• Sat. Jul 27th, 2024

सदरमुकाममा पुनर्निर्मित काली मन्दिरको उद्घाटन

BySaptahik Samachar

१४ फाल्गुन २०७८, शनिबार १६:४१ १४ फाल्गुन २०७८, शनिबार १६:४१ १४ फाल्गुन २०७८, शनिबार १६:४१

भद्रपुर १४,फागुन / झापाको भद्रपुर नगरपालिका वडा नं.१० स्थित चन्द्रगढी बजारमा पुनःनिर्माण गरिएको काली मन्दिरको शनिबार उद्घाटन गरिएको छ । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले पन्चकन्या सहित वटुकहरूद्वारा वैदिक मन्त्रोच्चारणका वीच भव्य समारोहको आयोजना गर्दै काली मन्दिरको उद्घाटन गर्नुभएको हो। धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक करोड ५१ लाख रूपैयाँको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो ।
विसं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको उहाँले बताउनुभयो ।मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले २७ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
उद्घाटन समारोहका प्रमुख अतिथि नगर प्रमुख जीवनकुमार श्रेष्ठले नमूनायोग्य र दर्शनीय काली मन्दिर निर्माण भएकोले पर्यटकीयस्थलका रूपमा यसले पर्यटक आकर्षण गर्ने विश्वास व्यक्त गर्नुभयो।
विभिन्न दाताले आर्थिक तथा पादार्थिक सहयोग गरेर निर्माण भएको मन्दिरमा महाकाली, दुर्गा, गणेश, लक्ष्मी, सरस्वतीका ठूला मूर्ति भारतको राजस्थानबाट र सोहीअनुरुपका साना मूर्ति भारतको सिलीगुढीबाट खरिद गरेर ल्याएर प्राण प्रतिष्ठा गरिएको छ ।

निर्माण समितिका संयोजक भीम पौडेलको सभापतित्वमा भएको मन्दिर उद्घाटन समारोहमा नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ,१८ वटा पुराण बाचक धार्मिक व्यक्तित्व पं. कुवेर सुवेदी, मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष शुशिला बस्नेत, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र चन्द्रगढीकी सन्चालिका शान्ति दिदी, विद्युत प्राधिकरण प्रमुख संजिवकुमार साह, नेपाली काँग्रेस ३ नं. क्षेत्रीय सभापति गणेश पोखरेल र एमाले पार्टीका झापा जिल्ला उपसचिव असारू राजवंशीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
मन्दिर निर्माण समितिका उपाध्यक्ष मुरारी खरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन यशोदा कोइरालाले गर्नुभएको थियो। उद्घाटनका अवसरमा स्वागत गीत, संगिनी र डँडिया नृत्य प्रस्तुत गरिनुका साथै साँझमा स्थानीय समुदायबाट कीर्तन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *