भद्रपुर १५, मंसिर / सिद्धान्त बचत तथा ऋण सहकारी संस्था लि. भद्रपुर १० चन्द्रगढी झापाको १४ औं वार्षिक साधारणसभा विभिन्न पुरस्कार-सम्मान र प्रतिवेदनहरू पारित गर्दै सम्पन्न भएको छ।शनिबार भद्रपुर वार्ड न १० को सभाहल चन्द्रगढीमा सम्पन्न भएको साधारण सभामा सहकारीले यस वर्ष ब्याज, हर्जना तथा सेवा शुल्कसमेत गरी आम्दानी रू.३० लाख २८ हजार १ सय ५९ र खर्च रू.२८ लाख२४ हजार ७ सय १२ भई २ लाख ३ हजार ४४६ खुद नाफा आर्जन गरेको जनाइएको छ।
कार्यक्रमका प्रमुख अतिथि १० नम्बर वार्ड अध्यक्ष टेकबहादुर खड्का काजीले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सहकारीका अध्यक्ष गोपाल श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/८१ मा ऋण लगानी लगायतका संस्थाले हाल सम्म गरेका विविध कार्यहरुका बारेमा प्रकाश पार्नु भयो। उहाँले १९५२ सदस्य संख्या रहेको सहकारीको ६३ लाख१ हजार ३ सय शेयर रकम र १ करोड ७४ लाख ८७ हजार १ सय ३५ रुपैया निक्षेप रकम रहेको समेत बताउनुभयो ।
सो अवसरमा सहकारीको पर्ल्स विषयमा स्नातकोत्तर तहको थेसिस लेखन बृत्तिका लागि सोही सहकारीकी कर्मचारी ज्ञानी महतोलाई नगद रू.२० हजारको शैक्षिक प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी, उत्कृष्ट ऋणी लालमाया सुब्बा ,एकल महिला शारदा न्याैपाने र बाल बचतकर्ता सम्यक सुब्बालाई समेत नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खड्का विशेष अतिथि, भद्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेल,स्वर्गद्वारी कृषि सहकारी संस्थाका अध्यक्ष गोपालबहादुर थापा ,झापा सामुदायिक सहकारी संस्थाकी प्रतिनिधि उर्मिला गाैतम लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष देवीमाया श्रेष्ठले र संचालन लेखा समिति संयोजक गोविन्द कोइरालाले गर्नु भएको थियो ।