• Sat. Jul 27th, 2024

१४ वर्षीया किशोरीलाई यौनकार्यमा लगाउने ६ जना पक्राउ

BySaptahik Samachar

१५ असार २०७९, बुधबार १९:०९ १५ असार २०७९, बुधबार १९:०९ १५ असार २०७९, बुधबार १९:०९

ताप्लेजुङ । १४ वर्षीया किशोरीलाई यौन कार्यमा लगाउने ६ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङको सदरमुकाम फुङलिङमा रहेको होटलमा ती किशोरीलाई सञ्चालकले राख्ने र यौन कर्ममा लगाउने गरेको पाइएपछि प्रहरीले यौन कार्यमा संलग्न ६२ वर्षीय एक पुरुष सहित ६ जनालाई पक्राउ गरेको हो।
घटना विवरण अनुसार, सदरमुकाम फुङलिङस्थित जिमिपोखरी टोलको एउटा पसलमा चोरी भयो । एक जना बालकले गल्लाको पैसा निकालेर लगेको सीसीटीभी फुटेजमा देखियो । यही फुटेजको आधारमा प्रहरीले बालकलाई सोधपुछका लागि नियन्त्रणमा लियो । प्रहरी अनुसन्धानको क्रममा सो घटनामा भर्खर १४ वर्ष लाग्दै गरेकी एक किशोरी पनि जोडिइन् । तर‚ पीडक नभएर पीडितको रुपमा ।
चोरेको पैसाबाट खाजा खाने समूहकी ती किशोरीलाई केही होटल सञ्चालकले राख्ने र यौन कर्ममा लगाउने गरेको सूचना प्रहरीले पायो । त्यही जानकारीको आधारमा होटल सञ्चालकसहित तीन दिनमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटलका सेवाग्राही ६२ वर्षीय पुरुष पनि रहेको प्रहरीले बताएको छ । ती वृद्ध ग्राहकको रुपमा ती किशोरीसँग यौन कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङका डीएसपी कैलाश राईका अनुसार, यो विषयमा जोडिएर मंगलबारसम्म तीन होटेल सञ्चालक र तीन ग्राहकसहित ६ जना पक्राउ परेका हुन् । अनुसन्धानकै क्रममा रहेकाले पीडकको विवरण गोप्य राखिएको डिएसपी राईले बताउनुभयो ।
बालिकाले प्रहरीलाई दिएको सुरुवाती बयानअनुसार सेवाग्राहीबाट लिएको आधा रकम होटल सञ्चालकले राख्ने र आधा उनलाई दिने गरेको थियो । सामान्यतया एक ग्राहकबाट दुई हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
आमाको मृत्यु भएको र बाबुले कान्छीआमा ल्याएपछि घरमा बस्ने वातावरण नभएर होटलमा भाँडा माझेर गुजारा गर्ने क्रममा होटल सञ्चालकले यौन कार्यमा लगाएको बालिकाले प्रहरीलाई बताएकी छन् । बुबा र कान्छी आमा सदरमुकाम क्षेत्रमै भाडामा बस्छन् ।
१८ वर्षभन्दा कम उमेरका बालिकालाई यौन कार्य गरे जबरजस्ती करणी मानिने कानुनी व्यवस्था छ । त्यस्ता व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिला वा बालिकाको उमेर हेरी सजाय निर्धारण हुन्छ । १४ वर्षभन्दा बढी र १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ देखि १४ वर्षसम्म कैद सजाय हुनसक्ने करणीसम्बन्धी कसुरमा उल्लेख छ । भर्खर १४ वर्ष लागेकी उनलाई १३ वर्षकै उमेरमा यौन कार्यमा लगाइएको उनको प्रारम्भिक बयानबाट खुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *