• Sat. Jul 27th, 2024

राजेश ढुंगानाको कविता संग्रह ‘मैले खोजेको देश’ काठमाडौँमा लोकार्पण

BySaptahik Samachar

१५ बैशाख २०८१, शनिबार १९:५८ १५ बैशाख २०८१, शनिबार १९:५८ १५ बैशाख २०८१, शनिबार १९:५८

भद्रपुर,१५ वैशाख / झापाली कवि राजेश ढुंगानाको कवितासंग्रह ‘मैले खोजेको देश’ राजधानी काठमाडौंमा लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले सर्वनाम नाटकघरमा शुक्रबार आयोजित एक विशेष समारोहकाबीच उक्त कृतिको लोकार्पण गरिएको हो । 
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा हुनुहुन्थ्यो । अतिथिहरु वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, समालोचक प्रा.डा. कृष्णप्रसाद दाहाल, कवि राजेश ढुंगाना र श्रीमती मीना ढुंगाना, समालोचक ज्ञानु अधिकारीले सो कृति संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

लोकार्पण समारोहलाई प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले पहिले विद्रोही स्वभावको राजेश पछिल्लो समय सौम्य, सालिन, शान्त, परिपक्व व्यक्तित्वको रुपमा आफूले पाएको बताउनुभयो भने वरिष्ठ नाट्यकर्मी अशेष मल्लले दोस्रो कविता कृति आउँदा राजेशमा परिपक्वता र कवितालाई दुःखको साथी बनाएको बताउनुभयो। राजनीतिक चेत राम्रो भएका राजेशका कवितामा देशको चिन्ता भएको बताउँदै २०४६ सालको आन्दोलनमा नै सक्रिय सहभागिता जनाएका राजेश पछिल्लो समय राजनीति भन्दा देशप्रेममा लागेको उल्लेख गर्नुभयो । 
समालोचक प्रा.डा. कृष्णप्रसाद दाहालले राजेशका राजनीतिकर्मी, साहित्यकार र पत्रकार गरी तीन खुट्टा रहेको उल्लेख गर्दै दुई कृति प्रकाशित गरिसकेका कवि ढुङ्गानाका फुटकर कवितामा नै अब्बल कवि दरिइसकेको बताउनुभयो ।
संग्रहमा ५ हरफदेखि ६७ हरफसम्मका कविताहरु रहेको र ती कविताहरु सुत्रात्मक र सुक्तिमय रहेको उहाँको टिप्पणीसँगै झापाका नामुद पाँच कविहरुमा राजेशको नाम आउने उहाँले उल्लेख गर्नुभयो ।
कृतिको समीक्षा गर्दै समीक्षक ज्ञानु अधिकारीले सरल भाषामा कवि राजेशले गम्भीर कविता पस्किएको बताउनुभयो । आख्यानमा चित्र हुने र कवितामा चेतना हुने बताउँदै उहाँले कवि राजेशका कवितामा चेतना भरपूर रहेको उल्लेख गर्नुभयो । संग्रहका कविताले समाज र समय बोल्ने बताउँदै उहाँले कविले स्वाभिमान, अस्तित्व, ईश्वर र देश केन्द्रमा राखेर कविता सिर्जना गरेको टिप्पणी गर्नुभयो ।
सहभागीहरुलाई स्वागत गर्दै समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ रोदनले राजेशले कविताको माध्यमबाट कलात्मक विद्रोह गरेको बताए । यसअघिको कवितासंग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ को चर्चा पनि समाजले गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभएको थियो ।

कविकी श्रीमती तथा प्रकाशक मीना ढुंगानाले अघिल्लो वर्ष नै अर्को कविता संग्रह ल्याउँछु भनेर गरेको प्रतिबद्धता पुरा गर्न पाएकोमा खुसी व्यक्त गर्दै । दोस्रो कृति दोस्रो सन्तानजस्तो लागेको र कविताप्रति प्रेम बसेको उल्लेख गर्नुभयो । कवि श्रीमान ढुंगानालाई निरन्तर कविता लेखिरहन र प्रकाशनको चिन्ता नलिन उहाँले आग्रह समेत गर्नुभयो । 
कवि राजेश ढुंगानाले कविताकर्म नै उत्तम कर्म लाग्ने बताउँदै स्रष्टा समाज, प्रमुख अतिथि, अतिथि र सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा कविहरु राजेन्द्र शलभ, रञ्जना निरौला र श्रीबाबु कार्कीले कवितासंग्रहभित्रका एक एक कविता वाचन गरेर सुनाएका थिए । 
समाजका सदस्य मधु पाठकले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष तारा सुवेदीले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो।  

19 thoughts on “राजेश ढुंगानाको कविता संग्रह ‘मैले खोजेको देश’ काठमाडौँमा लोकार्पण”

Leave a Reply

Your email address will not be published. Required fields are marked *