• Sat. Jul 27th, 2024

काङ्ग्रेस महामन्त्रीको सम्वाद यात्रा भद्रपुरबाट सुरू

BySaptahik Samachar

१३ माघ २०८०, शनिबार १३:५७ १३ माघ २०८०, शनिबार १३:५७ १३ माघ २०८०, शनिबार १३:५७

भद्रपुर,१३ माघ  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाबाट ‘संवाद यात्रा’ सुरु गर्नुभएको छ । महामन्त्री थापाले शनिबार बिहानदेखि झापा भद्रपुरको मेची पुल छेउ (भद्रपुर भन्सार)बाट सम्वाद यात्रा सुरु गर्नुभएको हो ।
समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मधु आचार्य, प्रदीप पौडेललगायत सहभागी हुनुहुन्थ्यो । 
पार्टीका कार्यकर्ता र जनताका गुनासा सुन्न तथा सुझाव लिन महामन्त्री थापाले सम्वाद यात्रा सुरु गर्नुभएको जनाइएको छ। सम्वाद यात्रामा जनताका कुरा सुन्ने, सुझाव लिने र आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ । सो क्रममा आज विहान मेची वहुमुखी क्याम्पस र प्रादेशिक अस्पतालको अनुगमनसहित त्यहाँको गुनासो र सुधारका लागि गर्नुपर्ने कामको बारेमा तत् तत् पक्षसँग सम्वाद गरेको महामन्त्री थापाले जानकारी दिनुभयो।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी १३ देखि २६ माघसम्म ‘समुदायमा कांग्रेस’ अभियान जारी राखेको छ । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गरेको बताउनुभयो ।विहान भद्रपुर छेउ मेची नदिको किनारको वडा नम्बर ५ मा ५ वटा वृक्ष रोपिएको थियो। पाटीको ७८ औं स्थापना दिवसको अवसरमा यात्रा क्रममै ७८ वटा विरूवा रोप्ने पनि जानकारी दिइयो। अभियानको सुरुआतमा पार्टीका जिल्ला सभापति देउकुमार थेवे, केन्द्रीय सदस्य मधु आचार्य,पूर्व केन्द्रीय महामन्त्री तथा वरिष्ठ नेता कृष्णप्रसाद सिटौला तथा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले अभियानको उद्देश्य र औचित्यको वारेमा प्रकाश पार्नुभएको थियो।

पार्टीका भद्रपुर नगर अध्यक्ष राम कँडेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता वडा ५ का पार्टी अध्यक्ष हरि बस्नेतले गर्नु भएको थियो भने बन्धु कार्कीले धन्यवाद ज्ञापन र भद्रपुर नगरपालिकाका प्रमुख तथा पार्टीका क्षेत्रीय सभापति गणेश पोखरेलले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो।

महामन्त्री थापाले शनिबार बिहान ९ः३० बजेदेखि १० बजेसम्म झापा चोकमा चिया संवाद गर्नुभएको छ। संवाद यात्रामा कांग्रेसका नेता–कार्यकर्ता मात्र भेट्ने नभएर आमनागरिकसँग संवाद गर्ने भएकाले सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ ।तर,झापा चोकको चिया सम्वादमा कार्यकर्ताले नेतालाई घेरेर बसेको दृश्यले भने अभियानको उपलब्धि सोचे अनुरूप नहुने हो कि आशंका पनि गरिदैंछ।
थापाले आजै बिहान १० बजे कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्ने, ११ देखि १२ बजे कृषक समूहसँग संवाद गर्ने, १२ः३० बजेदेखि २ बजेसम्म झापा बजारमा खुला संवाद गर्ने कार्यक्रम छ ।

त्यस्तै,कुन्जीबारीमा पैदलयात्रा गर्दै कन्काई नदी तर्ने, दिउँसो ३ बजे खजुरगाछीमा खुला संवाद गरी ४ बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम छ ।
सम्वाद द यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । सम्वाद यात्रा माघ २६ गते सकिनेछ ।

30 thoughts on “काङ्ग्रेस महामन्त्रीको सम्वाद यात्रा भद्रपुरबाट सुरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *