• Sat. Apr 20th, 2024

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस धुमधामसंग सम्पन्न

BySaptahik Samachar

१८ मंसिर २०८०, सोमबार ०५:२१ १८ मंसिर २०८०, सोमबार ०५:२१ १८ मंसिर २०८०, सोमबार ०५:२१

भद्रपुर, १७ मङ्सिर / नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा शाखाले ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाएको छ। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र अपाङ्गता समन्वय समिति भद्रपुरका अध्यक्ष धनजुजु श्रेष्ठको सभापतित्वमा भद्रपुर – ४ स्थित जिल्ला शाखाको परिसरमा आज कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि बनाइने आवास गृहको आजै प्रमुख अतिथि नगर प्रमुख पोखरेलले शिलान्यास गर्नुभएको छ। भद्रपुरस्थित प्रदेश एकको आवासीय पुनर्स्थापना केन्द्रमा अहिले १४ जनालाई आश्रय दिइएको छ भने थप १० जना राख्ने सम्झौता भइसकेको छ। सम्झौता अनुसार अपाङ्गता भएकाहरुको पुनर्स्थापनाका लागि थप आवास गृह आवश्यक भएकाले भवन शिलान्यास गरिएको कार्यक्रमका अध्यक्ष श्रेष्ठले बताउनुभयो। सो कार्यक्रममा विभिन्न समयमा संघलाई नगद तथा जिन्सी सहयोग गर्ने दाता महानुभावहरूलाई सम्मान गर्नुका साथै नगर उपप्रमुख राधा कार्कीले आफ्नो जन्मोत्सवको अवसरमा म्याट्रेस र तन्ना पनि वितरण गर्नुभयो। त्यस्तै, नगरपालिकाले उपलव्ध गराएका अपाङ्गता सम्वन्धी सामग्री पनि सोही अवसरमा वितरण गरिएको थियो।
कार्यक्रममा अपाङ्ग संघ झापाका सभापति ऋषि चापागाईँले संघले भद्रपुरमा २५ शय्याको अर्थोपेडिक अस्पताल, अपाङ्गता भएकाहरूलाई विद्यालय, १सय क्षमताकाे आवास गृह, सामुदायिक भवन, सहायक सामग्री मर्मत केन्द्र,तालिम हल, मनोरञ्जन स्थल र बगैंचा सहित कम्पाउन्ड वालको डिपीआर तयार भएको जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख पोखरेल, उपप्रमुख कार्की, वडाध्यक्ष हंशधर राजवंशी र मानवअधिकारका लागि एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीले मन्तव्य राख्नुभएको थियो।

अपाङ्गता पुनर्स्थापना केन्द्रका कार्यक्रम संयोजक केदार महतले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कञ्चनजङ्घा अपाङ्गता कल्याण संघ भद्रपुरका अध्यक्ष केशव नेउपानेले राख्नुभएको थियो। त्यस अवसरमा जेठा मुर्मु लगायत अपाङ्गता भएकाहरूले सांगीतिक प्रस्तुति दिनुभएको थियो।

297 thoughts on “अन्तर्राष्ट्रिय अपाङ्गता दिवस धुमधामसंग सम्पन्न”