• Sat. Jul 27th, 2024

कविताःजिउनुको मजा

BySaptahik Samachar

१ असार २०७८, मंगलवार १२:२९ १ असार २०७८, मंगलवार १२:२९ १ असार २०७८, मंगलवार १२:२९

नशा त्यो होइन, केवल रातभरको प्रेम त नशा हुँदै होइन भन्दिन म,

आउँछ नाम प्रार्थनामा सधैं जसको ऊ नै भगवान हो भन्दिन म।

झरना जस्तो आफ्नै वशमा नहुने

चञ्चल हुँदै हुँदैन भन्दिन म

सागर जस्तो अटल, गहिरो अनि

शान्त र धैर्य हुन्छ यो प्रेम

बिहानीको सूर्यको किरणहरूमा देखिन्छ रूप जसको

रातको चाँदनीमा कम प्रकाश हुन्छ भन्दिन म

न कुनै छल कपट, न कुनै झूटको पर्दा

कमल झैँ पवित्र अनि निश्चल मनबाट हुन्छ प्रेम।

होस् – यस्तो प्रेम हाम्रो भिन्न अनि फरक

मुना मदन अनि लैला मज्नुको जस्तै भन्दिन म

नहोस् अरू तृप्तिको चाहना अनि कमी केही

रूप, पैसा, शरीर अनि समय भन्दा माथि हुन्छ प्रेम

जसको हातहरूले मेरा अंगहरूको स्पर्शमा रमाउनु अघि

मनले मनलाई छुन सकोस्

जसको ओठले मेरो रसास्वादन गर्नु अघि

मेरो निधार अनि नयनहरूलाई चुमोस्

जसले मलाई अरू कोहीसंग तुलना गर्दै नगरोस्

जसको स्पर्शले केवल मलाई नै खोजोस्।

हो-यस्तो प्रेम होस् – हाम्रो

जसको मापन कुनै यन्त्रले गर्न नसकोस्।

शायद नसकुँला सवै कुरा व्यक्त गर्न

शव्दहरू उपयुक्त चुन्न नसकुँला

तर, यस्तो प्रेम होस् हाम्रो

जसले, मेरो मौनता पनि सुन्न सकोस्

जसले स्वार्थपूर्ति र जरूरत हैन मलाई

रोजाइ र चाहना बनाउन सकोस्

जसले करोडौं सुन्दर रूप र शरीरबीच पनि

केवल मलाई नै छनोट गरोस्

जसरी हिउँ पर्छ हिमालमा

जसरी खोला मिल्छ सागरमा

हो, यस्तो प्रेम होस् – हाम्रो

जसलाई मृत्युले पनि छुटाउन नसकोस्।

मौसम जस्तो पलपलमा बदलिने प्रेम होइन हाम्रो

हरपल हरक्षण एकनासको होस्

हो, यस्तो प्रेम होस् हाम्रो

जहाँ तिमी, तिमी र म, म नरहोस्

जहाँ कुनै कसमहरूको जरूरत नै नपरोस्।

जहाँ कुनै शंकाहरूको ठाउँ नै नरहोस्।

हो यस्तो प्रेम होस् हाम्रो

जहाँ अरू कोही हैन, मात्र तिमी र म होस्

जहाँ हरेक दिनको नयाँ शुरूवात होस्

नयाँ जोश, नयाँ उमंग अनि उत्साह होस्

हो, यस्तो प्रेम होस् – हाम्रो

जहाँ हरेक पल जिउनुको छुट्टै मजा होस्

कीर्ति तामाङ

फुलवारी टोल, भद्रपुर – ८ झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *