• Sat. Jul 27th, 2024

कतारबाट पनि यूरोप तस्करी हुँदै नेपाली श्रमिक

BySaptahik Samachar

२७ कार्तिक २०८०, सोमबार १२:१० २७ कार्तिक २०८०, सोमबार १२:१० २७ कार्तिक २०८०, सोमबार १२:१०

पछिल्लो समय कतारमा काम गर्ने नेपाली श्रमिकहरू पनि यूरोपतर्फ तस्करी हुन थालेका छन् । कतारमा सञ्चालित कन्सल्टेन्सीहरूले ७ देखि १० लाख रकम असुल गरी नेपाली श्रमिकलाई यूरोप तस्करी गर्न थालेका हुन् ।
कतारमा आप्रवासीलाई स्थायी बसोबासको सुविधा दिइएको छैन । त्यसैले कतारमा लामो समय काम गरेका नेपाली युवाहरू पनि स्वदेश फर्कनुभन्दा त्यहाँ पाइने आकर्षक सुविधा र बढी कमाइ हुने भएपछि यूरोपियन मुलुक तर्फ जान अहिले लर्को नै लागेको गैरआवासीय नेपाली संघ–कतारका अध्यक्ष रमेश भट्टले बताए । उनका अनुसार, कतारमा हाल करीब ४ लाख संख्यामा नेपाली श्रमिकमध्ये लगभग १५ हजार महिला श्रमिक छन् । नेपाली श्रमिक अधिकांशतः अदक्ष छन् ।
दुबईलाई नेपाली युवा यूरोप तस्करी गर्ने ट्रान्जिट बनाउँदै आएका दलालहरूले हाल विभिन्न प्रलोभन देखाएर कतारबाट पनि मानव तस्करी गरिरहेको संघका अध्यक्ष भट्टको कथन छ, ‘दुबई र कतारलाई ट्रान्जिट बनाई यूरोप तर्फ मानव तस्करी गर्ने ठूलै जमात अहिले सक्रिय छ ।’


दलालहरुले नेपाली श्रमिकलाई समेत यूरोप पठाउन कतारमा कन्सल्टेन्सी नै खोलेर कारोबार गरिरहेका छन् । कतार पुगेका नेपाली लगायत अन्य मुलुकका आप्रवासी व्यवसायीले नै यस्ता खालका कन्सल्टेन्सी सञ्चालन गरेका हुन् । कन्सल्टेन्सी मार्फत जाने केही नेपाली श्रमिक यूरोप पुग्न सफल भए पनि कतिपयले रकम खाएर भागेको समेत कतारमा कार्यरत युवाहरू बताउने गर्छन् ।
अहिले नेपालबाट पनि युवाहरू यूरोप जाने क्रम बढ्दो छ । तर, कतारबाट जाँदा थोरै रकम लाग्ने र प्रक्रिया सहज हुने हुँदा दलालहरू कतारमा नै सक्रिय भएका जानकारहरु बताउँछन् ।
कतारबाट करीब ७ देखि ८ लाख रुपैयाँसम्म खर्चेर दलालहरूले नेपाली युवालाई यूरोपका विभिन्न मुलुक माल्टा, चेक रिपब्लिक, रोमानिया, क्रोएसिया, पोल्याण्ड, पोर्चुगल लगायतका मुलुकमा तस्करी गर्ने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *