भद्रपुर , ४असोज/ सन्दीप लामिछाने र करन केसीले उत्कृष्ट बलिङको गरेपछि आईसीसी वर्ल्डकप लीग-२ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । मस्कटको अल अमेरत रंगशालामा हिजो आइतबार भएको खेलमा १२२ रनको लक्ष्य पछ्याएको नेपालले १९ औं ओभरमा लक्ष्य भेटेको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्ध शतक प्रहार गरे । मल्लले ४६ बल खेल्दै २ छक्का र ४ चौका प्रहार गरेर ५२ रन बनाए । उनले दोस्रो विकेटका लागि आसिफ शेखसँग ९५ रनको साझेदारी गरेका हुन् । ४४ बल खेलेका शेखले ४० रन बनाए । ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६ रन बनाएर आउट भएका थिए । टस जितेर फिल्डिङ रोजेको नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीप लामिछाने र करन केसीले समान ४ विकेट लिएपछि ओमान सस्तैमा समेटिएको थियो । ओमान ३८ ओभर खेल्दै १२१ रनमा अल आउट थियो । यस्तै शरद भेषवाकरले भने २ विकेट लिए। लामिछानेले १८ रन खर्चेर ४ विकेट लिएका हुन् भने करनले २५ रन खर्चेका थिए । नेपाल यसअघिको खेलमा ओमानसँग नेपाल ५ विकेटले पराजित भएको थियो । Post Views: 180 Post navigation उत्कृष्ट दुई जनालाई सम्मान गर्दै परिवार नियोजन दिवस मनाइयो फ्र्यांकफर्ट विमानस्थलमा ५ दर्जन नेपाली पक्राउ