• Sat. Jul 27th, 2024

राज्य सञ्चालकलाई प्रश्न, जनतालाई सम्पन्नता दिने कि आनन्दित बनाउने ?

BySaptahik Samachar

१५ कार्तिक २०८०, बुधबार १८:४४ १५ कार्तिक २०८०, बुधबार १८:४४ १५ कार्तिक २०८०, बुधबार १८:४४

– – – – गोपाल गिरी
धन कमाउन लोभी हुनुपर्छ,लालची हुनुपर्छ, लाचारी पनि हुनुपर्छ। यसले आचार व्यवहार बिगार्छ। धनले सुख मिल्दैन। यसले त सुख होइन बरू दुःख थपिन्छ। लोभ लालचले धन बृध्दि हुनसक्छ। लोभ, लालच, मोह, क्रोध त मानिसका अवगुण हुन्।
सुखी हुनु आनन्द होइन। आनन्द त गरिवीमा पनि छ । एउटा गरिव मान्छे सुखी नहुन सक्छ तर, आनन्दित हुनसक्छ । धनले सुख प्राप्त हुन्छ भनेर त्यसकै पछि भौतारिंदा नै मान्छे गलत क्रियाकलापमा संलग्न छ। आनन्द प्राप्त गर्न धन चाहिन्न। सुखका लागि धन चाहिने हो। तर, धनले सुख दिदैन। मान्छेको अन्तिम लक्ष्य आनन्द हो। सुख पछि मात्रै आनन्द पाइन्छ भन्ने भ्रमबाट मुक्त हुन जरूरी छ।
आनन्दका लागि मन र मस्तिष्कलाई सही उपयोग गर्नुपर्छ। मन मस्तिष्कलाई धन आर्जनमा होइन, आनन्दको खोजीमा लगाउनु पर्छ। धनले आनन्द मिल्छ भन्ने भ्रमले गर्दा अनेक अपराध, विकृति, विसङ्गति बढेर गएको छ।आनन्द प्राप्तिका लागि धन होइन सन्तुष्टि चाहिन्छ। सन्तुष्टि विकासको अवरोध होइन आनन्द प्राप्तिको स्रोत हो।
हामी आदर्श राज्यको परिकल्पना गर्छौ र आफू जसरी पनि सत्ता, शक्ति र धनार्जनको भोको भइरहन्छौं। व्यक्तिले धन, शक्ति र सत्ताको भोक जति बढी गर्छ-गरिन्छ, त्यति वेथिति, व्यभिचार र बिकृतिले जरा गाड्छ। आदर्श राज्यमा विकृति विसङ्गति हुँदैन। आदर्श राज्यका नागरिक आनन्दमा रमाउँछन्, त्यसैमा रम्न चाहन्छन्।
राज्य व्यक्तिले नै परिचालन गर्ने हो। आदर्श राज्यको परिकल्पना कुराले गर्ने अनि परिचालन गर्नेहरू विकृत मानसिकताबाट ग्रसित भए पछि आदर्श राज्यको परिकल्पना नाटकीय मात्र हुन्छ । धन अर्थात् पूँजी चाहिन्छ राज्यका लागि। राज्य परिचालन गर्नेहरूले राज्यको स्रोत साधन बृध्दिका लागि सपना देख्नु पर्छ र सपना उपयुक्त या अनुपयुक्त, असल या खराब, राम्रो – नराम्रो, त्यसको परिणाम, दुष्मरिणामका विषयमा राज्य परिचालनको गहनतम जिम्मेवारी बोकेकाहरू बीच आपसी सल्लाह र छलफलको निष्कर्ष पछि साकार रुप दिने प्रयत्‍न गरिनु पर्छ। राज्य जति सम्पन्न हुन्छ,जनता जनार्दन त्यति नै आनन्दित हुन्छन्। राज्य धनी भएमात्रै नागरिकका आवश्यकताहरू पूर्ण हुन्छन्।
तर, अहिले विशेष गरेर देश हाँक्न भनेर सत्ता शक्तिमा दोहोर्याई तेहर्याइ बसेका नेताहरू राज्योन्नतिका लागि होइन आफ्नो धनार्जनको भोक मेट्नका लागि जुटेका छन् । धनले सुख मिल्छ भन्ने भ्रममा छन् र सुख नै अन्तिम लक्ष्य ठानेका छन् – नेताहरूले।

मानिसको अन्तिम लक्ष्य सुख होइन आनन्द हो। फेरि पनि उल्लेख गर्छु- धनले आनन्द किमार्थ पनि प्राप्त हुँदैन। एउटा रोचक प्रसङ्ग यस सन्दर्भमा उल्लेख गर्न चाहन्छु “-४०/४५ वर्षकै उमेरमा सुगर, प्रेसर जस्ता रोगले ग्रस्त धनाढ्य दुई व्यक्ति नदिको किनारमा मर्निङ वाकमा थिए। फैक्ट्री, व्यापार आदिको सँधै तनावमा उनीहरू खाना खान र परिवारलाई समय समेत दिन नभ्याइ व्यवसायमा तल्लीन रहन्थे। मोवाइल, गाडी र सयौं कर्मचारी थिए उनीहरूका। वैंक लोन, समयमा ब्याज भुक्तानी, मालको अर्डर-डेलिभरी, उठ्ती पुठ्ती जस्ता कामले सधैंको हतार, सधैंको तनावले बेलैमा रोगले चापेको थियो। खानपानमा कन्ट्रोलः यो खान नहुने, त्यो खान नहुने इत्यादि बार्दा पनि सुगर प्रेसरले सताइ रहेको थियो। दैनिक विहान मर्निङ वाक उनीहरूको दिनचर्या थियो। परिवारभन्दा बढी उनीहरू डाक्टरको निकट रहन्थे। मर्निङ वाकमा जाँदै गर्दा नदि किनारमा एउटा माझी (मछुवार) छेऊमा जाल र माछा टोकरीमा माछा राखेर सुतिरहेको देखे।
व्यापारीले सोधे – किन सुतेको ? माझीः त्यतिकै, आरामका लागि। व्यापारीः तिमी मछुवारे होइनौ,माछा मार्ने? माझीः हो।
व्यापारीःअनि माछा नमारेर किन सुतेको ? माझीः आजलाई पुग्ने माछा मारिसकें, यी हेर्नुहोस्-उसले टोकरीमा भएको लगभग डेढ किलो जति माछा देखायो।
व्यापारीः अरू माछा मार्दा हुँदैनथ्यो ? माझी : हुन्थ्यो, तर किन मर्ने ? मलाई आज पुग्ने भई हाल्यो, भोलि फेरि आउँछु, मार्छु। धेरै मारेर के गर्ने ? व्यापारीः धेरै पैसा कमाउने। माझीः धेरै रूपैयाँ, पैसा कमाएर के हुन्छ ? व्यापारीःसुख हुन्छ, आनन्द हुन्छ। माझीः अहिले मलाई के भइराखेको छ त! आनन्द मानेर त आराम गरिराखेको छु। त्यसैले,आनन्द सम्पन्नताले होइन। मनलाई व्यवस्थापन गरेर पाइन्छ। धन सम्पत्तिले चिन्ता थप्छ, रोग थप्छ, नजाने अरू के के ?
राज्यले नागरिकलाई तनावमा होइन आनन्दमा बाँच्ने अवसर प्रदान गर्ने वातावरण बनाउनु पर्छ। राज्यलाई सम्पन्न बनाउने र मानिसका आधारभुत आवश्यकताहरू राज्यबाट पूर्ति गर्ने हो भने मानिसलाई किन चाहियो धन ? तर, यसका लागि नेतृत्वमा सुधार आउनु पर्थ्यो, सुधार आएन र अहिलेको नेतृत्वमा सुधार आउने सम्भावना पनि छैन।
त्यसैले सुध्रिन नचाहने नेतृत्वलाई तपाई हामी जनताले गल्छेडामा फाल्न सक्नु पर्यो। तर, पहिला तपाईं हामीमा सुधार आउनु पर्यो। आचार व्यवहार परिवर्तन गर्नुपर्यो। हामी सवै नेता र राजनीतिक दलका कार्यकर्ता होइनौ। जव हामी सवै दलका कार्यकर्ता हुन्छौ। गलत नेतृत्वले तपाई हामी माथि अनावश्यक निर्देशन लाद्छ र तपाईँ हामी, टाउको अर्कैलाई बेचिसकेका नेताका झोले बन्न पुग्छौँ। राज्यले त नागरिकलाई उत्साहित बनाउने हो। उर्जाशील बनाउने हो। नागरिकलाई अहिले झोले कार्यकर्ता बनाइएको छ। उर्जाशील, उत्साही र उत्पादनशील नागरिक राज्यका प्राण हुन्। देशका नागरिकलाई राज्य र राज्य सञ्चालकप्रति नकारात्मक बनाएर हाम्रा नेता कस्तो शासक बन्न खोजिरहेका छन् । अनि धन नै सुखको अन्तिम विन्दु ठानेर किन भ्रष्टाचार, अनियमितता र नातावाद जस्ता कुकृत्यमा रमाउँदैछन्। यो नै हो आनन्द त ? धनले कसलाई आनन्द दियो। खोजौँ त, छैननि।
त्यसर्थ अव जनताले गम्भीर भएर सोच्नेछ बेला भएको छ – दुःखको भारी बिसाउने हो र उन्नत, आदर्श राज्य बनाउने हो भने सही र असल नेतृत्व छनौट गर्नुपर्छ । परिवर्तनका सम्वाहक जनता नै हुन्। यसको लागि सर्वप्रथम नागरिकले आफूमा भएको भ्रम त्याग्नुपर्छ। आफ्नो पहूँच र सामर्थ्यको पहिचान गर्नुपर्छ। त्यसपछि भ्रम छर्ने नेतृत्व र व्यक्ति धनी भए देश धनी हुन्छ भन्ने सपना देखेर धन सोर्न लिप्त र तिनै सपना बाँडेर हामी माथि दिगभ्रमित शासन लादिरहने स्वार्थी नेतृत्वलाई त्याग्न सक्नु पर्छ। अनि मात्र भावी सन्ततिका लागि सुन्दर नेपाल हस्तान्तरणको सम्भावना रहन्छ। अस्तु!!
भद्रपुर – ८, सुकीर्ति नगर
gi*********@gm***.com

5 thoughts on “राज्य सञ्चालकलाई प्रश्न, जनतालाई सम्पन्नता दिने कि आनन्दित बनाउने ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *