• Sat. Jul 27th, 2024

कोरोना संक्रमणबाट उद्योगी अग्रवालको निधन

BySaptahik Samachar

२४ असार २०७८, बिहीबार १८:३४ २४ असार २०७८, बिहीबार १८:३४ २४ असार २०७८, बिहीबार १८:३४

साप्ताहिक समाचारदाता /भद्रपुर २४,असार /कोभिड–१९ सङ्क्रमणका कारण झापा जिल्लाका कुशल तथा दर्जनौँ उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६१ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङहोममा बुधबार राति निधन भएको हो ।

उहाँको शवलाई आज बिहान भद्रपुर ल्याएर नेपाल स्काउटको टोलीले दाहसंस्कार गरेको परिवारले जनाएको छ । केही समयअघि स्वास्थ्यमा समस्या आएपछि मेची अस्पतालमा उहाँको पिसिआर परीक्षण गराइएको थियो । गत जेठ ३१ गते अग्रवाललाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै होम आइसोलेशनमा बसेर उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि उहाँलाई असार ४ गते सिलिगुडी लगिएको थियो । उपचारकै क्रममा नर्सिङहोममा उहाँको निधन भएको हो ।

विसं २०१७ मा जन्मिएका अग्रवालले भद्रपुरमै बसेर व्यापार व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो । उद्योगी व्यवसायी घराना परिवारका अग्रवालले बुवाले स्थापना गरेको के एम राइस मिल सम्हालेका थिए भने ‘घडी मार्का बिडी’को व्यवस्थापनमा युवा अवस्था देखि नै संलग्न रहेर व्यावसायिक शीप हासिल गर्नु भएको थियो। उहाँको पान पराग र निधि ब्राण्डको गुट्खाले व्यावसायिक सफलता पाए पछि हाल उहाँको मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कूल, होटल, सिनेमा हललगायत पछिल्लो समयमा रियल स्टेट तर्फ लगानी बढाउनु भएको थियो ।

मोहपाल धर्मशाला, भद्रपुर मारवाडी सङ्घ, भद्रपुर गौशाला र जिल्लाका विभिन्न मठमन्दिर बनाउनमा अग्रवालको योगदान अग्रणी छ। अग्रवालको निधनले झापाले एक कुशल र व्यवहारिक व्यवसायी मात्र होइन दीन दुःखीहरूका प्रिय पात्र गुमाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *