प्रदेश १ सरकारले गत आर्थिक वर्षमा मेची अस्पताललाई छुट्याएको ५ करोड १४ लाख ५७ हजार रुपैयाँ बजेटको सिटी स्क्यान आजबाट शुरू भएको हो भने विगत केही दिनदेखि संचालनमा आएको अक्सिजन प्लान्टको आजै उद्घाटन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद वारकोटीले जानकारी दिनुभयो।
एक करोड बजेटमा अक्सिजन प्लान्ट जडानसंगै नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा मेडिकल एसोसिएसनबाट १५० बढी अक्सिजन सिलिन्डरको व्यवस्था भएको हो।
हाल ३५ वटा सिलिन्डर भर्न सकिने प्लान्टमा केही समय पश्चात् पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनेछ तयारी छ।
मेचीमा सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि दुर्घटनामा परी टाउकोमा चोट लागेका वा अन्य समस्या भएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ ।
अक्सिजन प्लान्ट सुरु भएपछि कोभिड वा नन-कोभिडका बिरामीलाई चाहिने अक्सिजनको समस्या टरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बारकोटीको भनाइ छ।
अक्सिजन प्लान्ट र सिटी स्क्यान उद्घाटन कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी र वसन्त वानिया तथा भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठले अस्पतालको अवस्था चित्रण गर्दै मन्तव्यको क्रममा सुधारका विषयमा विचार प्रकट गर्नुभएको थियो ।