजियम अफ आर्ट्सलाई पनि धन्यवाद व्यक्त गरे । वासिङ्टनस्थित नेपाली दूतावासले केही प्रक्रिया पूरा गरेर उक्त मूर्ति नेपाल पठाइने जानकारी दिएको छ ।

अमेरिकी विदेशमन्त्रालयका प्रमुख उपसचिव इर्भिन मासिंगाले नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकाले सधैँ सहकार्य गर्ने र वासुदेव–कमलाजा जस्तो प्राचीन मूर्ति हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।

अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो । डल्लास म्युजियमले भने गत नोभेम्बर ३० मै यो मूर्ति एफबीआईलाई हस्तान्तरण गरिसकेको थियो ।

आर्थिक संकटकै कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव–कमलाजाको मूर्तिलाई लागेजति खर्च बेहोरेर घर फिर्ता ल्याउने ललितपुर महानगरपालिकाले घोषणा गरिसकेको छ ।

मूर्तिलाई पट्को टोलको नारायण मन्दिरमै प्रतिस्थापन गरिने सहमतिसमेत बनेको छ । वासुदेव–कमलाजा मूर्ति रहेको ललितपुर महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष निर्मलरत्न शाक्यले सम्पूर्ण सुरक्षा र संरक्षणको जिम्मा लिएर घर फर्कन लागेको मूर्ति पुरानै मन्दिरमा राखिने प्रतिबद्धता जनाएका छन् ।

१२औं शताब्दीमा बनाइएको यो एउटै मूर्तिमा देब्रेतर्फ विष्णु(नारायण) र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ । पुरातत्व अन्वेषक लैनसिंह बाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा समेत वासुदेव–कमलाजा मूर्ति चोरिएकोबारे प्रामाणिक विवरण उल्लेख छ ।

ekantipur.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *