भद्रपुर 9 मंसिर /झापामा नेपाली कांग्रेसका दुई ‘हेभी वेट’ नेता कृष्ण प्रसाद सिटौला र विश्वप्रकाश शर्मा समूहबाट अलग अलग प्यानल बनाएरै जिल्ला कार्यसमितिमा उम्मेद्वारी दिइएको छ। जिल्ला सभापतिमा सिटौलाका तर्फबाट देउकुमार थेवे र शर्मा समूहबाट राम कट्टेलले उम्मेद्वारी दिनुभएको छ। दुवै यी नेता तल्लो तहदेखि केन्द्रसम्म नै प्रतिस्पर्धामा छन्। सिटौला कांग्रेसका पूर्वमहामन्त्री हुनुहुन्छ । उहाँले अहिले पार्टीभित्र ‘तेस्रो धार’ भन्दै गुट चलाउँदै आउनु भएको छ।शर्मा कांग्रेसका प्रवक्ता हुनुहुन्छ । शर्माले, आउँदो महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।विगतमा सभापति शेरबहादुर देउवा समूहका शर्मा अहिले देउवासँग खटपट छ भन्ने चर्चा सुन्नमा आएको छ। अहिले उहाँ उपसभापति विमलेन्द्र निधि नजिक भएको चर्चा छ ।कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला तहमा अहिले धमाधम अधिवेशनका कार्यक्रम भइरहेका छन्।झापामा भने मुख्य प्रतिस्पर्धामा सिटौला समूह र विश्वप्रकाश समूह नै देखिएको छ। केन्द्रमा जस्तोसुकै समीकरण भए पनि झापाको समीकरण भने रोचक छ । विगतमा देउवानिकट मानिएका केशवकुमार बुढाथोकीले झापाको कांग्रेस निर्वाचनमा भने विश्वप्रकाशको साथ छाडेर सिटौला समूहलाई सघाउनु भएको छ।झापामा रामचन्द्र पौडेल समूहकी सरिता प्रसाईं समूहले विश्वप्रकाशका उम्मेद्वारलाई समर्थन गरेको देखिदैछ। झापामा यस पटक निकै रोचक रूपमा कांग्रेसको निर्वाचन सम्पन्न भइरहेको छ। विगतमा सिटौला समूहमा रहेका केहीले अहिले शर्मा समूहलाई साथ दिएको पाइन्छ ।शर्माको उदयसंगै सिटौलालाई टक्कर दिने बलियो प्रतिष्पर्धी नेता झापामै उदय भएकोले सिटौला पक्षलाई झापाको राजनीति रोचक बनेको छ।झापामा संघीय निर्वाचन क्षेत्रअन्तर्गत पाँच निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत १० वटै निर्वाचन क्षेत्रमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भइसकेको छ। प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिको पनि टुंगो लागिसकेको छ ।अब भोलि हुने जिल्ला कार्यसमितिको निर्वाचनले झापामा कांग्रेसको अन्तरिक राजनीति गर्माएको छ । तल्लो तहबाट भएको प्रतिस्पर्धा अनुसार सिटौला समूह झापामा हाबी छ। प्रदेशस्तरीय १० निर्वाचन क्षेत्रमध्ये सिटौला समूहले पाँच ठाउँमा जित हात पारेको छ।यस्तै, शर्माले तीन ठाउँमा जित हात पारे भने दुई जना तटस्थ छन्। क्षेत्र नम्बर १ ‘क’ का हरिबहादुर बुढाथोकी विगतमा शर्मा समूहमा थिए । अहिले उनले सिटौला समूहको समर्थनमा निर्वाचन जित्नु भएको हो।त्यसकारण उहाँ तटस्थ जस्तै देखिनुभएको छ । यस्तै, निर्वाचन क्षेत्र ४ ‘क’ का सभापति विगतमा शर्मा निकट हुनुहुन्थ्यो । तर, प्रदेश क्षेत्रीय सभापतिमा सिटौला समूहको सहयोगमा सर्वसम्मत निर्वाचित भएपछि उहाँ पनि तटस्थ देखिनुभएको छ ।त्यस्तै, झापा-१ ‘ख’ को क्षेत्रीय सभापतिमा शर्मा समूहका सन्तोष न्यौपाने विजयी हुनुभएको छ। क्षेत्र नम्बर २ ‘क’ मा लक्ष्मीप्रसाद आचार्य र क्षेत्र नम्बर २ ‘ख’मा किरण श्रेष्ठ निर्वाचित हुनुभएको छ। उहाँहरू दुवै सिटौला समूहका हुनुहुन्छ । क्षेत्र नम्बर ३ ‘क’ चिन्तामणि खरेल र क्षेत्र नम्बर ३ ‘ख’ मा विजयी हुने तुलसीप्रसाद ओली पनिसिटौला समूहकै हुनुहुन्छ । यस्तै, क्षेत्र नम्बर ४ ‘ख’ मा सिटौला समूहका ख्यामराज सिटौला विजयी हुनुभएको छ । क्षेत्र नम्बर-५ ‘क’ मा जीवनकुमार र क्षेत्र नम्बर ५ ‘ख’ मा रवि केसी न्यौपाने विजयी हुनुभएको छ। उहाँहरू दुवै विश्वप्रकाश शर्मा समूहका हुनुहुन्छ ।यस्तै, संघीय निर्वाचन क्षेत्र अन्तर्गत झापामा रहेका पाँच निर्वाचन क्षेत्रमध्ये सिटौला समूहले तीन र विश्वप्रकाश समूहले दुईवटा निर्वाचन क्षेत्रमा सभापतिको जित हात पारेका छन् ।क्षेत्र नम्बर १ को सभापतिमा शर्मा समूहका इन्द्रबहादुर बुढाथोकी, क्षेत्र नम्बर २ मा सिटौला समूहका खगेन्द्र मैनाली, क्षेत्र नम्बर ३ मा सिटौला समूहकै गणेश पोखरेल, क्षेत्र नम्बर ४ मा सिटौला समूहका जयनारायण साह र क्षेत्र नम्बर ५ मा विश्वप्रकाश समूहका ढुण्डीराज भण्डारी निर्वाचित हुनुभएको छ ।यस्तै, महाधिवेशनप्रतिनिधितर्फ पनि शर्मा समूहभन्दा सिटौला समूह नै अघि छ। झापामा तुलनात्मक रूपमा सिटौला समूह बलियो देखिन्छ।जिल्ला कार्य समितिको लागि मनोनयन दर्ता हुनुअघि नै दुवै गुटले आ आफ्नो प्यानल घोषणा गरेका छन् । सिटौला पक्षले सभापतिमा देउमान थेवे र शर्माको समर्थनमा राम कट्टेलले प्यानल घोषणा गर्नुभएको छ ।सभापति पदका उममेदवार कट्टेलले उपसभापति पदमा केदार शम्शेर गिरी र प्रेम सम्वाहाम्फे, सचिव पदमा विश्वदीप लिड्गदेन र टोम राजवंशी तथा सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईको नाम सार्वजनिक गर्नुभएको छ ।सभापतिका अर्का प्रत्यासी देउकुमार थेवेले उपसभापतिमा शेरवहादुर भट्टराई र केशवराज पाण्डे, सचिवमा कृष्ण हुमागाई र नविन विमली, सहसचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारीलाई टीम बनाएर मैदानमा हुनुहुन्छ । जिल्ला समितिको लागि मंसिर १० गते विर्तामोडमा निर्वाचन हुँदैछ । Post Views: 309 Post navigation सत्य साई केन्द्र चन्द्रगढीको रक्तदान कार्यक्रम जेसीज सप्ताहमा भद्रपुरमा 41 पिन्ट रगत सङ्कलन
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९