• Sun. Jul 21st, 2024

सिरुवा एक परिचय

BySaptahik Samachar

३० चैत्र २०७९, बिहीबार १५:०२ ३० चैत्र २०७९, बिहीबार १५:०२ ३० चैत्र २०७९, बिहीबार १५:०२
  • रुमा राजबंशी
  • नयाँ बर्षको आगमन संगै सिरुवा पर्वको पनि आगमन भएको छ। तराईका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी जातीको महान पर्व हो सिरुवा ।

बैशाख१गते देखि ३गते सम्म मनाइने यो पर्व एकदमै हर्षाेल्लासका साथ मनाउने गरिन्छ। नयाँ बर्षको पहिलो दिन पानी,२गते कादअ अर्थात् हिलो र ३गते रङ खेलेर सिरुवा पर्व मनाउने गरिन्छ।
आफू भित्रको सबै नकारात्मकता, अवगुण र द्वेशहरुलाई पानीले धोई, पखालेर आफू भित्र सितलता सिंचित गर्ने हेतुले एक आपसमा पानी छ्यापाछ्याप गर्दै रमाईलो गरी पानी सिरुवा खेलिन्छ।सोहि दिन राती खाना खाइसकेपछि उब्रेको खानामा पानी हालेर भिजाएर राखिन्छ त्यसै गरी सात किसिमको नयाँ सब्जीहरुको मिक्श गरेर सब्जी पकाएर राखिन्छ जस्तै सजिना,कटहर, पाटासाग,आलु, भेन्टा, फर्सी या लौका। भोलिपल्ट कादअ सिरुवाको दिन बिहान उक्त खानालाई चिसो पानीले पखाली नुन,तेल साँधेर प्याज र हरियो खुर्सानी संग खाने चलन रहेको छ।यस चलनलाई राजवंशी समुदायमा चैतमा पकाएर बैशाखमा खाने परम्परा भनिन्छ। गर्मी मौसम सुरु भए संगै शरिरलाई शितलता प्रदान गरोस् भनेर यहि दिनबाट नै पन्ता भात र चना मुरै बनाएर खाने कार्यको पनि सुरुवात हुन्छ।
बर्षको पहिलो दिनलाई विश्वा पनि भन्ने गरिन्छ। उक्त दिन विहान सबेरै उठेर आफ्नो जिउको बिष पनि झार्ने चलन छ ।

यसै सम्बन्धमा राजवंशी समुदायका कुल गुरु खड्ग प्रसाद राजवंशी भन्नुहुन्छ जडीबुटी संग जानकार व्यक्तिहरू जंगलमा गएर जडीबुटी खोजेर ल्याउने समेत चलन रहेको छ र सोही जडीबुटीद्वारा आफ्नो कुल गुरुबाट सालसमारी पूजा गर्ने परम्परा रहेको छ।यसरी पहिलो दिन लाई मनाउने गरिन्छ।
दोस्रो दिन:कादअ सिरुवा
सिरुवाको एकदमै महत्वपूर्ण दिन हो कादअ सिरुवा ।माटोमै जन्मिएका,माटोमै हुर्किएका र रमाएका, माटोकै कलात्मक संस्कृति झल्कने घरहरू भएका सफा,सुग्घर राजवंशी समुदायले यस दिनलाई अझ बढी महत्त्वका साथ मनाउने गर्दछन्। अशक्त,वृदवृदा र विरामी बाहेक सबैले हिलोले छ्याप्पै भएर,एक आपसमा हिलो दल्दै कादअ सिरुवा खेली ठूला बडाको आशीर्वाद लिने गरिन्छ।
केटाकेटी, महिला, पुरुष सबैले उत्साहपूर्वक हिलो खेलेर नाचगान गरी रमाइलो गर्दछन्। माटोले शरीरलाई शितलता प्रदान गर्ने, विभिन्न प्रकारका रोगबाट मुक्ति मिल्ने, चर्मरोग नलाग्ने र वर्षैभरि सुख, शान्ति र समृद्धि छाउने जनविश्वास रहेको छ।
कादअ सिरुवा खेलीसकेपछि महिलाहरुले आफूलाई पायक पर्ने स्थान कुवा, कल तथा नदीमा गएर घाटोसरी माताको पूजा गर्छन्। महिलाहरुले समझहमा गीत गाउँदै चना,मुरै, अदुवा,लसुन,प्याज र अठिया केला चढाएर घाटोसरी तिस्ता बुरी माताको पूजा आराधना गरी छातामा चढाएको पानी घरमा ल्याएर छिट्ने गर्दछन् । यस पूजाको पनि ठूलो महत्व रहेको छ राजवंशी समुदायमा।
तेस्रो दिन : रङ सिरुवा
विभिन्न रङहरुले आफ्नो जीवनलाई पनि रंगिन बनाओस्, हरेक सुखदुखलाई डटेर मुकाविला गर्ने शक्ति मिलोस भनेर एक आपसमा रङ खेलेर सिरुवा पर्वको समापन गरिन्छ। समापनको अवसरमा राजवंशी बाहुल्य स्थानहरूमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना हुने गर्दछ। यसरी ३दिनसम्म पानी, हिलो र रङको सम्मिश्रण, भगवान कृष्णको जन्मोत्सवको रुपमा मनाइने पर्व सिरुवा परापूर्व काल देखि नै राजवंशी कोच समुदायले विशेष महत्वका साथ मनाउदै आईरहेका
छन। आफ्नो संस्कार, संस्कृतिको संरक्षण, संवर्धन गर्ने र भावी पुस्तालाई हस्तान्तरण गराउदै लान सकिएमा यस्ता मौलिक, सांस्कृतिक परम्पराको अस्तित्व सधैं जिवन्त रहि रहने छ। भद्रपुर, झापा

14 thoughts on “सिरुवा एक परिचय”

Leave a Reply

Your email address will not be published. Required fields are marked *