• Sat. Jul 27th, 2024

मेची रङ्गशालामा ‘भद्रपुर झापा गोल्ड कप’को व्यापक तयारी

BySaptahik Samachar

७ पुष २०७९, बिहीबार १८:४४ ७ पुष २०७९, बिहीबार १८:४४ ७ पुष २०७९, बिहीबार १८:४४

झापाले अपनत्व ग्रहण गर्ने आयोजकको भनाई

भद्रपुर ७, पुस / भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने गरी तयारी भइरहेको छ । नेपालका‘ए’ डिभिजन क्लबहरुसहित विदेशी टोलीको सहभागिता रहने गरी तयारी भइरहेको फूटबल प्रतियोगितावारे आज पत्रकारहरूलाई औपचारिक जानकारी गराइएको हो।
प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिपेश ढकालले भन्नुभयो – ‘अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुनेछ।’
समितिका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार प्रतियोगिताका विजेता टिमले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमलाई नगद ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ ।
प्रतियोगिताका लागि मेची रंगशालाको स्तरोन्नति सुरु भइसकेको पनि महासचिव श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसकेको झापाकै पुरानो र स्थायी सो रंगशालामा झार रोप्ने र माटोको लेभल मिलाउने काम भइरहेको छ । फुटबलको उर्वर भूमि झापाको सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो हो । जिल्लाको सबैभन्दा पुरानो र व्यवस्थित मेची रंगशालाले देशका चर्चित र सफल खेलाडीहरुको उत्पादन गरेकोले यसलाई पुनर्जीवन दिन पनि रङ्गशालामा प्रतियोगिता सञ्चालनका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो।
१८ वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरु आयोजना हुन नसक्दा मेची रंगशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थति गर्न नसकिएकोले पनि भद्रपुरमा प्रतियोगिता आयोजना गर्नु परेको हो-नगरप्रमुख पोखरेलले थप्नुभयो ।
‘झापाको प्रतिष्ठित ‘झापा गोल्डकपको विकल्पमा यो प्रतियोगिता आयोजना गरिएको होइन, यी दुवै प्रतियोगिता आ-आफ्ना ढंगले सञ्चालन हुन्छन्। यो प्रतिष्पर्धामा होइन, सहमतिमा सञ्चालन हुन्छ, पत्रकारले सोधेको जिज्ञासामा आयोजकले स्पष्ट पारेका थिए।बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुँदै आएको ‘झापा गोल्डकप’लाई यस वर्ष नगर्न अनुरोध गरेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको हो-झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् आयोजक समितिका सल्लाहकार प्रशान्त भण्डारीले भन्नुभयो – रंगशालाको भौतिक विकाससँगै खेलकुदमय बनाउन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरुसहित विदेशी टोलीको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष तथा टिम व्यवस्थापन एवम् छनोट उपसमिति संयोजक आदित्य पराजुलीले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल र भारतका ए डिभिजनका १०वटा टिमको सहभागिता रहन सक्छ- उहाँले भन्नुभयो ।
प्रतियोगिताका लागि १ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फर्वाड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच छनोट खेलाडीलाई नगद १० हजार रूपैयाँको पुरस्कारको प्रदान गरिनेछ ।
यसैबीच, प्रतियोगिताका सबै खेलमा विशेष परिस्थितिका नागरिकलाई प्रवेश निःशुल्क गरिने भएको अध्यक्ष ढकालले बताउनुभयो । ढकालका अनुसार- भद्रपुर नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थी र नगरभित्रका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई निःशुल्क हेर्ने ब्यवस्था गरिनेछ ।
आयोजक समितिका सचिव टहलदास मैनालीले सञ्चालन गरेको पत्रकार अन्तरक्रियामा सल्लाहकार टिकाराज ढकाल सहित आयोजक समितिका पदाधिकारी-सदस्यहरूको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *