भद्रपुर १,फागुन / ठोस चिया नीतिको अभावले चिया प्रवर्द्धनमा समस्या भइरहेको चिया व्यवसायीले औल्याएका छन्। नेपाली चिया उत्पादन, प्रवर्द्धन र निकासीको समस्या विषयक अन्तरक्रिया कार्यक्रममा चिया उद्यमी व्यवसायीहरूले सरकारको नीति ठिक नहुँदा थिति बिग्रिएको पीडा पोख्दै विभिन्न समस्या भोग्नुपरेको वताएका हुन् ।राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना,कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासको समन्वय र नेपाल चिया उत्पादक संघको सहकार्यमा मेचीनगरको मेची क्राउन प्लाजामा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा चियाको समस्या समाधानका लागि दिगो उपाय खोजिनु पर्नेमा जोड दिदै टी टेस्टिङको व्यवस्था नहुँदा भारतीय पक्षबाट पटक पटक अवरोध भोग्नुपरेको विषयमा चिया उद्यमी व्यवसायीहरूले सरकारी पक्षको ध्यानाकर्षण गराएका थिए। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रमुख डा. विष्णु भट्टराईको अध्यक्षता र झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा महावाणिज्य दूत ईश्वर पौडेलले चिया टेस्टिङका नाममा भारतीय पक्षबाट हुने ढिलाईलाई न्यूनीकरण गर्न तत्काल प्रयास थाल्ने बताउनुभयो।अन्तरक्रियामा नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार अग्रवाल’मित्तल’ले भारतीय पक्षबाट नेपाली चिया निकासीमा अनधिकृत समस्या थोपरेर हैरान पार्ने हुनाले सरकारकै तर्फबाट समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्नु पर्नेमा जोड दिनुभयो।सो कार्यक्रममा हिमालय अर्थोडक्स चिया उत्पादक संघका उदय चापागाईँले चिया निर्यातमा सरकार गम्भीर नभएको टिप्पणी गर्नुभयो। त्यस्तै, अग्रज चिया उद्यमी चण्डी पराजुलीले सरकारको भनाइ र गराइ फरक हुँदा उद्यमीहरूले पटक पटक विभिन्न खाले समस्या व्यहोर्नु परेको बताउँदै चियामा सरकारको संरक्षण नीति शून्य रहेको दावी गर्नुभयो। कार्यक्रममा सूर्योदय टी प्रोड्युसर इलामका अध्यक्ष उत्तम श्रेष्ठ ,भन्सार एजेन्ट संघका प्रतिनिधि रोशन अग्रवाल,चिया तथा कफी विकास बोर्डका सदस्य पुनम राई,प्लान्ट क्वारेन्टिन चेक पोष्ट काँकरभिट्टाका प्रमुख देवेन्द्र साहु,कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंह,मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख केशवराज ओली लगायतले चिया निकासी प्रवर्द्धनका समस्या र सुझाबहरू राखेका थिए।कार्यक्रमको सहजीकरण राष्ट्रिय चिया तथा कफी विकास बोर्डको विर्तामोडस्थित क्षेत्रीय कार्यालयका निमित्त निर्देशक गौरव लुइँटेलले गर्नुभएको थियो। कार्यक्रममा अर्थोडक्स र सिटिसी चियाका उद्यमी व्यवसायी तथा सरोकारवाला सरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता थियो। Post Views: 255 Post navigation मन्त्री सरावगीलाई आधा दर्जन संस्थाको सम्मान कटुवा पेस्तोलसहित भद्रपुरमा एक जना पक्राउ