
भद्रपुर ९, वैशाख / गुडिरहेको गाडीमा विद्युत प्रवाह भएको तारले छोएर आगो लाग्दा ज्यान गुमाएका एकै परिवारका तीनै जनाको भद्रपुरमा सामुहिक अन्त्येष्टि गरिएको छ ।
ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न जाँदै गरेको मे.१ज ३०११ नम्बरको बोलेरो जीप आगलागी हुँदा निधन भएका सो गाडीमा सवार भद्रपुरका विनोद पौडेल, निजकी पत्नी सरिता पौडेल र नातिनी आध्या आचार्यको स्थानीय देउनिया घाटमा मंगलवार साँझ सामूहिक अन्त्येष्टि गरिएको हो।
पाथीभरातर्फ जाँदा बाटोमा पर्ने सेवारो चोकमा सडकमै लत्रिएको विद्युतीय तार छोएपछि भएको आगलागीबाट चालक दुर्गा भट्टराई सहित ४ जनाको घटनास्थलमै निधन भएको थियो। घटनामा पौडेल परिवारकै छोरी र नाती घाइते भए।

सयौको संख्यामा उपस्थित शोकाकुल भद्रपुरबासीले एकै परिवारका तीन वटै शवको अन्त्यष्टि गरेका थिए । पौडेल दम्पतीलाई एउटै चितामा र नातिनी आध्याको अर्को चितामा शव जलाइएको थियो। आगलागीमा परेका उनीहरूको पोष्ट मार्टम फुङलिङमा गरिएको प्रहरीले जनाएको छ। सोही घटनामा परी निधन भएका फुङलिङ निवासी गाडी चालक दुर्गा भट्टराईको फुङलिङमा अन्त्येष्टि गरिएको थियो।

सोमवार विहान सवेरै भएको आगलागीको घटना पछि भद्रपुर शोकसागरमा डुवेको छ। भद्रपुर नगरपालिका वडा नं ८ का पौडेल परिवार आइतवार विहान पाथीभरा दर्शन गर्न हिँडेका थिए।
आगलागीबाट घाइते सविना आचार्य र भविमय आचार्यलाई थप उपचारको लागि काठमाडौं लगिएको छ। घाइते आचार्यद्वय आमा छोरा हुन् । उहाँहरुको स्वास्थ्य अवस्था चिन्तामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ।

भद्रपुरबाट आफ्नो सवारी लिई ताप्लेजुङ गएका उनीहरुलाई हिजो विहान ताप्लेजुङबाट पाथीभरा दर्शन गर्न होटल मार्फत बुक भएको अर्को भाडाको गाडी लिएर जाँदै गर्दा सो दुर्घटना भएको थियो ।
शोक माथि पीडा
यसबीच, आगलागीको घटनामा तीन जनालाई गुमाउनु परेका भद्रपुरका पौडेल परिवारमाथि अर्को विपद थपिएको छ ।आफ्ना बुवाआमा र भान्जीको दुखद घटना सुनेर अष्ट्रेलियाबाट भद्रपुर आएका समीप पौडेलले आफ्ना बुवाआमालाई दागवत्ती दिन पाएनन् ।

घटना सुनेर उनी अष्ट्रेलियाबाट आज काठमाडौं आइसकेका थिए । तर , दुर्भाग्यवश काठमाडौबाट समीप चढेको विमान प्रतिकुल मौसमका कारण चन्द्रगढी विमानस्थलमा अवतरण हुन नसकी बाटोबाटै फर्काइएको थियो । सोही विमानमा आध्याका बडाबुवा पनि चढेका थिए ।
उनी र आध्याका घरका सदस्य आउन नसकेपछि साँझ ७ बजेतिर दागवत्ती दिइएको थियो । विनोदका काका कृष्ण पौडेलले तीनैजनालाइै दागवत्ती दिनु भएको थियो ।
उता , विद्युत दुर्घटनामा परी मृत्यु भएका फुङलिङनगर पालिका वडा नम्बर १० निवासी गाडी चालक दुर्गा भट्टराईकाे अन्त्येष्टि गरी क्रिया पुत्रीहरुलाई लिएर घर फर्कदै गरेको बोलेरो गाडी पनि दुर्घटनामा परेको छ। नीलोपाटी अनलाइनका अनुसार, फुङलिङ १० मै सो गाडी सडकबाट अन्दाजी १०० मिटर जति तल झरेकाे थियो। घटनामा मानवीय क्षति नभए पनि एक जना सामान्य घाइते भएको समाचारमा बताइएको छ।
Mersin Web Tasarım