• Sat. Jul 27th, 2024

ललितपुरको गुरुकूलले भर्ना लिन नमानेका दलित छात्रलाई महोत्तरीको गुरुकूलले निशुल्क पढाउने

BySaptahik Samachar

२६ जेष्ठ २०७९, बिहीबार १७:५५ २६ जेष्ठ २०७९, बिहीबार १७:५५ २६ जेष्ठ २०७९, बिहीबार १७:५५

भद्रपुर २६,जेठ / ललितपुरको गुरुकूलले भर्ना लिन नमानेका दलित छात्रलाई महोत्तरीको गुरुकूलले नि:शुल्क पढाउने
दलित भएकै कारण ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा पढ्न नपाएका ४ छात्रले महोत्तरीको मटिहानीस्थित गुरुकूलमा पढ्न पाउने भएका छन्।
दलित भएकै कारण विद्यार्थीले गुरुकूलमा भर्ना नपाएको भन्ने समाचार सार्वजनिक भएपछि मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले ४ जना छात्रको पठनपाठनको जिम्मेवारी लिने भएको हो। बर्दियाको बारबर्दिया–६ का दलित परिवारका ४ छात्र अध्ययनका लागि भन्दै ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा भर्ना हुन गएका थिए। १० वर्षीय समीर सुनार, १२ वर्षीय विराज सुनार, ९ वर्षीय भुवेश्वर सुनार र १० वर्षीय भीमबहादुर सुनारले विद्यालयमा भर्ना हुनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेका थिए।
भर्ना लिने भन्दै विद्यार्थीले केश मुण्डन र व्रतबन्ध समेत गरेका थिए। तर, भर्नाका लागि थर सोध्दा दलित भएको पाइएपछि विद्यालयले उनीहरुलाई घर जान भनेको थियो।

‘बर्दियाका चार छात्रको ललितपुर गुरुकूलमा भर्ना हुन नसकेको सञ्चारमाध्यममा आएको समाचारबाट थाहा पाइयो,’ मटिहानीस्थित गुरुकूल राजकीय संस्कृत माविका प्राचार्य ईश्वरीप्रसाद पौडेलले भन्नुभयो , ‘हामी ती चारै छात्रको बसोबास, खानपान र पठनपाठनको जिम्मा लिन्छौँ।’
दलित छात्र र उनीहरुका अभिभावकको पढ्ने/पढाउने रहरको सम्मान गर्दै चारै छात्रको स्वागतका लागि आफ्नो गुरुकूल पर्खिरहेको पौडेलको भनाइ छ।आजभन्दा ३०४ वर्ष पहिले स्थापित मुलुककै जेठो गुरुकूल मानिने मटिहानीमा बालगुरु षडानन्दले पनि शिक्षा लिएका थिए। गुरुकूलमा अहिले हिन्दू धर्म परम्पराका दलितमात्र नभएर इस्लाम धर्मावलम्बी छात्र पनि पढ्दैछन्। ‘
कोही जन्मले सुद्र वा ब्राह्मण हुँदैनन्, सबै कर्मले उच्च हुन सक्छन्, त्यसैले हाम्रो गुरुकूलमा सबै जातजाति र समुदायले उत्तिकै सम्मानसाथ प्रवेश पाउँछन्,’ पौडेलले भन्नुभयो । ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा सिट सङ्ख्या पूरा भएको भन्दै भर्ना लिन नसक्ने जनाए पनि सो गुरुकूललमा हाल ३३ मात्र छात्र रहेको बताइएको छ। सो गुरुकूलको वेबसाइटमै सिट सङ्ख्या ५० रहेको उल्लेख छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *