• Sun. Sep 8th, 2024

मच्छिन्द्र क्लब भद्रपुर गोल्ड कपको सेमिफाइनलमा

BySaptahik Samachar

१० फाल्गुन २०७९, बुधबार १८:१६ १० फाल्गुन २०७९, बुधबार १८:१६ १० फाल्गुन २०७९, बुधबार १८:१६

भद्रपुर, फागुन १० । मच्छिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मच्छिन्द्रको जीतका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक-एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने चर्च ब्वाइजले गरेको थियो । खेलको ५४ औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुवाती गोल गरे । तर, उनले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गरेका थिए ।
यद्यपि अन्तिम १० मिनेटमा लयमा फर्किएको मच्छिन्द्रले लगातार गोल फर्कायो । खेलको ८१ औँ मिनेटमा सुजल श्रेष्ठले लामो फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै मच्छिन्द्र खेलमा फर्काए ।
खेललाई बराबरीमा फर्काएपछि उत्साहित मच्छिन्द्रका खेलाडीले लगत्तै अर्को गोल थपे खेलको ८६ औँ मिनेटमा विमल घर्तीमगरले हेडरमार्फत गोल गर्दै मच्छिन्द्रको जित सुनिश्चित गरे ।

मच्छिन्द्रको फाइनल प्रवेशका लागि अब एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ बंगलादेशबीचको विजेतासँग आइतबार खेल्ने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।
बुधबारको खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा लगायत परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।
भोलिको खेल त्रिभुवन आर्मी फुटबल क्लब र डुक ल्हायुल फुटबल क्लब भूटानबीच हुनेछ ।
आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् ।
उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदियमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ । प्रथम भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *