• Sat. Jul 27th, 2024

प्रधानमन्त्रीसंग अन्तर्राष्ट्रिय रेडक्रस महासचिवको वार्ता

BySaptahik Samachar

२० माघ २०७८, बिहीबार १९:३८ २० माघ २०७८, बिहीबार १९:३८ २० माघ २०७८, बिहीबार १९:३८
  काठमाडौं, माघ २० गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गर्नुभएको छ ।
   भेटमा उहाँहरुबीच मानवीय सेवा र रेडक्रस कानुनका विषयमा कुराकानी भएको बताइएको छ । यसैगरी सभामुख अग्निप्रसाद सापकोटा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईँले अलग–अलग भेटवार्ता गर्नुभएको थियो । ती भेटवार्तामा आफूले नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेको महासचिव चापागाईँले जानकारी दिनुभयो ।
 परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग महासचिव चापागाईँले बुधबार भेटवार्ता गर्नुभएको थियो । आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वोच्च परोपकारी संस्था आइएफआरसीका प्रथम नेपाली महासचिव चापागाईँ मङ्गलबार साँझ यहाँ आइपुग्नुभएको हो । नेपाल भ्रमणका क्रममा उहाँले यहाँस्थित आइएफआरसी र नेपाल रेडक्रसका गतिविधिका बारेमा जानकारी लिने क्रम जारी राख्नुभएको छ । उहाँले भन्नुभयो, “नेपाल रेडक्रसमा देखिएका समस्या मिलेर समाधान खोज्नुपर्छ । आगामी दिनमा रेडक्रलाई अझ व्यवस्थितरूपमा सञ्चालन गर्न रेडक्रस कानुन जारी गर्नु आवश्यक छ । यसका लागि नेपाल सरकारलाई आइएफआरसीले आवश्यक सहयोग पुर्‍याउँछ ।”

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील ५२ वर्षीय उहाँले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । सो जिम्मेवारी सम्हालेपछि उहाँको यो पहिलो नेपाल भ्रमण रहेको बताइएको छ । विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् । आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले एशियाबाटै पहिलोपटक उहाँलाई बहुमतद्वारा सो पदमा निर्वाचित गरेको थियो । बोर्डमा विश्वका शक्तिशाली २९ देश छन् ।
आइएफआरसीमा आबध्द देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीमा आबद्ध स्वयंसेवक तथा कर्मचारी पछिल्ला दिनमा कोभिड–१९ प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटिरहेका छन् । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई महामारीका बीचमा पनि सहयोग निरन्तर जारी राखेको छ । महासचिव चापागाईँले मानवीय सेवाका क्षेत्रमा पुर्‍याउन भएको काम तथा नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ ।
नेपाल रेडक्रसका अनुसार आइएफआरसीले कोभिड–१९ को सुरुआती चरणमा कोभिड उपचारका लागि स्वास्थ्य संस्थामा उपकरण तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई, मास्क, स्यानिटाइजर सहयोग गरेको थियो भने पछिल्लो चरणमा अक्सिजन कन्सन्टेटर, अक्सिमिटर, थर्मल गन, शव व्यवस्थापनका लागि झोलालगायतका सामग्री तथा खोपका लागि समेत समन्वय गरेको छ ।

नेपालमा रेडक्रस कानुन बन्ने सकेको छैन भने विगत दुई बर्ष भन्दा बढी समयदेखि सरकारको हस्तक्षेपले स्थायी कार्यसमिति समेत नहुँदा अहिले रेडक्रस नेपाल सरकारको अभिलेखमा नवीकरण फेल भएको संस्था बन्न पुगेको छ। यो वीचमा सरकारले ३/३वटा तदर्थ समिति गठन गरेको छ।तर, कुनै पनि तदर्थ समितिले दिएको जिम्मेवारी पूरा गर्न नसके पछि नेपाल रेडक्रसको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा भएको छ। यसैका लागि पनि नेपाल रेडक्रसमा अन्तर्राष्ट्रिय रेडक्रसको चासो र चिन्ता बढेको छ। संयोग नै मान्नुपर्छ- नेपाल रेडक्रसमा उत्पन्न भएको यो समस्याका बेला अन्तर्राष्ट्रिय रेडक्रसको महासचिव जस्तो गरिमामय पदमा नेपाल रेडक्रससंग राम्ररी परिचित नेपालकै नागरिकले नेतृत्व सम्हाल्नुभएको छ। तसर्थ पनि यो गाडे घाउ बनेर बसेको रेडक्रसको समस्याले उचित निकास पाउने दिन अव टाढा छैन भनेर ढुक्क हुने अवस्था बनेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *