• Sat. Jul 27th, 2024

चाइनिज स्याउ तस्करी काण्डः जुनियर अधिकृतलाई कारबाही गरेर सिनियरलाई जोगाउने खेल

BySaptahik Samachar

३ असार २०७८, बिहीबार १३:०४ ३ असार २०७८, बिहीबार १३:०४ ३ असार २०७८, बिहीबार १३:०४

चाइनिज स्याउ तस्करी काण्डमा संलग्न रहेका उच्चपदस्थ सुरक्षा निकायका अधिकृतलाई जोगाउने खेल भइरहेको गुनासो आएको छ ।

आइतबार भारी परिमाणमा भारतीय प्रहरीले नेपाली नम्बर प्लेटका तीनवटा ट्रकबाट  बरामद गरेको चाइनिज स्याउ तस्करी गराउन सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरूको समेत संलग्नता रहेको आरोप लगाइएको छ । यस्तो अवस्थामा सीमावर्ती क्षेत्रमा तैनाथ रहेका केही जुनियर अधिकृतहरूलाई कारबाही गरेर सुरक्षा निकायका उच्चपदस्थ अधिकृतहरूलाई जोगाउने खेल भइरहेको सुरक्षा स्रोतको आरोप छ ।

सीमा सिल रहेको समयमा भारतीय भूमिमा बरामद चाइनिज स्याउ तस्करी काण्ड अहिले सर्वत्र चर्चाको विषय बनेको अवस्थामा छानबिनपश्चात् दोषीलाई कारबाही गरिनुपर्नेमा जुनियरलाई कारबाही गरेर तस्करीमा संलग्न रहेका भनिएका सिनियर अधिकृतलाई बचाउने खेल भइरहेको गुनासो आएको हो । कोरोना महामारी तथा नियन्त्रणका लागि सीमा नाका सिल गरिएको अवस्थामा कोशी गाउँपालिका क्षेत्रको सीमा नाका हुँदै कसरी तीनवटा ट्रक भारत स्याउ बोकेर लगियो भन्ने प्रश्नको स्पष्ट जवाफ प्रहरीले दिएको छैन ।

सिल नाकाबाट कसरी छिरे तीन तीनवटा ट्रक ?
१ हजार ३ सय ५० कार्टुन स्याउ बोकेर तीन–तीनवटा नेपाली नम्बर प्लेटका ट्रक भारतीय भूमिमा कुन नाकाबाट छिराइयो भन्ने बारे जिल्ला प्रहरी कार्यालय सुनसरीका साथै सशस्त्र प्रहरीले समेत अनभिज्ञता प्रकट गरिरहेको छ ।

वास्तवमै स्याउ बोकेको ट्रक कुन नाकाबाट छिरे भन्नेबारे नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई थाहा नभएकै हो ? स्याउ तस्करीमा को–को संलग्न छन् ? के सीमा क्षेत्रमा तैनाथ जुनियर अधिकृतको मात्रै मिलेमतोमा यत्रो ठूलो तस्करी गराउन सम्भव छ ? भन्ने चर्चा र चासोको विषय बनेको छ ।

स्रोतले दाबी गरेअनुसार कोशी गाउँपालिका–७ स्थित हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट वीरपुरसम्म तीनवटा ट्रकमा लाखौं मूल्य बराबरको चाइनिज स्याउ पु¥याइएको हो । तर, यसबारे नेपाल प्रहरी र सशस्त्र प्रहरीले अनुसन्धान भइरहेको बताउँदै कुन नाकाबाट स्याउ बोकेको ट्रक छिराइयो भन्नेबारेमा अनुसन्धानपश्चात् मात्र केही भन्न सकिने बताउने गरेका छन् ।

भारतमा तीनवटा नेपाली नम्बर प्लेटका गाडीबाट ठूलो परिमाणमा स्याउ बरामद भएपछि सशस्त्र प्रहरी बल बिओपी लाहीका इञ्चार्ज इन्स्पेक्टर महेश कार्कीसहितको टोलीलाई फिर्ता बोलाउनु र सीमा प्रहरी चौकी भण्टाबारीका इञ्चार्ज सइ गङ्गा थापालाई निलम्बनका लागि प्रदेश प्रहरीले केन्द्रमा सिफारिससँगै भण्टाबारी मातहतमै रहेका अस्थायी प्रहरी चौकी श्रीपुरका इञ्चार्ज असइ टेकबहादुर कार्की र कोशी कटान प्रहरीका असइ आशनारायण माझीलाई निलम्बन गरिनुले लाही नाकाबाटै तीनवटा ट्रकमा स्याउ तस्करी गराइएको अनुमान गरिएको छ ।

सीमा प्रहरी चौकी भण्टाबारी मातहत नै रहेको अस्थायी प्रहरी चौकी हरिपुरका इञ्चार्जउपर छानबिन केन्द्रित नगरिनुले प्रश्न उब्जाएको छ । जब कि सीमा प्रहरी चौकी भण्टाबारी र अस्थायी प्रहरी चौकी श्रीपुरभन्दा लाही नाका जाने बाटो अस्थायी प्रहरी चौकी हरिपुरको क्षेत्रमा पर्दछ ।

यसबारे जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी नगेन्द्र कार्कीले अनुसन्धान टुङ्गिएपश्चात् मात्र यथार्थ कुरा बाहिर आउने बताउने गरेका छन् । गठित अनुसन्धान टोलीले छानबिन गरिरहेकाले तत्काल केही भन्न नसकिने बताउँदै उनले प्रहरी आचरण विपरीत काम गर्ने छुट कसैलाई नभएको दाबी गरे ।

यसैबीच स्याउ तस्करी काण्डमा अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृत तथा सशस्त्र प्रहरी बल प्रदेश नम्बर १ बाहिनी पकलीका एसएसपी प्रकाश थापाले छानबिनपश्चात् दोषीलाई कडा कारबाही गरिनेमा ढुक्क हुन आह्वान गर्दै चोरीपैठारी नियन्त्रणमा सक्रियताका साथ सशस्त्र प्रहरी लागेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *