
भद्रपुर २, चैत / भद्रपुरमा आज ५५ जना आँखाका रोगीको मोतियाबिन्दुको अपरेसन गरिएको छ। भद्रपुर ५ स्थित देवी बस्तीमा सञ्चालित भद्रपुर आँखा अस्पतालमा मेची आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुरुषोत्तम जोशी नेतृत्वको अप्थामोलोजिस्ट टिमले अप्रेसन गरेको हो।
भद्रपुरमा आज भएको अपरेसन नेपाल भारत मैत्री सङ्घले बिहार गलगलियामा गत चैत्र २५ गते अर्थात् ७ अप्रिलमा राखेको निःशुल्क आँखा उपचार शिविरमा पहिचान भएका आँखा रोगीको हो।


मेची आँखा अस्पतालको शाखाका रूपमा भद्रपुर आँखा अस्पताल सञ्चालित छ। भद्रपुरमा आँखा अस्पताल निर्माण गर्न सत्यनारायण सरिया परिवारले एक बिघा जग्गा निःशुल्क दान दिएपछि सोही जग्गामा आँखा अस्पतालको भवन निर्माण कार्य लगभग सम्पन्न भइसकेको उपभोक्ता समितिका संयोजक छत्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

भद्रपुरमा निर्माण सम्पन्न भएको भवनमै आज अपरेशन गरिएको हो। अस्पतालमा आवश्यक चिकित्सिय सामग्रीको बन्दोबस्तका साथै अपरेसन थिएटर, बिरामी रूंगुवा कक्ष, चिकित्सक क्वाटर लगायत भौतिक संरचनाको निर्माण भइसकेको छ। आँखा अस्पतालको समुद्घाटन वैशाखको दोस्रो हप्तामा गर्ने तयारी रहेको भद्रपुर आँखा अस्पतालको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
