• Sat. Jul 27th, 2024

ओम गोयलको स्मृतिमा भद्रपुर माविमा ८लाखको अक्षय कोष /गोयल दाजुभाइको सम्मान

BySaptahik Samachar

७ आश्विन २०७९, शुक्रबार १६:५२ ७ आश्विन २०७९, शुक्रबार १६:५२ ७ आश्विन २०७९, शुक्रबार १६:५२

भद्रपुर /स्व. ओमप्रकाश गोयलको स्मृतिमा उहाँका भाई – वुहारी दीनबन्धु गोयल तथा उषादेवी गोयलले भद्रपुर माध्यमिक विद्यालयलाई छात्रवृत्ति तथा डिजिटल शैक्षिक सामग्री प्रदान गर्नुभएको छ। भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्य र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पलाल राजवंशीको सभापतित्वमा बिद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा गोयल दम्पतिले स्थापना गर्नुभएको स्व.ओम गोयल स्मृति अक्षय कोष बापतको ८ लाख रूपैयाँको चेक दाता गोयलले विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो।
सो कोषको रकमबाट प्राप्त हुने व्याजले प्रत्येक वर्ष सो बिद्यालयमा कक्षा ११/१२ मा अध्ययन गर्ने विपन्न छात्र छात्रालाई निःशुल्क पढ्ने अवसर उपलब्ध गराइने भद्रपुर माध्यमिक विद्यालयले जनाएको छ ।

सोही अवसरमा विद्यालयका लागि दाता गोयलले २ लाख ५० हजार रूपैयाँ बढीको डिजिटल शैक्षिक सामग्री पनि शुक्रबार नै हस्तान्तरण गर्नुभएको छ। समाजसेवी दाता गोयलले साविक भद्रपुरका सवै सामुदायिक विद्यालयमा स्व.ओम गोयलको स्मृतिमा छात्रवृत्ति उपलब्ध गराउने क्रममा भद्रपुर माविमा यस वर्षबाट अक्षय कोष स्थापना गर्नुभएको हो।
दाता गोयल ७५ वर्ष पुगेको हुनाले यो बर्ष भरिनै उहाँले ‘अमृत बर्ष गाँठ’ मनाइरहनु भएको छ भने दाता परिवार दीनबन्धु गोयल र उहाँकी धर्मपत्नी उषादेवी गोयलको ५०औं विवाहोत्सव पनि यसै वर्ष परेको छ। सो अवसरलाई उपयोग गर्दै विद्यालयले केक काटेर गोयलको जन्म दिन मनाउँदै जन्म दिन र वैवाहिक बर्ष गाँठको लागि शुभकामना व्यक्त गरेको छ।

विद्यालयलाई छात्रवृत्ति र शैक्षिक सामग्री हस्तान्तरणको सोही अवसरमा भद्रपुर हाइस्कुलबाट प्रवेशिका परीक्षा(एसएलसी.)मा सहभागी पहिलो विद्यार्थी महावीरप्रसाद गोयललाई र दाता दिनबन्धु गोयललाई विद्यालयका तर्फबाट शुभकामना र सम्मान गरिएको छ। उहाँहरूलाई खादा, माला, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो। उहाँ हरू नातामा दाजुभाइ हुनुहुन्छ।कार्यक्रममा उहाँहरू दुवै जनाले विद्यालयको प्रगतिको कामना गर्दै शुभेच्छा मन्तव्य राख्नुभएको थियो।
प्रमुख अतिथि नगर उपप्रमुख राधा कार्की, भद्रपुर गौशालाका अध्यक्ष राजेन्द्र चापागाईं लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होम वहादुर गुरुङले स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो भने संचालन विद्यालयका शिक्षक चैतन्य खरेलले गर्नुभएको थियो। कार्यक्रमलाई रोचक र उत्सवमय बनाउन विद्यार्थीहरूबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

One thought on “ओम गोयलको स्मृतिमा भद्रपुर माविमा ८लाखको अक्षय कोष /गोयल दाजुभाइको सम्मान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *