• Wed. Feb 28th, 2024

किड्नी फेल भएका झापाका दुई शिक्षक कानुनी अड्चनका कारण भारत जान बाध्य

BySaptahik Samachar

२८ श्रावण २०७८, बिहीबार २०:१३ २८ श्रावण २०७८, बिहीबार २०:१३ २८ श्रावण २०७८, बिहीबार २०:१३

साप्ताहिक समाचारदाता /भद्रपुर २८ साउन /झापा भद्रपुरका पुराना दुई शिक्षक दुवै मृगौला(Kidney)फेल भएर प्रत्यारोपण (Transplant) गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ।
हाल उहाँहरू मृगौला डाइलोसिस गराउँदै संघर्षपूर्ण जीवन व्यतीत गरिरहनु भएको छ। दुवै मृगौला फेल भएर ट्रान्सप्लान्ट गर्न जीवनसंग संघर्ष गरिरहनु भएका शिक्षकद्वय हुनुहुन्छ-मोहम्मद बदरूद्दिन र गीताकुमारी भण्डारी।

भद्रपुर-चन्द्रगढीका विभिन्न बिद्यालयमा साइन्स र म्याथ विषय पढाएर धेरैको जीवन धन्य बनाउने शिक्षक बदरूद्दिनको जीवन जटिल मोडमा छ। उहाँलाई मृगौला प्रत्यारोपण गर्न पारिवारिक दातानै चाहिने कानुनी प्रावधान अनुसार आफ्नै पत्नी असमति वेगमले मृगौला दिने हुनु भो। पत्नीको मृगौला प्रत्यारोपण गर्ने तयारी गरिरहँदा उहाँको एउटा मात्र मृगौला भएको खुलासा भए पछि बदरूद्दिन परिवार अहिले थप चिन्तामा परेको छ।

पत्नीकै मृगाैला ग्रहण गरेर जीवन पाउने आशामा बस्नु भएका शिक्षक बदरूद्दिनको त्यो प्रयासलाई प्रयोगशाला परीक्षण पछि गम्भीर झट्का लागेको शिक्षक महासंघ भद्रपुरका अध्यक्ष गणेश गिरीले जानकारी दिनुभयो। प्रकृतिको भनौं कि भगवानको लीला त्यो प्रयास असफल भएपछि परिवार मृगौला दाताको खोजीमा जुटेको गिरीले बताउनुभयो । उहाँका छोरा छैनन् र चार छोरी ज्वाईं बुवाको स्वास्थ्य लाभको लागि रातदिन नभनी खटिरहेका छन्।
उता, अर्की मृगौला पीडित भण्डारीको पीडा त्यस्तै जटिल छ। नेपालको कानुनी अड्चनकै कारण उहाँले पाएको दाताबाट पनि नेपालमै मृगौला प्रत्यारोपण गर्ने अवस्था गुमेको छ। भण्डारीका पति देवीचरणले भन्नुभयो – “काका शसुरालाई परिवार भित्र नसमेटिंदा सवै तयारी गरेर पनि प्रत्यारोपण हुन सकेन। यो कमजोरीले विरामीको मनोवल त घट्यो नै नेपाल मै हुने उपचार गर्न पनि अव विदेशिनु पर्ने भो।” उहाँले थप्नुभयो – “यस्तो संकुचित नीतिगत त्रुटी सच्याएर नागरिकलाई स्वास्थ्य सुरक्षा र सुविधा दिन सरकार गम्भीर बन्नुपर्छ।”
उहाँहरू दुवै जना भद्रपुरस्थित ओम साई हस्पिटलमा नियमित डाइलोसिस गराइरहनु भएको छ भने कानुनी अवरोध र स्वास्थ्यको कारण दुवै जना भारतको उपयुक्त उपचार केन्द्रमा जाने तयारीमा हुनुहुन्छ।
तर, यी सवै समस्यासंग जुध्दा जुध्दै आफूसँग भएको ठूलो धनराशि खर्च भइसकेकोले उहाँहरूको लागि अहिले शिक्षक महासंघ भद्रपुर नगर समितिले अपिल जारी गर्दै शिक्षकहरूसँग सहयोग मागेको छ। महासंघ अध्यक्ष गिरी भन्नुहुन्छ – “ठूलो धनराशि खर्च हुने यो रोगबाट पार पाउन सवैको सानो सहयोग पनि उल्लेख्य हुने भएकाले हातेमालो गर्न अनुरोध गरेका हौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *