• Sat. Jul 27th, 2024

दिज्ञान श्रेष्ठ बहुभाषिक झापा आइडल-२०८० बन्न सफल 

BySaptahik Samachar

१० असार २०८०, आईतवार १४:४२ १० असार २०८०, आईतवार १४:४२ १० असार २०८०, आईतवार १४:४२

८ वर्षदेखि ७८ वर्षसम्मका प्रतिस्पर्धी एउटै मञ्चमा !

गोपाल गिरी – – – – – – – –

भद्रपुर,१० असार / गाैरादहका दिज्ञान श्रेष्ठ बहुभाषिक झापा आइडल-२०८० बन्न सफल भएका छन्। बहुभाषिक साहित्य संगीतकला केन्द्र, झापाको आयोजनामा शनिबार जिल्ला समन्वय समिति झापा भद्रपुरको सभा हलमा भएको फाइनल राउण्डमा प्रतिस्पर्धी ११ जनालाई उछिन्दै श्रेष्ठ आइडल २०८० बन्न सफल भएका हुन्। गाैरादहका श्रेष्ठ प्रथम भइरहँदा मेचीनगरका विराज प्रसाईं द्वितीय भई पुरस्कृत भएका छन् । प्रतियोगितामा शिवसताक्षीका सानाहाङ्ग लिम्बू, विर्तामोडका अनोज भारती र अर्जुनधाराका संजिव भुर्तेलले सान्तवना पुरस्कार पाएका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ गायक तथा संगीतकार  शम्भु राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बहुभाषिक कविता संग्रह समेत विमोचन गरिएको थियो । बहुभाषिक साहित्य संगीतकला केन्द्र, झापाका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिप्रसाद पाैडेलको अध्यक्षतामा
भएको कार्यक्रममा अन्य सहभागी विर्तामोडका सागर कर्ण, बुद्धशान्तिका प्रशान्त पोख्रेल, अर्जुनधाराका अभिषेक मगर, दमकका डिकबहादुर धिमाल, विर्तामोडका अनिल अधिकारी र झापा गाउँपालिकाकी अनिशा कुमारी गणेशलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा साहित्य क्षेत्रमा  पुर्याउनुभएको  योगदानको कदर गर्दै मारवाडी साहित्यका कवि भद्रपुरका सत्यनारायण तायल र राई  साहित्यकी कवि कमल गाउँपालिका निवासी पदमकुमारी राईलाई विशेष सम्मान गरिएको थियो ।
त्यस्तै, विभिन्न राउन्डमा प्रतिष्पर्धा गर्नुभएका शिवसताक्षीका ७८ वर्षीय रणदल तामाङ्ग, भद्रपुरका अनुप रोय, कन्काई सुरूङ्गाका भगवान टुड र कमल गाउँपालिकाकी खिना मगरलाई समेत सम्मान गरिएको थियो ।

बहुभाषिक केन्द्रले,कोशी प्रदेश सरकार र झापा जिल्लाका १५ वटै पालिकाहरूसँगको सहकार्यमा  बहुभाषिक आइडल-२०८० सञ्चालन गरेको हो। बहुभाषिक आइडलको क्वार्टरफाइनल २०८० जेठ २० गते शनिवार कन्काई नगरपालिकाको सभा हलमा र सेमिफाइनल २०८० जेठ३१ गते बुधवार भद्रपुरको १० नं. वडा कार्यालयको सभा हलमा सम्पन्न गरेकाे थियो।
आइडलमा झापा जिल्लाका १५ वटै पालिकाबाट क्वार्टर फाइनलमा ४२ जना, सेमिफाइनलमा २४ जना र फाइनलमा ११ जना प्रतिष्पर्धीहरू सहभागी थिए । फाइनल अडिसनमा कार्यक्रमको सञ्चालन महासचिव कुमार सुवेदी र सदस्य कृति राईले गर्नुभएको थियो भने स्वागत भाषण संस्थाकी सह-सचिव गीता भट्टराई(तिवारीले) गर्नुभएको थियो। संस्थाको स्वागत गीत समेत प्रस्तुत गरिएको सो कार्यक्रममा संस्थाको परिचय, कार्यक्रमको औचित्य तथा संस्थाका भावी योजनाका बारेमा अध्यक्ष प्राज्ञ हरिप्रसाद पाैडेलले प्रष्ट पार्नुभएको थियो। अन्तिम प्रतिस्पर्धामा वाद्यबादकहरू गोविन्द रिमाल (हार्मोनियमा), भक्त विश्वास (तवला), साैगात रिमाल (तवला), सञ्जय पाण्डे (किबोर्ड) र तुलसी दुलाल (अक्टोप्याडमा) हुनुहुन्थ्यो ।
मूल्याङ्कनको लागि ७० प्रतिशत निर्णायकको अंक र ३० प्रतिशत भोटलाई आधार मानिएको थियो ।
प्रमुख अतिथि बरिष्ठ गायक राई, गायिका पवित्रा ओली लगायतले गीत गाएर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको सो कार्यक्रममा कवि सत्यनारायण तायलद्वारा मारवाडी कविता, माही शर्माद्वारा मारवाडी नृत्य र मोरान मेमोरियल स्कूलद्वारा राजवंशी नृत्य समेत प्रस्तुत गरिएको थियो ।
२०७६ साल मंसिरमा स्थापनाका भएको बहुभाषिक साहित्य संगीतकला केन्द्रले २०७६ साल कार्तिक २१  र २२ गते बहुभाषिक कविता वाचन; २०७९ साल वैशाख १० गते नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा साँस्कृतिक महोत्सव आदि कार्यक्रम सम्पन्न गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो। संस्थाले यही वर्ष प्रदेश स्तरीय बहुभाषिक कवि सम्मेलन गर्ने लक्ष्य राखेको पनि अध्यक्ष पौडेलले जानकारी दिनुभयो । विपन्न वर्गलाई निशुल्क संगीत शिक्षण गर्ने उद्देश्य अनुरूप  संस्थाले विर्तामोड न.पा.सँगको सहकार्यमा विर्तामोडमा संगीतालय सञ्चालन भइरहेको छ भने निकट भविष्यमा झापा जिल्लाका सबै पालिकाहरूमा यस प्रकारका संगीतालयहरू सञ्चालन गर्ने लक्ष्य संस्थाले राखेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *