• Sat. Jul 27th, 2024

कोभिड प्रभावका कारण यस वर्ष पनि किचकवध मेला नलाग्ने

BySaptahik Samachar

३ फाल्गुन २०७८, मंगलवार १८:२१ ३ फाल्गुन २०७८, मंगलवार १८:२१ ३ फाल्गुन २०७८, मंगलवार १८:२१

भद्रपुर ०३,फागुन / धार्मिक पर्यटकीय क्षेत्र किचकवधमा कोभिड–१९ का कारण यस वर्ष पनि मेला नलाग्ने भएको छ । परापूर्वकालदेखि स्वस्थानी व्रत समाप्ति पूर्णिमाको दिन लाग्दै आएको भव्य मेला विगत दुई वर्षदेखि महामारीका कारण लागेको छैन ।
मेलामा भारतको विहार राज्यका विभिन्न स्थानदेखि झापा, इलाम, मोरङ र सुनसरी जिल्लाबाट समेत भक्तजनहरु श्राद्ध गर्न, पोखरीमा स्नान गर्न, सतीदेवीको मन्दिरमा पूजापाठ गर्न र मेला भर्न आउने गरेका थिए ।
किचकवधमा धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिले स्वस्थानी पूर्णिमाको दिन फागुन ४ गते लाग्ने किचकवध मेला नलाग्ने जनाएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रभावका कारण सरकारको निर्णय अनुसार मेला नलगाउने व्यहोरासहितको सूचना फागुन १ गते नै जारी गरेको थियो ।


भद्रपुर नगरपालिका–२ मा रहेको किचकवध महाभारतकालीन कथासँग जोडिएको तर प्रचारका दृष्टिले ओझेलमा परेको नेपालको महत्वपूर्ण पर्यटकीय स्थल हो । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुरको पृथ्वीनगर क्षेत्रको १० बिघा क्षेत्रफलमा फैलिएको यस तीर्थस्थलमा दुई हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाँडाकुँडा र इँटाहरु पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ ।
यस वर्ष मेला नलागे तापनि भद्रपुर नगरपालिकाले सूचना नै जारी गरेर फागुन ४ गते अर्थात् किचकवध मेलाको दिन स्थानीय बिदा दिने घोषणा गरेको छ ।
नगरका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर रेग्मीले हस्ताक्षर गरेको सूचनामा किचकवध मेलाका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा नगरपालिकाको कार्यालय, वडा समितिका कार्यालयहरु तथा पालिका अन्तर्गतका सबै निकायमा स्थानीय बिदा दिइएको जनाइएको छ ।
स्थानीयवासीका अनुसार राजवंशी समुदायका मानिसले किचकवध स्थलको उत्तरी भागमा रहेको पुरानो पोखरीमा विशेष पूजाआजा गर्दै आएका छन् । हिन्दू र किरात समुदायको साझा तीर्थस्थलका रुपमा यसलाई चिनिँदै आएको छ ।
प्राकृतिक दृश्यावलोकनका लागिसमेत सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकवध परिसरमा सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर छ । दक्षिणी भागमा दुईतले भवनमा प्रहरीको कार्यालय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *