
शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको सम्पूर्ण छायांकन सुदूरपश्चिमाञ्चल बाजुरामा हुनेछ । लकडाउनमा मलेशियाबाट आएको लास काठमाडौंबाट बाजुरासम्म पुर्याउँदाको कथा वाचन गर्ने फिल्ममा स्वस्तिमासँगै अर्पण थापा र देशभक्त खनालको अभिनय रहनेछ । फागुन दोस्रो साताबाट छायांकन सुरु हुने फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक खनाल आफैंले लेखेका हुन् ।
फिल्ममा बाजुराकी एक विवाहित महिलाको भूमिका निर्वाह गर्न लागेका कारण स्वस्तिमाले यस क्षेत्रमा बोलिने भाषा सिकिरहेकी छन् । एक हप्ता बाजुराकी एक महिलासँग काठमाडौंमा नै भाषा सिकेकी उनी केही दिनअघि निर्देशक खनाल र देशभक्त खनालको साथमा बाजुरा पुगेकी छन् । अब त्यहाँका स्थानियहरुसँग उनीहरुले भाषा, संस्कृतिको बारेमा छलफल गर्नेछन् ।
निर्देशक खनालले वर्कसपका लागि बाजुरा आएको बताए । उनले भने, ‘अहिले हामी बाजुराबाट पनि निकै निकट ठाउँमा आइपुगेका छौं । भाषाको बारेमा कलाकारहरुलाई काठमाडौंमा नै क्लास भएको थियो । यही आएर चाहिँ लोकेशनमै वर्कसप गर्ने र यस ठाउँको भाषा-संस्कृतिको बारेमा यहाँका स्थानीय व्यक्तिसँग छलफल गर्न भनेर आएका हौं । ३/४ दिन हामी यतै बस्छौं ।’