• Sat. Jul 27th, 2024

ऊर्जा मन्त्री भुसाललाई विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक काफ्लेको खुल्ला पत्र

BySaptahik Samachar

२० श्रावण २०७८, बुधबार १०:१३ २० श्रावण २०७८, बुधबार १०:१३ २० श्रावण २०७८, बुधबार १०:१३

माननीय ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालज्यू,

सादर नमस्कार !

सर्वप्रथम यहाँलाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना छ । तपाईं र म दुवै जना पुल्चोक इन्जिनियरिङ क्याम्पसको उत्पादन भएको र तपाईं ऊर्जा जस्तो गरिमामय मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्नुभएको हुँदा गर्वको अनुभूति भएको छ । हाम्रो राजनीतिक आस्था, विचार फरक–फरक भए पनि देश, समाज, विकास र परिवेशलाई हेर्ने र बुझ्ने सवालमा हामीबीच धेरै समानता छ÷हुनुपर्छ जस्तो लाग्छ ।

तपाईं मन्त्री नियुक्त भएपछि अन्य महत्त्वपूर्ण विषयभन्दा विद्युत प्राधिकरणको नेतृत्व परिवर्तनमा विशेष ध्यान र चासो राख्न थालेको हल्ला र समाचार सतहमा प्रस्ट देखिएको हुँदा यो पत्र लेख्दैछु । मेरो अपेक्षा, सुनिएका हल्ला वा समाचार गलत होउन् भन्ने छ । तर, मेरो अपेक्षा र भित्री चलखेलका बीच मेल खाइरहेको पाउँदिन ।

व्यक्तिगत रूपमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हट्नु र नहट्नुमा मेरो जीवनमा कुनै तात्विक फरक पर्दैन । म स्वयं त्यो संस्थाको दुई पटक सञ्चालक समितिको सदस्य र खुल्ला प्रतिस्पर्धाबाट करिब २२ महिना कार्यकारी निर्देशक नियुक्त भई काम गरिसकेको हुँ । मेरो यो संस्थासँगको भावनात्मक सम्बन्ध र यसको भविष्य गम्भीर संकटतर्फ उन्मुख भइरहेको हल्लाका कारण चूप लागेर बस्न मनले नै मानेन ।

आफ्नो बुद्धि–विवेक, परिश्रमले भ्याएसम्म महाभूकम्प र नाकाबन्दीको समेत सफल सामना गरी देश, जनता र संस्थाको हितमा काम गरेको जगजाहेर छ । जुन विषय अहिले वास्तविकताको गर्भमा रहे पनि इतिहासले पक्कै सम्झनेछ ।

मैले अथक परिश्रम, मिहिनेत र जिम्मेजारी पूरा गर्दा–गर्दै ममाथि कलियुग खनियो । स्वनामधन्य, स्वघोषित विद्वान र ‘उज्यालो नेपाल’का संवाहक भनिएकाहरूबाट मेरो चरित्र हत्या गर्ने काम भयो । मनभित्र पोको परेर रहेका कुण्ठा, व्यभिचार, अनैतिक हर्कत प्रयोग गरेर मेरो मान–प्रतिष्ठामाथि प्रहार भएको पक्ष घामजस्तै छर्लङ्ग छ ।

कतिपय अवस्थामा तत्तत्का व्यक्ति तथा समूहले व्यक्तिगत अहंकार, दम्भ र छद्म रूपले अपमान, गाली गर्ने थलो पनि म नै हुनुपरेको थियो । यति हुँदा हुँदै पनि मैले वितृष्णाको विष पिएर आफ्नो जिम्मेवारी र उत्तरदायित्व पूरा गर्दै निष्ठापूर्वक काम गरेको हुँ भन्दा मलाई गर्व हुन्छ । नखाएको विष लाग्दैन भनेझै आफूमा त्यसले विचलन, निराशाभन्दा ऊर्जा र उत्साह नै थपिएको महसुस भएको छ ।

मैले बुझेको लोकतन्त्रमा पद्दति र प्रणालीभित्र व्यक्तिको भूमिका खोज्ने हो । व्यक्तिको भूमिकाभित्र पद्दति र प्रणाली खोज्दा के हुन्छ भन्ने कुराको जानकार र भुक्तभोगी तपाईं स्वयं हुनुहुन्छ । यो सिद्धान्त पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमा मात्र होइन, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पम्फा भुसालमा समेत उत्तिकै आकर्षित हुन्छ । तपाईंकै भाषामा हिजो प्रतिगमनको जन्म पनि व्यक्ति आफू स्वयंलाई सिङ्गो प्रणाली मान्दाको परिणाम हो ।

वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग मेरो चिनाजानी र सम्बन्ध एउटै संस्थामा कार्यरत रहँदाको औपचारिक मात्र हो । विगत ५ वर्षदेखि उहाँलाई बधाई दिनुबाहेक मेरो भेटघाट र सम्पर्क छैन । मेरो बुझाईमा उहाँ एक असल र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारी हो । कुनै अमूक राजनैतिक दलप्रति उहाँको आस्थाको बारेमा मैले त्यहाँ कार्यरत रहँदा र आजसम्म भेउ पाएको छैन ।

मैले नजिकबाट बुझेसम्म विद्युत प्राधिकरणको इतिहासमा योग्य र सक्षम प्राविधिकहरू मध्ये शाक्य पनि अगाडि नै पर्नुहुन्छ । के.पी. ओलीको आलोचना गर्ने सयौं विषयहरू होलान् । म व्यक्तिगतरूपमा पनि उहाँका पछिल्ला गतिविधिहरूको आलोचक नै हुँ । तर, विद्युत प्राधिकरणको नेतृत्व चयनका सम्बन्धमा तत्कालीन समयमा उहाँले प्रधानमन्त्रीको हैसियतमा गर्नुभएको निर्णयको म समर्थक र पक्षपाती हुँ ।

हितेन्द्रदेव शाक्य कसैको साला, भेना, ज्वाइँ भएको कारणले होइन, वरिष्ठता र क्षमताको आधारमा कार्यकारी निर्देशक नियुक्त हुनुभएकोमा विमति राख्ने ठाउँ छैन । काम गरेको ६ महिना पनि नपुग्दै उहाँलाई अक्षम साबित गर्न खोज्नु सर्वथा अन्याय हुन्छ । यदि, यस्तो भयो भने यो विद्युत प्राधिकरणमाथि चरम राजनैतिक हस्तक्षेप हुनेछ । त्यो इतिहासमा ‘कालो दिन’का रूपमा चित्रित हुनेछ भन्ने मेरो धारणा छ ।

तत्कालका लागि कसैका निम्ति ‘विजय’ र ‘पराजय’ हुने विषय होला । तर, कालान्तरमा त्यस्तो कदमका कारण संस्थाले ठूलो क्षति व्यहोर्ने निश्चित छ । सम्भावित कदमले अस्थिरताको बिजारोपण हुनेछ । तपाईं विद्युत प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत भएकोले सबै कर्मचारीहरूको अभिभावक पनि हो ।

तसर्थ, आस्था, विचार र आग्रहभन्दा माथि उठेर सबैको उचित संरक्षण र प्रोत्साहन गर्नु तपाईको दायित्व एवं धर्म हुने कुरा मैले सम्झाइरहन आवश्यक छैन । हुन त यो विषय तपाईंको व्यक्तिगत इच्छाभन्दा दबाब हो भन्ने म राम्ररी बुझ्दछु । कथंकदाचित, यसो भएमा तपाईंले मन्त्री नियुक्त हुँदा देश, जनताका नाममा सपथ खाँदै “निष्ठापूर्वक कसैको दबाबमा नपरी मुलुकको हित चिताई काम गर्नेछु” भनी उच्चारण गर्नुभएको वाक्यांशले तपाईंलाई पोल्नेछ । सदैव झस्काइरहनेछ ।

तपाईंले बारम्बार उच्चारण गरिरहने ‘प्रतिगमन’ शब्दको व्यवहारिक बोध र कार्यान्वयनमा हेक्का राख्नु नै हुनेछ भन्ने अपेक्षा गर्दछु । तपाईंको अहिलेको प्राथमिकता एक थान कार्यकारी निर्देशक परिवर्तन गरेर बहादुरी देखाउनेभन्दा बिजुली खपत बढाउने, भारतसँग कूटनैतिक पहल गरी विद्युत व्यापारको अवरोध हटाउने, निर्माणाधीन जलविद्युत आयोजना तथा प्रशारण लाइनहरू यथाशीघ्र सम्पन्न गर्न पहल गर्ने, बिजुलीको गुणस्तर सुधार गर्नेजस्ता कार्यमा केन्द्रित हुनुपर्छ भन्ने व्यक्तिगत सुझाव दिन चाहन्छु ।

ऊर्जामन्त्रीको रूपमा तपाईंको पहिचान प्रचारात्मकभन्दा गुणात्मक हिसाबले स्थापित होस् । जसबाट भविष्यमा आउने मन्त्रीज्यूहरूले तपाईंको पदचाप पछ्याउने वातावरण बनोस् । म व्यक्तिगतरूपमा निरन्तरका मन्त्रीहरूभन्दा तपाईंले एक कदम अगाडि बढेर निष्ठापूर्वक फरक खालको पहिचान स्थापित गर्न सक्नुहोस् भन्दै पुनः शुभकामना व्यक्त गर्न चाहन्छु ।

शुभेच्छुक

ई.डा. मुकेशराज काफ्ले
पूर्वकार्यकारी निर्देशक,
नेपाल विद्युत प्राधिकरण

साभार

2 thoughts on “ऊर्जा मन्त्री भुसाललाई विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक काफ्लेको खुल्ला पत्र”
  1. This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *