• Tue. Jul 22nd, 2025

भद्रपुरमा भव्यरूपमा २१२ औं भानु जयन्ती

BySaptahik Samachar

३१ असार २०८२, मंगलवार ०७:०४ ३१ असार २०८२, मंगलवार ०७:०४ ३१ असार २०८२, मंगलवार ०७:०४

राबाश—

भद्रपुर २९, असार / २१२ औं भानु जयन्ती उत्साहप्रद रूपमा यहाँ भव्य सहभागिताका साथ सम्पन्न भएको छ । भद्रपुर कला, साहित्य तथा संगीत प्रतिष्ठानको आयोजना र देवकोटा स्मृति भवनको सहकार्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल प्रमुख अतिथि र उपप्रमुख राधा कार्की विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रमको शुरुवात आदिकवि भानुभक्त आचार्यको स्थानीय भानु चोकस्थित शालिकमा माल्यार्पण गरेर गरिएको थियो । त्यसपछि भद्रपुर नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको साहित्यिक कार्यक्रमको शुरुवातमा बटुकहरूद्वारा रामायण पाठ गरिएको थियो ।


प्रतिष्ठानका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको सो साहित्यिक सभामा प्रा.डा. गंगाप्रसाद अधिकारी तथा साहित्यकारहरू होम सुवेदी, चूडामणि वशिष्ठ र तारा विविधले आदिकवि भानुभक्त आचार्यको भाषिक एवम् साहित्यिक योगदान बारे प्रकाश पार्नुभएको थियो ।
त्यसपछि बृहत् कवि गोष्ठीमा साहित्य–सर्जकहरू क्रमशः विरही अधिकारी, उषा गुरुङ, खगेश्वर कोइराला, निर्मला बास्तोला दंगाल, शालिग्राम भट्टराई ‘अन्तरे’, लेखनाथ दिङ्लाली, हरिप्रसाद न्यौपाने, सुशीला गौतम, तुलसी काफ्ले र जयन्ती मानीले आ–आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।
प्रतिष्ठानका सचिव डिल्लीरमण नेपाल र कोषाध्यक्ष लता खरेलले पालैपालो कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्त आचार्यले भाषा, साहित्य र लोकसंस्कृति मार्फत एकीकरण गरेको मानिन्छ । आदिकविको जन्म १८७१ सालको असार २९ गते तनहुँ जिल्लाको चुँदीरम्घा गाउँमा भएको थियो ।

भाषिक एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन आदिकवि भानुभक्तको ऐतिहासिक योगदान छ । आदिकविको निधन १९२५ साल असोजमा भएको थियो ।
नेपालका आदिकवि एवम् नेपाली भाषिक एकताका सूत्रधार भानुभक्त आचार्यको जन्मजयन्ती छिमेकको दार्जीलिङ, सिक्किम, भुटान, बर्मा लगायत नेपाली भाषा–भाषी बसोबास गरिरहेका देशहरूमा पनि बडो श्रद्धापूर्वक मनाउने गरिन्छ ।

One thought on “भद्रपुरमा भव्यरूपमा २१२ औं भानु जयन्ती”
  1. When it comes to roof installation in Lancaster, Roof Installation Pros stands out for quality and reliability. Their expert team works with all roof types, delivering strong, protective installations that add value. Highly rated for affordable, on-time, and professional roofing work.

Leave a Reply to Metal roofing Cancel reply

Your email address will not be published. Required fields are marked *