• Sat. Jul 27th, 2024

उद्यमशीलता पढाउँदै पोखरा विश्वविद्यालय

Bysaptahiksamachar

२२ फाल्गुन २०७७, शनिबार १५:५३ २२ फाल्गुन २०७७, शनिबार १५:५३ २२ फाल्गुन २०७७, शनिबार १५:५३ ,

पोखरा विश्वविद्यालयले नेपालमै पहिलोपटक उद्यमशीलता विकाससम्बन्धी विषय पढाउने भएको छ । स्नातक तहमा ब्याचलर या आन्टरपे्रन्युअरसिप डेभलपमेन्ट (बेड) कार्यक्रम पढाउन उसले भर्नासमेत खोलिसकेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले उक्त कार्यक्रम सार्वजनिक गरे । 

उपकुलपति अर्यालले आवश्यकताका आधारमा कार्यक्रम सुरु गरेको बताए । उनले बेरोजगारीका समस्याले विदेशिनुपर्ने अवस्थालाई गम्भीर हुनुपर्नेमा जोड दिए । ‘अहिले दिइरहेको ९० प्रतिशत ज्ञान काम लागेको छैन,’ उनले भने, ‘हामी शैक्षिक प्रणाली परिवर्तन हुनुपर्छ भन्ने मान्यता राख्छौं ।’

विश्विद्यालयको मानविकी तथा समाज विज्ञान संकायका डिन सहप्राध्यापक डा अजय थापाका अनुसार ४८ जना विद्यार्थीका लागि भर्ना खुला गरिएको हो । उद्यमी नागरिक विकास गर्ने हेतुका साथ बेड कार्यक्रम ल्याइएको जानकारी डा थापाले दिए । ‘समृद्धिमा युवा उद्यमीको आवश्यकता महसुस गरेर यसै शैक्षिक सत्रदेखि उद्यमशीलता अध्यापन सुरु गर्दैछौं,’ उनले भने । 
उक्त विषयका पढाइका लागि पोविविले नेपाल सरकारसँग समेत सहकार्य गर्दैछ भने भारत गुजरातको स्वर्णिम विश्वविद्यालयसँग समझदारी हुने भएको छ । भारतमा उद्यमशीलताका शिक्षामा स्वर्णिम विश्वविद्यालय उत्कृष्ट मानिन्छ।

‘भविष्यलाई आवश्यक पर्ने उद्यमी जसले आफ्नो व्यवसाय आफैं गर्न सकून्,’ डा थापाले भने, ‘यो विषय पढेको विद्यार्थीले पारिवारिक व्यवसायको उत्थान गर्न सक्छ, उद्यमशीलता विकासको परामर्श पनि दिन सक्छ ।’ ४ वर्षे कोर्स पूरा गर्न पोविविले ३ लाख १४ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । तर, त्यसै पैसाबाट विश्वविद्यालयले विद्यार्थीलाई नयाँ व्यवसाय सुरु गर्न ५० हजार रुपैयाँ प्रदान गर्ने जानकारी थापाले दिए । 

‘विद्यार्थीले पढेर मात्रै हुँदैन, केही न केही उद्यम÷व्यवसाय गर्नैपर्छ भनेर ५० हजार रुपैयाँ दिन्छौं,’ थापाले भने, ‘सहुलियतको कर्जा कसरी दिलाउने भनेर पनि नेपाल सरकारसँग, राष्ट्र बैंकसँग छलफल गरिरहेका छौं ।’

डा थापाले पढाइकै सिलसिलामा विद्यार्थीलाई नयाँनयाँ उद्यमव्यवसायको जुक्ति सिर्जना गर्न लगाउने र लगानीकर्ताको भेला गरी त्यस्ता जुक्तिमा लगानी जुटाउने पनि जानकारी दिए । ‘विद्यार्थीका आइडिया (जुक्ति) लाई व्यवसायमा रुपान्तरण गर्ने मञ्च प्रदान गर्छाैं,’ उनले भने, ‘लगानीका लागि सरकारसँग पनि छलफलमा छौं ।’ विद्यार्थीलाई नेपालमा उद्यमव्यवसाय क्षेत्रका कानुनबारे पनि पढाइने उनले सुनाए ।  

गुजरातको स्वर्णिम विश्वविद्यालयका भाइस प्रेसिडेन्ट आदिऋषभ जैनले पोखरा विश्वविद्यालयसँगको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे । सन् २०१९मा उद्यमशीलता शिक्षामा आफ्नो विश्वविद्यालयमा भारतभरमै सर्वाेत्कृष्ट भएको पनि उनले सुनाए । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले उद्योग क्षेत्रको योगदान नभएसम्म सुखी नेपाली, समृद्ध नेपाल बन्न नसक्ने विचार राखे । ‘यो विषय पढेपछि विद्यार्थी शैक्षिक बेरोजगार हुनु पर्दैन,’ उनले विश्वास जताए । 

नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थीले युवाहरु नेपालमा उद्यमशीलताको सम्भावना छैन भनेर विदेशिने गरेकोमा यो विषयको पढाइले सही दिशा निर्देश गर्ने विचार राखे । महासंघले स्टार्टअप कमिटी गठन गरेको जानकारी उनले दिए । ‘आइडियालाई हेरेर लगानी गरिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि महासंघले काम गरिरहेको छ ।’ 

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का प्रकाश शर्माले उद्यमशीलता विषयमा पोविविको कोर्स उत्कृष्ट रहेको बताए। 

पोखरा विश्वविद्यालयमा ४ संकाय छन् । विराटनगरदेखि महेन्द्रनगरसम्मका कलेजहरुलाई पोविविले सम्बन्धन प्रदान गरेको छ । पोविविकै केन्द्रीय क्याम्पसहरु र अन्तर्गतका कलेजहरुमा गरी ३२ हजार ५ सय ८४ विद्यार्थी रहेको डा थापाले जानकारी दिए । ‘कुल कोटाको २० प्रतिशत छात्रवृत्रि दिएका छौं,’ उनले भने, ‘कलेजहरुले पनि १० प्रतिशत छात्रवृत्ति दिइरहेका छन् ।’ विद्यार्थी संख्याका आधारमा पोविवि त्रिभुवन विश्वविद्यालयपछिको सबैभन्दा ठूलो शैक्षिक संस्था भएको उनले जनाए । 

annapurnapost.com

One thought on “उद्यमशीलता पढाउँदै पोखरा विश्वविद्यालय”

Leave a Reply

Your email address will not be published. Required fields are marked *