• Mon. Jan 13th, 2025

खारेजी हुनबाट बचाइयो, भद्रपुर एअरपोर्टलाई

BySaptahik Samachar

२० भाद्र २०८०, बुधबार १३:११ २० भाद्र २०८०, बुधबार १३:११ २० भाद्र २०८०, बुधबार १३:११

-ओमप्रकाश सरावगी

झापाको भद्रपुरस्थित चन्द्रगढी एअरपोर्ट अहिले एकदमै चल्तिको एअरपोर्ट बन्न पुगेको छ। झापा जिल्लाका मात्र होइन नेपाल वाहेक अन्य तीन देश भारत, भूटान र बंगलादेशका नागरिकलाई समेत सेवा प्रदान गरिरहेको भद्रपुरको चन्द्रगढी विमानस्थल (एअरपोर्ट)-लाई तत्कालीन सरकारले खारेज गर्ने अवस्थाबाट जोगाएको एउटा अविस्मरणीय घटना भद्रपुर नगर पञ्चायतका तात्कालिक प्रधानपञ्च तथा भद्रपुरका जीवन्त इतिहास, राजनीतिकर्मी ओमप्रकाश सरावगीको स्मरणमा ताजा छ।

सम्भवतः यो २०४२ साल तिरको घटना हो। यद्यपि साल मिति अझै खोज्न सकिन्छ पत्ता लगाउन सकिन्छ।
त्यसवेलाका पर्यटन मन्त्री थिए- पञ्चायतकालका जल्दाबल्दा युवा दीपक वोहोरा र पर्यटन सचिव थिए-झापाकै तेजबहादुर प्रसाईं। चन्द्रगढी विमानस्थल घाँसे मैदानमा परिणत भइसकेको थियो। यात्रु नपाएर विमानहरू चन्द्रगढी एअरपोर्ट नआएको केही महिना र वर्षै भइसकेको थियो। सरकारी स्वामित्वको शाही नेपाल वायुसेवा निगमको मात्र विमान थियो। शानेवानिको व्यवस्थापनको अभावमा सरकारी विमानहरू काठमाडौंको गौशाला विमानस्थलमा ग्राउण्डेड हुने क्रम बढ्दै थियो। कर्मचारी मात्र कति राख्ने, कति घर भाडा तिर्ने र अन्य व्यवस्थापकीय अनावश्यक खर्च कटौती गर्ने नाममा सरकारले चन्द्रगढी एअरपोर्ट र भरतपुर एअरपोर्ट खारेज गर्ने निर्णय गरेछ।
पर्यटन सचिव तेजबहादुर प्रसाईं झापाली नै भएको कारणले एअरपोर्ट नै खारेज गर्ने मन्त्रीको निर्णयले उहाँ पनि चिन्तित हुनुभयो र भद्रपुर नगर पञ्चायतका प्रधान पञ्चलाई खोज्न थाल्नुभयो। अहिलेको जस्तो सञ्चारको सुविधा त थिएन तर, उहाँ भन्नुहुन्छ- त्यसबेला सौभाग्यले म काठमाडौं गएको थिएँ। पर्यटन सचिवले कसरी सरावगीलाई खवर गर्ने भनिरहेको बेला कसैले भेट्न चाहेको कुरा मलाई भन्यो। मेरो भेट उहाँसंग भयो र मन्त्रीको निर्णय र एअरपोर्ट खारेज गर्नेसम्मको तयारी बारे उहाँले जानकारी गराउँदै “मैले टिप्पणी उठाएर मन्त्री कहाँ पेश गर्ने बित्तिकै खारेज सदर हुन्छ र भद्रपुर एअरपोर्ट बन्द हुन्छ तर, तपाईंहरूको राय बुझ्न मैले तपाईँलाई खोजेको र रोक्ने ल्याकत राख्नुहुन्छ भने रोक्नुहोस् कम्तिमा सात दिनसम्म चाहिँ टिप्पणी नउठाएर म पनि टालटुल पार्छु। तपाईंलाई सात दिनको टाइम भयो कोशीस गर्नुहोस्”- भनेर सल्लाह दिनुभयो।
यो सूचना पाउने साथ म भन्दा एक /दुई दिन अघि नै राजधानी काठमाडौं पुगेका भद्रपुरका दुई जना साथीहरू डिल्लीराम निर्भीक र देवी बर्माको साथ हामी एअरपोर्ट खारेज गर्न हुँदैन भन्ने प्रस्ताव लिएर मन्त्री वोहोरालाई भेट्न गयौँ। कुरा राख्यौँ तर, मन्त्री वोहोरा सकारात्मक पाएनौ। त्यसवेला हाम्रो बसाइ थियो खिचापोखरी र न्यूरोड बिचको पानोरामा होटलमा।
मन्त्री सकारात्मक नभएको संकेत पाए पछि होटलमा सल्लाह गरेर हामी पर्यटन मन्त्रालयमा जाने, दिनभरि त्यहीँ बस्ने अनि फर्कने निर्णयमा पुग्यौँ। नभन्दै हामी तीनै जना खाना खान्थ्यौ र मन्त्रालय पुगी हाल्थ्यौं। मन्त्रालयमा अरूलाई चिया आउँदा हामी पनि त्यहीँ चिया पिउथ्यौं। हामी चुप चाप बस्थ्यौँ। मन्त्री आफ्नो काम गर्थे। एक दिन, दुई दिन गर्दै…. पाँचौँ दिनसम्म हाम्रो अघोषित धर्नाले मन्त्री दिक्क भएछन्। पाँचौँ दिनको अपरान्ह तिर मन्त्रीले झोक्किदै भने – ” दाई, तपाईंहरूले गर्न खोजेको के, गरेको के ?” यस्तै होस् भन्ने हामीले चाहेका थियौं, भयो त्यही । हामीले के गरेका छौँ र तपाईंको कामलाई बाधा व्यवधान गरेका छैनौँ। बोलेका छैनौँ। के गरेका छौँ ? निर्भीकजीले मन्त्रालयमा चुपचाप बस्न रोक छ भने सेना पुलिस लगाएर निकाल्नुस् मन्त्रीज्यूसम्म भन्नुभयो। हाम्रो माग चन्द्रगढी एअरपोर्टको खारेजी हटाउने हो, त्यो हुनुपर्छ।यो हाम्रो एक सूत्रीय माग हो। हाम्रो अघोषित धर्ना सफल भएछ-
वोहोराजीले सचिव प्रसाईंलाई बोलाउनुभयो, त्यहीँ उहाँको राय माग्नुभयो – सचिव प्रसाईं त सकारात्मक हुनुहुन्थ्यो नै। उहाँको सकारात्मक सल्लाह र हाम्रो अघोषित धर्ना अभियान सफल भएर भद्रपुरबाट विस्थापित भइसकेको एअर पोर्ट आज पूर्वी नेपालकै व्यस्त एअरपोर्ट भएको छ। त्रिदेशीय पर्यटक ओसार्ने थलो बनेकोमा गर्व गर्नु हुन्छ ।
उहाँ स्मरण गर्नुहुन्छ -प्रारम्भमा ४०/-रूपैयाँ भाडा तिरेर काठमाडौं जान पाइन्थ्यो। विराटनगरबाट एकोहोरो भाडा २५/-रूपैयाँ थियो। भद्रपुर एअरपोर्टलाई यात्रुको आवागमन बाक्लो बनाउन नगर पञ्चायतका तर्फबाट र आफू प्रधान पञ्च रहँदा धेरै पटक काँकरभिट्टाबाट सिधा बस सेवा भद्रपुर चलाउन माँग गरेको पनि उहाँको स्मरणमा ताजा छ। बस र सडक यातायातको अभावमा भारतीय भूमि भएर आउने पर्यटकहरू विराटनगर विमानस्थल भएर राजधानी काठमाडौं पुग्थे। एअरपोर्टको थमौती पछि यातायात सेवालाई पनि चुस्त दुरूस्त पार्ने प्रयास गरियो। आजको भद्रपुरलाई जीवन दिन चन्द्रगढी एअरपोर्ट एउटा स्तम्भ बनेको छ।

प्रस्तुतकर्ताः गोपाल गिरी भद्रपुर

487 thoughts on “खारेजी हुनबाट बचाइयो, भद्रपुर एअरपोर्टलाई”