दृश्यका देवता अर्थात् गड अफ् साइटको उपमाले विश्वभर सुपरिचित काठमाडौं निवासी डा.रुइतलाई यस वर्षको पुरस्कार आगामी २०८१ सालको बैशाख ४ गते भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रमको प्रेक्षालयमा एक कार्यक्रमका बीच प्रदान गरिने भएको हो । नगद ५ लाख र सम्मान–पत्र सहितको उक्त पुरस्कार नेपालकै सर्वाधिक राशिको पुरस्कार भएको पनि प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले चैत १५ विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको हो। प्रतिष्ठानद्वारा जारी विवरणमा भनिएको छ– ‘२०११ सालमा ताप्लेजुङको विकट ओलाङचुङगोलामा जन्मनुभएका रुइतले बनाएको लेन्स विश्वका ४० देशका आँखाका रोगीले प्रयोग गरिरहेका छन् भने सरल र कम लागतमा मोतियाविन्दुको उपचार गर्ने पद्धतिलाई ‘रुइतेक्टोमी’ नामकरण गरी उहाँले नै शुरुवात गर्नुभएको हो ।’ कोशी प्रदेश–प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यमा सोही दिन नगद १ लाख १ हजार १ सय ११ र सम्मान–पत्र सहितको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका– १, डुम्रिबोटका सविन बास्कोटालाई प्रदान गरिने भएको छ । तीक्ष्ण बुद्धिका १७ वर्षीय सविनले आफ्नै मेहनतमा मिनि एरोप्लेन, रोबोट, ड्रोन र मोटरसाइकल जस्ता सामग्री उत्पादन गरेर उदाहरणीय काम गरेकोले पुरस्कृत गरिन लागेको प्रतिष्ठानले जनाएको छ । विगत १३ वर्षदेखि मानवीय सेवा, नवप्रवर्तन, कृषि, पत्रकारिता, साहित्य, महिला सशक्तिकरण, बालबालिकालाई प्रोत्साहन जस्ता विधालाई समेट्दै पुरस्कृत गर्दै आएको सो प्रतिष्ठानले यसै वर्ष दमकमा नवस्थापित आधुनिक बाल अस्पताललाई ५ लाख रुपैयाँ, झापाका ५ वटा सामुदायिक विद्यालयका ३ सय जना विद्यार्थीलाई जुत्ता–मोजा र स्वीटर, ९८ जनालाई कृत्रिम हात–खुट्टा वितरण लगायतका सेवाकार्य गरेको छ । ओली वंश समन्वय समितिका केन्द्रीय अध्यक्ष उमेशचन्द्र ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन सचिव नारायणप्रसाद ओलीले गर्नुभएको थियो । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष ओलीले– अक्षय कोष राखी त्यसको ब्याज वापत प्राप्त हुने रकमबाट समाजसेवामा संलग्न रहँदै आएको यो प्रतिष्ठान र यस्तै प्रकृतिका समाजसेवाजन्य संस्थाहरूको निक्षेपमा बैंकले दिने ब्याज घटाउँदै लगेको परिप्रेक्ष्यमा अपेक्षित सेवाकार्य गर्न समस्या भएकोले समाजसेवी संस्थाको हकमा अलग्गै नीति बनाउन– सरकार समक्ष आग्रह समेत गर्नुभएको छ ।