• Sat. Jul 27th, 2024

सदरमुकाममा ‘भद्रपुर महोत्सव’ सञ्चालनमा

BySaptahik Samachar

२० श्रावण २०७९, शुक्रबार १४:४० २० श्रावण २०७९, शुक्रबार १४:४० २० श्रावण २०७९, शुक्रबार १४:४०

भद्रपुर २० साउन / झापाको सदरमुकाम भद्रपुरमा ‘भद्रपुर महोत्सव’ शुरु भएको छ ।भद्रपुरको खस्कँदो व्यापार–व्यवसायलाई चलायमान गराउने, संस्थाको अक्षयकोष स्थापना गर्ने, स्थानीय पर्यटन प्रवर्द्धन गर्ने, साँस्कृतिक क्षेत्रको संरक्षण र विकास, सामाजिक विकृति–विसंगति न्यूनिकरण, भद्रपुरको पहिचान विस्तार, कला–संस्कृतिको संरक्षण–सम्बर्द्धनलगायतको उद्देश्य राखी भद्रपुर युवा परिवारको आयोजनामा ‘भद्रपुर महोत्सव’ सञ्चालन गरिएको हो ।
खेलकुद र सामाजिक गतिविधिमा सक्रिय भद्रपुर युवा परिवारले जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिकाबाट स्वीकृति लिई ‘भद्रपुर महोत्सव’ आयोजना गरेको क्लवका अध्यक्ष बिर्जु सहनीले जानकारी दिनु भयो ।
महोत्सवमा व्यावसायिक स्टलहरुका साथै रमाइलो मेला, बालबाटिका र मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ । १५ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव वर्षाका कारण दुई दिन ढिलो गरी सुरु भएको हो ।

महोत्सवमा रोटेपिङ, मौतका कुवाजस्ता रमाइलो मेला, बालबालिकाको मनोरञ्जनका लागि सानाखाले पिङहरु, विभिन्न खेल–तमासा रहेका छन् भने दैनिक स्थानीय र विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने क्लवका सदस्य कृष्ण वनले बताउनु भयो ।
महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ । पहिलो इण्डियन आइडल विजेता, लोकप्रिय गायक प्रशान्त तामाङलगायत डम्बर नेपाली, ज्योति मगर, अमित पल, मेलिना राई, रेजिना रिमाल, कमल खत्री, निशान भट्टराई, र्यापर माइला, प्रिती आले र हर्के हवल्दारको प्रस्तुति रहने क्लवका सचिव सिकेन्द्र यादवले जानकारी दिनु भयो ।
महोत्सव सम्पन्न गर्न लगभग २७ लाख रुपैयाँ खर्च हुने र सो रकम विभिन्न प्रायोजक, संघ–संस्था, स्टल बिक्री, कलाकारहरु आउँदाको टिकट बिक्रीबाट जुटाइने कोषाध्यक्ष रवि मुखियाले जानकारी दिनुभयो ।
अवलोकनकर्ताहरुको आगमनलाई हेरेर महोत्सवको समयावधि हेरफेर हुनसक्ने अध्यक्ष सहनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *