• Sat. Apr 20th, 2024

ऋण तिर्न मृगौला बिक्रीको सूचना

BySaptahik Samachar

६ मंसिर २०८०, बुधबार १०:३० ६ मंसिर २०८०, बुधबार १०:३० ६ मंसिर २०८०, बुधबार १०:३०

भद्रपुर/ पूर्वीनवलपरासी, कावासोती– १३ मा पर्ने बुढौली कुनाका ३८ वर्षीय टकबहादुर परियारले गाउँका बिजुलीका पोल र सार्वजनिक स्थलहरुमा आफ्नो फोन नम्बर सहित माथिको पम्पलेट टाँसेका हुन् । ऋणले थिचिएको भन्दै उनले आफ्नो मृगौला बिक्रीमा राखेको सूचना सामाजिक सञ्जालमा पनि भाइरल छ ।
सम्पत्तिका नाममा परियारसँग २ कठ्ठा खेत छ, जसमा उब्जनी हुँदैन । ५ धुरमा काठको खाँवा र टिनले छाएको कच्ची घर छ, जुन जग्गा ऐलानी हो । सम्पत्तिका नाममा उनीसँग अरु केही छैन, पेट पाल्ने आयस्ताधरि छैन ।
अन्तिम विकल्पका रुपमा मृगौला बेच्ने निर्णय लिनुका पछाडि ऋणको बोझ रहेको बताउने परियारले साढे ३ वर्षअघि फाइनान्सबाट ऋण लिएका थिए । जसबाट उनले ‘छोटा हात्ती’ अर्थात् मालसामान बोक्ने सानो गाडी १० लाख रुपैयाँ हालेर किनेका थिए ।
‘सो गाडी चलाउँदा आएको भाडाले ब्याज तिर्न र जेनतेन घर खर्च चलेको थियो । गाडी भाडामा दिनुप¥यो भन्दै कहिलेकाहीँ महिलाको पनि फोन आउँथ्यो । तर, महिलाको फोन आउन थालेपछि श्रीमतीले ‘अर्कोसँग लागेको’ भन्दै शंका गर्न थालिन् । श्रीमतीसँग सम्बन्ध नै बिग्रिने भयो । त्यसपछि घर बिग्रनुभन्दा विदेश जाने निधो गरें’ उनले भनेका छन्– ‘केही रकम जोहो गरेर विदेश हान्निएँ । त्यसबेलासम्म गाडीको ४ लाख ऋण बाँकी नै थियो । आफू विदेश हिँडेपछि श्रीमतीले २ लाखमै सो गाडी पनि बेचिदिइछन् ।’
विदेश गएर टन्न कमाउने सोच बनाएका परियारका लागि विदेशको कमाइ पनि सोचेजस्तो भएन । ‘फ्री टिकट र फ्री भिसा भनिए पनि दुबई जान १५ हजार रुपैयाँ तिरेको’ बताउने उनको कथन छ– ‘३/४ महिना काम गर्दा पनि कम्पनीले तलब नदिएपछि दुबईमा अर्को कम्पनीमा काम खोजें । बल्लतल्ल मासिक ५० हजार जति कमाइ हुने कम्पनीमा काम पाएँ ।’
त्यसपछि घरमा रकम पठाउन थाले । तर, उनको सबै ऋण चुक्ता भएन । आफू विदेश गएपछि श्रीमतीसँग फोनमा कुरा हुँदा जहिले पनि ऋणको कुरा गर्दागर्दै म पनि विदेश जान्छु भन्न थालिन् ।
त्यसबीच एक एजेन्ट मार्फत उनले श्रीमतीलाई भिजिट भिसा मार्फत दुबईकै एक ब्युटी पार्लरमा काम खोजिदिए । तर, श्रीमती भने कुवेत उडिन् । उनी कुवेत गएको ५ महिना भयो, तर सम्पर्कविहीन छिन् । श्रीमतीले फोन र अन्य सामाजिक सञ्जालमा आफूलाई ‘ब्लक’ गरेको परियारले बताए । ‘दबैं र तिहारमा ममीको फोन आउँछ भन्दै छोराहरूले आश गरेका थिए । तर, फोन आएन’ उनले भने– ‘छोराहरूको चाडपर्व पनि आफ्नो ममीको फोनकै आशमा बित्यो ।’ तर, उनी आफू भने ३ वर्षपछि दशैंको केही अघि मात्रै गाउँ फर्किए ।
गाडी किन्न लिएको र अन्य व्यक्तिको गरी करीब ८ लाख रुपैयाँ ऋण अझै बाँकी नै भएको उनले बताए ।
स्वरोजगार बैंकबाट निकालेको २ लाख ५० हजारको मासिक १४ हजार ५ सय किस्ता, छिमेकी बैंकबाट निकालेको २ लाखमध्ये ५० हजार तिर्न बाँकी, स्थानीय सहकारीमा ५० हजार र अन्य छिमेकीसँग ५० हजारदेखि डेढ लाखसम्म ऋण देखिएको छ । ब्याजमा लिएको ऋणको ३÷४ वर्षदेखि ब्याज तिर्न नसक्दा ऋण चुलिँदै गएको थियो । तर, ‘ब्याज र साँवा बुझाउनुप¥यो भन्दै घरमा मान्छे आउँछन्’ उनीसँग भने तिर्ने उपाय केही छैन ।
त्यही ऋणबाट मुक्त हुनकै लागि बाध्य भएर आफूले मृगौला बेच्ने विकल्प रोजेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *