• Sat. Jul 27th, 2024

स्थानीयस्तरमा रोजगार सिर्जना

Bysaptahiksamachar

२९ फाल्गुन २०७७, शनिबार १५:३६ २९ फाल्गुन २०७७, शनिबार १५:३६ २९ फाल्गुन २०७७, शनिबार १५:३६

प्युठानका आठ स्थानीय तहले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयस्तरमा रोजगार सिर्जना हुन थालेको छ । जिल्लाका प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, नौवहिनी, मल्लरानी, गौमुखी, माण्डवी, सरुमारानी र झिमरुक गाउँपालिकाले रोजगार कार्यक्रम सञ्चालन गरेका हुन् ।

ऐरावती गाउँपालिकाले रोजगार कार्यक्रम शुरु गर्ने तयारीमा छ । कार्यक्रममार्फत बेरोजगार जनताले १०० दिनका लागि रोजगारी पाउने छन् । नौवटै स्थानीय तहका दुई हजार ९१५ बेरोजगार व्यक्तिले यो वर्ष १०० दिन बराबरको रोजगारी पाउँदैछन् ।

प्युठान नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको छ । अत्यन्त विपन्न वर्गलाई आंशिकरुपमा भए पनि स्वरोजगार बनाउने नेपाल सरकारको लक्ष्यअनुसार नगरपालिकाले रोजगार कार्यक्रम सञ्चालन गरेको हो । माघ २० गतेदेखि नगरका १० वटै वडामा रोजगार कार्यक्रम शुरु भएको छ । विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले रोजगार कार्यक्रम शुरु भएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो ।

कार्यक्रममार्फत नगरपालिकाका १० वटा वडामा ३० योजनाको काम शुरु भएको रोजगार संयोजक माधव गिरीले जानकारी दिनुभयो । सडक मर्मत, बालविकास भवन, पैदलमार्ग, नाली, रिचार्ज पोखरी निर्माणलगायतका योजनाको काम भइरहेको उहाँले बताउनुभयो । जसका लागि रु दुई करोड ५६ लाख ४४ हजार बजेट विनियोजन भएको छ । नगरपालिकाभित्रका बेरोजगार फारम भरेकाबाट छनोट भएका ४९६ व्यक्ति रोजगार कार्यक्रममा सहभागी भएका छन् । यी व्यक्तिले १०० दिन रोजगारी पाएका हुन् । दैनिक आठ घण्टा काम गर्नुपर्नेछ । जसबापत प्रतिव्यक्ति दैनिक रु ५१७ उपलब्ध गराइने रोजगार संयोजक गिरीले बताउनुभयो ।

नौवहिनी गाउँपालिकाले पनि प्रधानमन्त्री उक्त कार्यक्रम थालेको छ । फागुन १ गतेबाट कार्यक्रम शुरु गरेको रोजगार संयोजक विक्की घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले ४५२ व्यक्तिलाई १०० दिन बराबरको रोजगारी दिँदैछ । धेरै वडामा काम शुरु भइसकेको उहाँले बताउनुभयो । कार्यक्रमका लागि रु दुई करोड ३३ लाख ६९ हजार बजेट विनियोजन भएको छ । त्रिचालीस योजना छनोट गरिएको रोजगार संयोजक घिमिरेले बताउनुभयो ।

मल्लरानी गाउँपालिकाले पनि सो कार्यक्रम थालेको छ । फागुन ६ गतेदेखि वडा नं ४ बाट रोजगार कार्यक्रम शुभारम्भ गरिएको रोजगार संयोजक शरद भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममार्फत २८० ले रोजगारी पाउने छन् । त्रिपन्न योजना छनोट भएका छन् । जसका लागि रु एक करोड ४४ लाख ७६ हजार बजेट विनियोजन गरिएको छ ।

गौमुखी गाउँपालिकाले पनि उक्त कार्यक्रम शुभारम्भ गरेको छ । वडा नं २ र ७ बाट कार्यक्रम शुभारम्भ गरिएको रोजगार संयोजक नीरज पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममार्फत २८५ व्यक्तिले रोजगारी पाउनेछन् । कार्यक्रमका लागि ४५ योजना छनोट भएका छन् जसका लागि रु एक करोड ४७ लाख ३४ हजार ५०० विनियोजन भएको उहाँले बताउनुभयो ।

माण्डवी गाउँपालिकाले फागुन १० गतेदेखि रोजगार कार्यक्रम चलाएको छ । कार्यक्रममार्फत २५० ले रोजगारी पाउने छन् । कार्यक्रममार्फत ४० योजनाको काम हुने गाउँपालिकाका सूचना प्रविधि अधिकृत अनिल अधिकारीले जानकारी दिनुभयो । जसका लागि रु एक करोड ४ लाख ८५ हजार बजेट विनियोजन भएको छ । झिमरुक गाउँपालिकाले सो कार्यक्रम सञ्चालन गरेको रोजगार संयोजक सुदर्शक जिसीले जानकारी दिनुभयो । वडा नं ७ बाहेक अन्य सात वडामा कार्यक्रम शुरु भएको छ । कार्यक्रममार्फत ३९७ ले रोजगारी पाउने छन् । नाली, पर्खाल, पोखरी, चौतारी निर्माणलगायतका १६८ योजना छनोट भएको उहाँले बताउनुभयो । यस कार्यक्रमका लागि रु दुई करोड पाँच लाख २५ हजार बजेट विनियोजन भएकोसमेत उहाँले बताउनुभयो ।

सरुमारानी गाउँपालिकाले सो कार्यक्रम शुरु गरेको छ । दुई सय ५४ लाई यस वर्ष १०० दिन बराबरको रोजगारी दिन थालेको कार्यक्रम संयोजक अनुस्का महतोले जानकारी दिनुभयो । “दुई वटा वडाबाहेक अन्यमा शुरु भएको छ”, उहाँले भन्नुभयो, “बाँकी रहेका वडामा आइतबारदेखि शुरु गर्ने योजनामा छौँ ।” कार्यक्रममार्फत सडक नाली, कुलो, बाटो, कम्पाउण्ड वाल निर्माण तथा मर्मतलगायतका योजनाको काम हुने उहाँले बताउनुभयो । सो कार्यक्रममा दैनिक रु ५१७ ज्याला निर्धारण गरिएको छ । कार्यक्रमका लागि रु एक करोड ३१ लाख ३२ हजार प्राप्त भएको संयोजक महतोले जानकारी दिनुभयो ।

स्वर्गद्वारी नगरपालिकाले सो कार्यक्रम सञ्चालन गरेको छ । चार वटा वडामा कार्यक्रम शुरु भएको र बाँकी वडामा शुरु गर्ने तयारीमा रहेको रोजगार संयोजक रमेश पोख्रेलले बताउनुभयो । कार्यक्रममार्फत २८४ ले रोजगारी पाउने छन् । कार्यक्रमका लागि रु एक करोड ४६ लाख ८३ हजार बजेट विनियोजन गरिएको छ । कार्यक्रमअन्तर्गत १८ योजना छनोट गरिएको उहाँले बताउनुभयो ।

ऐरावती गाउँपालिकाले पनि आजदेखि सो कार्यक्रम सञ्चालन गर्ने रोजगार संयोजक विनोद त्रिपाठीले जानकारी दिनुभयो । छ वटा वडामा ३१ योजना छनोट गरिएको छ । जसका लागि रु एक करोड १२ लाख १९ हजार बजेट विनियोजन भएको संयोजक त्रिपाठीले जानकारी दिनुभयो । कार्यक्रमका लागि ऐरावती गाउँपालिकामा २१७ व्यक्ति छनोट भएका छन् ।

कार्यक्रम मार्फत १०० दिनको रोजगारी पाएकाहरु खुशी छन् । मल्लरानी गाउँपालिका–४ खलङ्गा कर्वडहलदेखि लाममेलासम्मको सडकमा नाली खन्दै गरेका २७ वर्षीय सूर्यबहादुर विश्वकर्माले खाली समयमा केही समयका लागि काम पाउँदा खुशी लागेको बताउनुभयो । केही समय भारतमा समय बिताउनुभएका उहाँ तीन वर्षदेखि गाउँमै रहेको र घरायसी काम गर्दै आउनुभएको थियो । बिहान १० देखि ५ बजेसम्म काममा खटिएको उहाँको भनाइ छ । यसरी काम पाउँदा घरपरिवार पाल्न पनि सहज हुने विश्वास उहाँले लिनुभएको छ । उहाँ भन्नुहुन्छ, “हामीजस्ता बेरोजगारीलाई १०० दिनमात्र नभई सधैँभरि काम दिएमा सहज हुने थियो ।”

त्यस्तै मल्लरानी गाउँपालिका–३ बञ्चरेका ३५ वर्षीय शिवकुमार श्रेष्ठ पनि खाली समयमा काम पाउँदा खुशी हुनुभएको छ । शुक्रबारदेखि वडा नं ३ स्थित बर्बोटमा गोरेटेबाटो खन्ने काम शुरु गर्न लागेको उहाँले बताउनुभयो । बिहान ९ः३० देखि साँझ ५ बजेसम्म काम गर्दै आएको उहाँले बताउनुभयो ।

साभार : purbanchaldaily

Leave a Reply

Your email address will not be published. Required fields are marked *