प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन्। उनले कर तिर्न र नाफा कमाउन व्यवसायीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको शनिबार बुटवलमा शिलान्यास गर्दै सरकारले निजी क्षेत्रसँगको सहकार्यमा विकासलाई अगाडि बढाउन जोड दिएको बताए। उनले निजी क्षेत्रको आर्थिक लगानीमा सरकारले जग्गा उपलब्ध गराउने, बाटो निर्माण र ट्र्याक खोलेर निजी क्षेत्रसँग विकासमा सहकार्य गरिरहेको बताए।
विकासका लागि निजी क्षेत्रलाई सघाउन सरकार तयार रहेको उनकाे भनाइ थियाे। “विकास सबैका लागि हुनुपर्छ र सबैका लागि विकास भएमा जनतामा पनि खुशी छाउँछ,” प्रधानमन्त्री ओलीले व्यवसायीलाई आग्रह गरे, “कर तिर्नुस् नाफा कमाउनुस्।”
कोभिड–१९ ले देशको पर्यटन क्षेत्रलाई धक्का पुगेकाे उल्लेख गर्दै यस्ता आयोजनाहरुले पर्यटकीय विकासमा पनि सहयोग पुर्याउने उनले बताए। बुटवल, भारतको उत्तरप्रदेश एवं लुम्बिनी आउने विदेशी पर्यटकमाझ केवलकार लोकप्रिय बन्ने उनकाे विश्वास थियाे।
प्रधानमन्त्री ओलीले बुटवलमा मानव अस्तित्वको एक करोड वर्ष पुरानो आदिमानव रामापिथेकसको दाँत फेला परेको वैज्ञानिक तथ्यले पुष्टि भएको जिकिर गर्दै मानव सभ्यताको उद्गमस्थल ऐतिहासिक ठाउँमा यस्ता विकासका पूर्वाधारले पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने बताए। उनले बुटवल क्षेत्र ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुर्याउने बताए।
शिलान्यास कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएको र अब लुम्बिनी केवलकार ‘रोलमोडल’ बन्नसक्ने बताए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले यो आयोजनाबाट लुम्बिनी प्रदेशका वासिन्दा निकै खुशी भएको बताए।
लुम्बिनी केवलकार प्रालिका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय सङ्गमस्थलसहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्नस्वरुप यो आयोजना शुरु गरिएको बताए।
लुम्बिनी केवलकार प्रालिद्वारा निर्माण हुने यस केवलकार बमघाटबाट वसन्तपुर डाँडासम्म पुग्नेछ। तीन किलोमिटर लामो केवलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधासम्पन्न होटेल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण गरिनेछ।
थप सामग्री :
साभार : himalkhabar.com
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplayBonus offer.