भद्रपुर १८,भदौ / ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्थाको १३औ वार्षिक साधारण सभा विभिन्न व्यक्तिहरूलाई सम्मान गर्दै आज सम्पन्न भएको छ। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र ज्ञानोदय साकोसका अध्यक्ष गोपीकृष्ण नेउपानेको अध्यक्षतामा भएको साधारण सभामा सेवा निवृत्त शिक्षकहरू, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कर्जा कारोबारी, शेयर सदस्य र सन्ततिलाई पुरस्कार प्रदान गर्दै सम्पन्न गरिएको हो।
चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, विशिष्ट अतिथि सहकारी संघ झापाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, रूद्र संग्रौला , सीता गुरागाईं र रामप्रसाद घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो।
उपाध्यक्ष-धनकुमारी खरेल’लता’ले स्वागत मन्तव्य राखेको साधारण सभाको सञ्चालन सचिव डिल्लीराम अधिकारीले गर्नुभएको थियो।
साधारण सभाले अध्यक्ष नेउपानेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा लेखा संयोजक खड्गनारायण श्रेष्ठले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित गरेको छ। प्रतिवेदनमा सहकारीका विभिन्न गतिविधि सहित ३९५ जना शेयर सदस्य र ४ करोड ७३ लाख ५६ हजार ७४८ रूपैयाँ ६१पैसा कुल पुँजी रहेको उल्लेख छ।