• Sat. Jul 27th, 2024

भद्रपुरमा रथ यात्रा निकाल्ने तयारी

BySaptahik Samachar

२८ श्रावण २०७९, शनिबार १८:५० २८ श्रावण २०७९, शनिबार १८:५० २८ श्रावण २०७९, शनिबार १८:५०

भद्रपुर २८ साउन / दुई दशकदेखि भद्रपुरमा सञ्चालनमा रहेको श्रीकृष्ण रथ यात्रा भद्रपुर नगर परिक्रमा गर्दै यस वर्ष उत्साहका साथ मनाइने भएको छ। भद्रपुर नगरपालिकाको संरक्षणमा रहेको रथलाई श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ ४ गते नगर परिक्रमा गराइने भएको हो ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र श्रीकृष्ण रथ यात्रा समारोह समितिका अध्यक्ष देवकुमार घिमिरेको अध्यक्षतामा शनिबार नगरपालिकामा बसेको बैठकले गत वर्ष कोभिड – १९ का कारण सञ्चालन हुन नसकेको रथ यात्रा यस वर्ष धुमधामका साथ भद्रपुरमा परिक्रमा गराउने निर्णय भएको समितिका सचिव विष्णु काफ्लेले जानकारी दिनुभयो।
भद्रपुरको लक्ष्मीनारायण मन्दिरबाट सुरु हुने रथलाई भद्रपुर नयाँबजार, ताराबारी भएर आँपगाछी दक्षिण ज्ञाने चोकसम्म पुर्‍याएर चारआली-केचना मार्ग हुँदै झापा चोक, भानु चोक-संगम-सगरमाथा, गार्मेन्टबाट लेखनाथ चोक भएर चन्द्रगढी वीपी चोक, चारआली टेम्पो स्टेण्ड, एस पी मोड – क्याम्पस मोड, क्याम्पस, हस्पिटल-गणेश मन्दिर, जनता चोक र भद्रपुर बजार हुँदै लक्ष्मीनारायण मन्दिरमा समापन गर्ने कार्यक्रम तय भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो।

रथ यात्रा परिक्रमालाई भव्यता प्रदान गर्न नगर पालिका लगायतका विभिन्न धार्मिक तथा सामाजिक, सांस्कृतिक संघ संस्थासंग समन्वय गरिने र रथलाई ध्वजापताका र फूलमालाले सजाउने, वाजागाजा र झाँकीहरू प्रदर्शन गर्ने तथा लाखे नाच समेत प्रस्तुत गरिने तयारी भएको उहाँले जनाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *