– – – – – – – – – – – – – गोपाल गिरी भद्रपुर २१ कात्तिक । तराई मधेश क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी सुरु भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न र पुजास्थलको तयारीमा व्यस्त देखिएका छन् ।अहिले झापा लगायत तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । छठ पूजाका लागि चाहिने सामग्री किन्नेको निकै भीडभाड देखिएको छ ।खास गरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी सहितको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ ।अहिले छठ पर्व मनाउनेहरू पोखरीको डिल र नदी तटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल घाट सुरक्षित बनाउन थालेका छन् ।घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ ।झापाको मेची, कन्काइ, विरिड्ग , अधुवा, रतुवा,हडिया, निन्दा, देउनिया लगायत खोला पोखरी र तलाउमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ ।स्थानीय मैथिल समाज र भद्रपुर नगरपालिकाले भद्रपुरको मेची नदिमा छठ पर्वलाइ व्यवस्थित वनाउने कार्य शुरू भएको छ । भद्रपुर-५ को मेची नदी घाटमा हुने छठ पूजाको लागि पुजास्थलको व्यवस्थापन र विद्युत(लाइटिङ)-प्रवन्धका लागि छठ पुजा व्यवस्थापन समिति जुटेको छ। व्यवस्थापन समितिका अध्यक्ष रमेशचन्द्र झाले भन्नुभयो-नदी किनारको वालुवा मिलाउन, पुजा स्थलको व्यवस्थापन र सरसफाइको काम शुरू भइसकेको छ। नगर पालिकाले बाँसे पुलको जिम्मा लिएको पनि उहाँले जानकारी दिनुभयो। अत्यन्तै निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्व शुद्ध, सात्विक र पवित्र मनले व्रतालुहरूले पूजा गरे मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ।छठ मनाउँदा चर्म रोग निको हुने, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने तथा आफ्नो भाकल पुरा हुने भएकाले पनि वर्षेनी ब्रतालुहरू बढ्ने क्रम जारी छ।मिथिलाञ्चल क्षेत्रमा बसोवास गर्ने मैथिली र भोजपुरी भाषीहरूले बढी मनाउने यो पर्वप्रति जनविश्वास बढ्दै गएर अहिले काठमाडौं उपत्यका लगायत पूर्वदेखि पश्चिमसम्मकै तराई मधेसमा उल्लासपूर्वक यो पर्व मनाउन थालिएको छ।शुध्दता र सात्विक भोजनसंगै कठोर ब्रत बस्नु पर्ने यस पर्वमा ब्रतालुहरूले केहीदिन अघिदेखि नै मद मदिरा र माछा मासु त्याग्ने गर्छन्। षष्ठी तिथिको अस्ताउँदो सुर्यलाई मुख्य मानेर छठ भनिए पनि भोलि चतुर्थीमा’नहाय-खाय’ र पन्चमी तिथिमा खरना गर्नुपर्छ। षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई आधा शरीर पानी(जलाशय)-मा डुवाएर सुर्य भगवान र छठी माताको आराधना र उपासना गर्दै अर्घ्य दिनुपर्छ भने भोलिपल्ट सप्तमी तिथिमा पनि सोही रितले उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा सम्पन्न गरिन्छ। Post Views: 326 Post navigation छठ ब्रतालुलाई साडी वितरण छठको दोस्रो दिन आज खरना
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९