• Sat. Jul 27th, 2024

भद्रपुर नगरपालिकाको १२ औ नगर सभा स्थगित

BySaptahik Samachar

८ असार २०८०, शुक्रबार १६:०० ८ असार २०८०, शुक्रबार १६:०० ८ असार २०८०, शुक्रबार १६:००

नौ गतेका लागि बैठक आह्वान

गोपाल गिरी – – – – – – –

भद्रपुर ८ असार / भद्रपुर नगरपालिकाको असार ८ गतेका लागि बोलाइएको १२ औं अधिवेशन नगर सभा गणपूरक संख्या नपुगेकोले स्थगित भएको छ। नगरपालिकाले आजका लागि बोलाएको नगर सभामा गणपूरक संख्या नपुगेकोले बाह्रौं अधिवेशनको दोस्रो बैठक भोलिलाई डाकेको छ।
प्रदेश सभा एवम् कोसी प्रदेशबाट जारी गाउँ सभा र नगर सभा सञ्चालन कार्यविधि अनुसार सभामा तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत उपस्थित नभएको हुँदा आजको बैठक स्थगित गरी सोही नियमावलीको दफा १४ को (२)-अनुसार भोलिलाई बैठक डाकेको नगरपालिकाले जनाएको छ। नियमावलीमा लगातार दुई पटक बैठक डाक्दा पनि गणपूरक संख्या नपुगेमा कम्तिमा एक तिहाइ सदस्यहरूको उपस्थितिलाई गणपूरक संख्या मानेर तेस्रो बैठकले निर्णयहरू गर्न सकिने सुविधा दिएको छ। भद्रपुर नगरपालिकाको हकमा तत्काल कायम रहेको सदस्य संख्या ५४ हो र लगातारको बैठकमा आवश्यक गणपूरक संख्या नपुगेमा एक तिहाइ अर्थात् १८ जना सदस्यको उपस्थितिमा निर्णय हुन सक्ने विधानतः व्यवस्था रहेको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम र प्रस्तावहरू छलफल गरी स्वीकृत गर्नका लागि अधिवेशन डाकिएको नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो।
१२ औं अधिवेशनको यो बैठकमा नेकपा.एमालेका सम्पूर्ण र राप्रपाका दुई जना बोर्ड सदस्य अनुपस्थित रहेका थिए।बैठकमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी र राप्रपाका सभासद् सहित २२ जनाको उपस्थिति रहेको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ।
नगर प्रमुख पोखरेलले ‘ बोर्ड बैठकमा छलफल भई नगर सभामा लैजाने बजेट, नीति तथा कार्यक्रमलाई स्वीकृत प्रदान गर्ने अधिवेशन डाक्न हस्ताक्षर गर्ने जिम्मेवार प्रतिनिधि नै अधिवेशनमा उपस्थित नहुनु दुःखद ‘ भएको बताउनुभयो।
असार १० गतेसम्ममा नगर सभा सक्नै पर्ने चाप भएकाले भोलिको बैठकमा सबै सदस्य उपस्थित हुने उहाँको अपेक्षा छ।
यसैबीच अनुपस्थित रहने पक्षले भद्रपुर नगरपालिकाको शिक्षा समिति पुनर्संरचना गर्नुपर्ने मांग अघि सारेको बुझिएको छ।

बैठकमा केही समय ढिलो पुग्नुभएका ७ नं.वडा अध्यक्ष अभिषेक ढुङ्गानाले नगर शिक्षा समितिको समस्या वाहेक नगरभित्र अन्य असन्तुष्टि छ भन्ने आफूलाई नलागेको साप्ताहिक समाचारलाई बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *