• Sat. Jul 27th, 2024

माईधारको लक्ष्मीनारायण मन्दिरको महत्त्वाकाङ्क्षी परियोजना

BySaptahik Samachar

५ चैत्र २०७९, आईतवार १६:५१ ५ चैत्र २०७९, आईतवार १६:५१ ५ चैत्र २०७९, आईतवार १६:५१

मन्दिर परिसरमा चारधामको परिकल्पना /नवदिवसीय रामकथाको तयारी पुरा

भद्रपुर ५,चैत / झापाको शिवसताक्षी–१० माइधारस्थित श्री लक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगिराज श्री कमलनयनाचार्य आश्रमको ५१ औं बार्षिकोत्सवको अवसरमा नौं दिने रामकथा महायज्ञ हुने भएको छ । 
नव दिवसीय तुलसीकृत रामकथा ज्ञान महायज्ञ सम्पादन समितिले आइतवार माइधारस्थित मन्दिरमा पत्रकार सम्मेलन गरी आगामी चैत ८ देखि १६ गतेसम्म महायज्ञको आयोजनाको तयारी भएको जानकारी दिएको हो । 
श्री लक्ष्मी नारायण मन्दिरको अवस्था जीर्ण भएकोले गत बैशाखमा शिलान्यास भएर निर्माणधिन अवस्थामा रहेको श्री लक्ष्मी नारायण दिब्यदेश मन्दिरलाई पूर्ण गर्ने उद्देश्यले बार्षिकोत्सवका अवसर पारेर महायज्ञको आयोजना गरिएको नवदिवसीय तुलसीकृत रामकथा ज्ञान महायज्ञ सम्पादन समितिका अध्यक्ष स्वामी भागवताचार्यले जानकारी दिनुभयो । निर्माणधिन दिब्यदेश मन्दिर पूर्ण गर्न १३ करोड खर्च हुने जनाइएको छ । 
गोदुग्धहारी जगद्गुरु योगिराज कमलनयनचार्य स्वामीजी महाराजको तपोभूमिको रुपमा रहेको आश्रम परिसरमा भगवान् श्रीलक्ष्मीनारायणको दिव्य मन्दिरका अतिरिक्त नेपाल सरकारबाट अनुमति प्राप्त आधारभूत तहको कक्षा १ देखि ८ सम्म श्री अनन्तादर्श संस्कृत वेद विद्यालय, कमलनयनाचार्य पुस्तकालय, छात्रावास, श्री लक्ष्मीनारायण वैष्णवालय, गौशाला, धर्मशाला जस्ता संरचनाहरू निर्माण भइसकेका छन् ।
विश्वका वैदिक सनातनीहरुको लागि महत्त्वपूर्ण गन्तव्यका रुपमा विकसित हुँदै गएको उक्त स्थानमा श्री सम्प्रदायका अनुयायीहरुका लागि एक गौरव पूर्ण इतिहासको नविनतम संरचनाका रुपमा समेत स्थापित हुने मन्दिर समितिको विश्वास रहेको छ ।  विश्वभर व्यापकता पाएका स्वामीजीका शिष्य प्रशिष्य परम्परामा सबैको साझा धार्मिक आस्थाको केन्द्र साथै पूर्वाञ्चलकै एक महत्त्वपूर्ण पर्यटकीय स्थलको रुपमा उक्त मन्दिरको विकास भइरहेको जनाइएको छ । 

त्योसँगै मन्दिर परिसरको पूर्व तर्फको करीव ४ विगाह जग्गामा कनकाई नदीको पवित्र जल प्रवाह गरी कञ्चन जलाशय निर्माण गरी सो पुस्करणि भित्र सनातन धर्मावलम्बीहरुको पवित्र चारधाममा मुक्तिनाथ, वदरीनाथ, द्वारका, जगन्नाथ भगवानको दिव्य मन्दिर निर्माण गरी सो मन्दिरमा दर्शन गर्न जल मार्गको प्रयोग गरी जाने व्यवस्था गर्ने गरीको महत्त्वाकाङ्क्षी परियोजनाका वारेमा पनि जानकारी गराइएको छ । मन्दिर परिसरलाई अत्यन्त आकर्षक पुष्प वाटिका निर्माण गरी बुटिक परिसर बनाएर उक्त क्षेत्रलाई पूर्वाञ्चलकै प्रमुख पर्यटकीय क्षेत्र निर्माण गर्ने परिकल्पना रहेको मन्दिर निर्माण समितिका सचिव हरि तिम्सिनाले जानकारी दिनुभयो । 
चैत्र ७ गते दिव्य कलश एवं बाजागाजा, झाँकीसहित शोभायात्रा गरिने महायज्ञको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट गराइनेछ । चैत ८ देखि १६ गतेसम्म अन्तर्राष्ट्रिय ख्यातिप्राप्त युवा विद्वान् श्रीअच्युत प्रपन्नाचार्य (अर्जुन रिमाल) नवाहव्यापी तुलसीकृत रामायण कथा संगीतमय प्रवचनका साथै अनेकों विशिष्ट विद्वानहरुबाट प्रवचनरुपी ज्ञान प्रवाह गर्न भव्य महायज्ञ सम्पन्न गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 
महायज्ञमा सुप्रभातम्, स्वस्तिवाचनम्, मण्डप पुजन, संगीतमय तुलसीकृत रामायण पाठ पारायण, संगीतमय राम कथा प्रवचन, गरुडध्वजारोहण, मृदाहरण, दिब्य प्रवन्ध विविध ग्रन्थ पाठपरायण, भगवानको सवारी साथ नगर परिक्रममा, घडाद्वारा महाभिषेक, सामुहिक ब्रतबन्धलगायत हुने जनाइएको छ । 
पत्रकार सम्मेलनमा निर्माण समितिका कोषाध्यक्ष दामोदर सुवेदी, ब्यवस्थापक मोहनप्रसाद रिजाल, शिवसताक्षी बाणिज्य संघका यामनाथ काफ्ले, मन्दिर समितिका सदस्य तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *