• Sun. Sep 8th, 2024

तीन वर्षपछि सार्वजनिक हुँदै विप्लव, ‘एकीकृत जनक्रान्ति’ मा के के भयो, कतिको गयो ज्यान?

Bysaptahiksamachar

२० फाल्गुन २०७७, बिहीबार १३:४० २० फाल्गुन २०७७, बिहीबार १३:४० २० फाल्गुन २०७७, बिहीबार १३:४० ,

माओवादीबाट छुट्टिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरी भूमिगत भएका सो पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) तीन वर्षपछि औपचारिक रुपमा सार्वजनिक हुने भएका छन्।

एकीकृत जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका लागि जनसंघर्ष सुरु गरेको बताउने विप्लव २०७४ सालदेखि खुलारुपमा देखिएका थिएनन्।

विप्लव स्वयं २०७४ देखि नै अर्धभूमिगत थिए। सरकारले राजनीतिक प्रतिबन्ध लगाएपछि २०७५ साल फागुन अन्तिम सातादेखि उनका सबै नेता तथा कार्यकर्ता भूमिगत भए।

सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको टोलीबीच वार्ता भई बिहीबार तीन–बुँदे सहमति भएपछि उनी सार्वजनिक हुने वातावरण बनेको हो।

शुक्रबार एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्ने सहमति भएको छ।

ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्य कार्यालयमा गराइएको बम विष्फोट र देशका विभिन्न स्थानमा रहेका भौतिक संरचनामा आक्रमण गरेपछि सरकारले ठीक दुईवर्षअघि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। विप्लव स्वयं भने त्यसको एक वर्षअघिदेखि नै भूमिगतरुपमा संगठन निर्माणमा थिए।

उनको पार्टीले एकीकृत जनक्रान्तिको अवधारणा घोषणा गर्दै भूमिगत भएको हो। तर, उनकाे पार्टीले भौतिक संरचनामा आगजनी तथा आक्रमण जस्ता गतिबिधि जारी राखेपछि केपी ओली नेतृत्वकै सरकारले उनको पार्टीमाथि राजनीतिक प्रतिबन्ध लगाएकाे थियाे।

भूमिगत रहेका विप्लव समूह र सरकारबीच बुधबार र बिहीबार तीन चरणसम्म भएको वार्ता सहमतिमा पुगेपछि विप्लव पनि भोलि शुक्रबारबाट सार्वजनिक हुने तय भएकाे हाे।

विप्लवको विगत
तत्कालीन माओवादीले २०५२ फागुन १ बाट ‘जनयुद्ध’ सुरु गरेको थियो। ‘जनयुद्ध’ सुरु गर्दा विप्लवले विद्यार्थी राजनीतिसँगै पार्टीको ललितपुर सेक्रेटरीको जिम्मेवारी लिएका थिए। २०५४ सालतिर विप्लवलाई पार्टीले कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनाएको थियो।

२०५५ साल भदौमा भएको माओवादीको चौथो विस्तारित बैठकबाट उनी केन्द्रीय सदस्य बनेका हुन्। २०५९ सालमा माओवादीको पोलिटव्युरो सदस्य बनेका उनी २०६१ सालमा रोल्पा, रुकुम आधार इलाकाको ब्युरो इन्चार्ज भए।

जनयुद्धका बेला प्रचण्डका एक विश्वास पात्र थिए उनी।

तर, शान्ति प्रक्रियामा आएपछि प्रचण्ड र विप्लवको सम्बन्ध चिसिँदै गयो। पार्टीभित्र छलफल नगरी जनयुद्ध रोकेकाे र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेकाेप्रति दाहालसँग विप्लव रुष्ट बनेका थिए।

दाहाल र बाबुराम भट्टराईसँग त्यतिबेलादेखि नै विप्लवको अन्तरविरोध चर्किँदै गएकाे थियो।

२०६४ साउन १८ देखि २२ सम्म काठमाडौंको बालाजुमा भएको पाँचौ विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतले पार्टी नेतृत्वसँग असहमति राख्दै तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबाट पार्टी फिर्ता हुनुपर्ने अडान राखे। त्यसबेला माओवादी मन्त्रीले राजीनामा दिए पनि कोइरालाले अस्वीकृत गरिदिए।

२०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा पुष्पकमल दाहाल (प्रचण्ड), मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामहादुर थापा (बादल) लगायतका वरिष्ठ नेताहरूसँग निर्वाचन सफल बनाउन खटिएका विप्लव २०७० सालको दोस्रो संविधान सभाको चुनावमा वैद्य र बादलसँगै निर्वाचन बहिस्कारको रणनीति तयार गर्न तल्लिन थिए। उनले चुनावमा कहिल्यै भाग लिएनन् भने सरकारमा पनि गएका छैनन्।

विप्लवले एकीकृत माओवादी पार्टीमा रहँदा नेतृत्वले लिएकाे नीतिप्रति पटक पटक आफ्ना असहमति दर्ज गर्दै आउने गरेका थिए। उनले मोहन वैद्य तथा सीपी गजुरेललगायतको साथमा २०६५ मा भक्तपुरको खरिपाटी र पालुङटार विस्तारित बैठकमा फरक मत राखेका थिए।

२०६९ भदौमा बौद्धमा राष्ट्रिय भेलाको आयोजना गरेर मोहन वैद्य नेतृत्वमा नेकपा–माओवादी गठन गर्दाका प्रमुख योजनाकारमध्ये विप्लव एक हुन्। वैद्य नेतृत्वको पार्टीमा उनी करिब २ वर्ष सचिव बने।

प्रचण्ड नेतृत्वकाे एकीकृत पार्टी र वैद्य नेतृत्वकाे पार्टीमा पनि विद्राेही चरित्र देखाइरहेका उनले अन्ततः २०७१ मंसिर ८ मा आफ्नै नेतृत्वमा नेकपा (माओवादी) बनाए।

२०७३ फागुनमा रोल्पामा भएको पार्टीको आठौँ महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी राखेको घोषणा गरे।

हजाराैंलाई मुद्दा
तर यसबीचमा उनका कार्यकर्ताहरुमाथि भने प्रहरी तथा प्रशासनकाे भने कडा निगरानी रह्याे।

सरकारले राजनीतिक प्रतिबन्ध लगाएपछि विप्लवका २ हजार बढी नेतामाथि मुद्दा लाग्यो।

डेढसय अहिले पनि थुनामा छन्।

२०७५ चैतमा पोलिटब्युरो सदस्य मोहन कार्की पक्राउ परे भने त्यसको एक सातापछि स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वलीसहित ८ जना काभ्रेबाट पक्राउ परे।

पोलिटब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य नवीन विश्वकर्मा, मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द, राप्ती ब्युरो इन्चार्ज सुवास बाठा, माइला लामा, बन्धु चन्दलगायत पनि पक्राउ परे।

पोलिटब्युरो सदस्य पदम राईसहित करिब १२ सयले पार्टी छाडे।

प्रहरीका अनुसार प्रतिबन्ध लागेपछि विप्लवका ८ जना कार्यकर्ता मारिएका छन्। त्यसबाहेक केन्द्रीय तहका नेताहरु तीर्थराज घिमिरे, कुमार पौडेल र नीरकुमार राई पनि प्रहरी कारबाहीमा मारिए। आफैँले बोकेको बम विस्फोट हुँदा काठमाडौंमा चार र कैलालीमा एक जनाको मृत्यु भयो।

विप्लव २०४५ र २०५० सालमा पटकपटक जेल परेका थिए। तर, त्यसयता उनी जेल परेका छैनन्।

शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी पटक पटक सत्तामा गए पनि विप्लवले कुनै लाभको पदमा लिएका छैनन।

माओवादीभित्रै आन्तरिक विद्राेह गर्दै आएका उनी आफ्नै नेतृत्वमा नयाँ पार्टी  खाेले। तीन वर्षअघि केपी ओली नेतृत्वकाे सरकारले पार्टीमै प्रतिबन्ध लगाएपछि भूमिगत संघर्ष गर्न बाध्य भएका विप्लव भाेलि शुक्रबार उनै ओलीसँग एउटै मञ्चबाट सम्बाेधन गर्दै सार्वजनिक हुने भएका छन्।

साभार:nepalkhabar.com/ सागर न्यौपाने

13 thoughts on “तीन वर्षपछि सार्वजनिक हुँदै विप्लव, ‘एकीकृत जनक्रान्ति’ मा के के भयो, कतिको गयो ज्यान?”
  1. naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *