• Sat. Jul 27th, 2024

स्वर्गीय ढकालको पुस्तक प्रथम वार्षिकीमा विमोचन

BySaptahik Samachar

२६ असार २०८०, मंगलवार २०:४३ २६ असार २०८०, मंगलवार २०:४३ २६ असार २०८०, मंगलवार २०:४३

पुस्तक स्वर्गीय बुवामै समर्पण

भद्रपुर २६,असार / एक वर्ष पहिले दिवंगत हुनुभएका तुलसीप्रसाद ढकालद्वारा लिखित ‘ सुब्बा बिष्णुलाल जीवनयात्रा र शाखा सन्तान विस्तार ‘ नामक पुस्तकको सोमबार विमोचन गरिएको छ ।
आफ्नै जीवनकालमा सार्वजनिक गर्ने उद्देश्य लिएर लेखन र संकलन गरी पुस्तक प्रकाशनको तयारी भइरहेको बेला राजधानी काठमाडौंमा उहाँको असामयिक निधन भएको थियो । बुवाको पुस्तक प्रकाशन गर्ने सदिच्छा अधुरो रहेकोले छोराहरूले उहाँको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा पुस्तक प्रकाशन गरी विमोचन गरेको जनाएका छन् ।
शिक्षण र सहकारी अभियानमा जीवनको महत्त्वपूर्ण समय व्यतीत गर्नुभएका ढकालद्वारा लेखिएको पुस्तकको विमोचन उहाँका एक मात्र जीवित दाजु खगेन्द्रप्रसाद ढकाल र अर्धाङ्गिनी शारदादेवी ढकालले संयुक्त रुपमा गर्नुभएको हो ।

कभरसहित ९२ पृष्ठको सो पुस्तकको प्रकाशक भद्रपुर ७ गार्मेन्टचोक निवासी भेषराज ढकाल हुनुहुन्छ भने अग्रज पत्रकार गोपाल गिरीले पुस्तकको सम्पादन गर्नु भएको हो।

सामाजिक कार्यमा रूचि राख्नुहुने बुवाले धेरै अंश आफैले लेखन र वंश – पुस्ताको संकलन गरी तयारी गरिरहेको बेला आकस्मिक रूपमा दिवंगत हुनु भएकोले प्रथम वार्षिकीमै पुस्तक प्रकाशन गरेर श्रध्दार्पण गर्ने पारिवारिक सल्लाह बमोजिम पुस्तक प्रकाशन गरिएको लेखक – संकलक ढकालका माइला सुपुत्र तथा पुस्तकका प्रकाशक भेषराज ढकालले ` साप्ताहिक समाचारलाई ‘ बताउनुभयो।
उहाँले भन्नुभयो ‘ पुस्तक प्रकाशन गरेर बुवामै समर्पण गरेका छौं।’

चार खण्डमा विभाजित सो पुस्तकको पहिलो खण्डमा सुब्बा विष्णुलालको जीवनी र काम, दोस्रो खण्डमा वंश विस्तार, तेस्रो खण्डमा केही सान्दर्भिक रचना र परिचय तथा चौथो खण्डमा ढकाल परिवारका दुर्लभ तस्वीरहरू समेटिएको छ ।
पुस्तक ढकाल परिवारसँग सम्बन्धित देखिए तापनि यसले सुब्बा विष्णुलालका समयमा र त्यसअघि अर्थात् नेपाल एकीकरणताकाको केही इतिहास, सिद्धपुरबाट चिनिएको ठाउँ भोजपुर कसरी भयो भन्ने कथा-किम्बदन्ती, भोजपुरको भौगौलिक, सामाजिक, जातजाति र संस्कृतिका साथै धार्मिक इतिहास पनि जान्न मद्दत पुग्ने भएकाले अरुका लागि पनि जानकारीमूलक रहेको सम्पादक गिरीले जनाउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *