
भद्रपुर २३,जेठ /भद्रपुरमा दोश्रो संस्करणको युवा सम्मेलन शुरू भएको छ। दुई दिवसीय युवा सम्मेलन आजबाट स्थानीय होटल डेग्लोमा शुरू भएको हो।
कोशी प्रदेशमै पहिलो पटक २०७६ सालमा भद्रपुर नगरपालिकाले युवा सम्मेलन गरेर इतिहास बनाएपछि आजबाट दोश्रो संस्करण शुरू भएको हो।
युवाहरूको सशक्तीकरण जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो भन्ने नाराका साथ शुरू भएको दोस्रो नगर सम्मेलन ‘२०८२’ को उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गर्नु भएको हो ।
भद्रपुर नगर युवा परिषद्को आयोजनामा लगभग २५० जनाको सहभागितामा भएको युवा सम्मेलनको अध्यक्षता नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रमलाई नगरप्रमुख पोखरेल,नगर उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, पार्टी प्रतिनिधि असारू राजवंशी, हिक्मत कार्की-डिल्ली,रेडक्रस झापाका सभापति लोकराज ढकाल, भद्रपुर नगर पालिकाकी सामाजिक विकास समिति-संयोजक सीता गुरागाईं-ढकालले सम्बोधन गर्नु भएको थियो।

भद्रपुर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रमको सञ्चालन नगर युवा परिषदका सदस्य सचिव योगेन्द्र पौडेलले गर्नुभएको थियो ।
नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि युवाहरूमा सकारात्मक उत्प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ शुरू भएको सम्मेलनले उनीहरूमा सामाजिक तथा सामुदायिक दायित्वको विकास गर्ने, जीवनोपयोगी सीपको विकास गरी जीवनलाई उपयोगी र व्यावहारिक धारणासहित जिउन उत्प्रेरित गर्ने, नेतृत्व सीपको विकास गर्ने, सक्षम नेतृत्व विकासमा सहयोग गर्ने र दिगो विकासको स्थानीयकरणमा सहयोग पुग्ने विश्वास राखिएको छ।
दुई दिने कार्यक्रमको पहिलो दिन आज युथ मोटिभेसन अफ लिडरसीप विषयमा डा. सन्देशदास श्रेष्ठ, युथ एण्ड क्लाइमेट एक्सन विषयमा अर्नव चौधरीले र कवि र कविताका विषयमा नवराज पराजुलीको प्रस्तुति रहने आयोजकले जनाएका छन्।
त्यस्तै दोस्रो दिन भोलि इन्जिनियर आरिफ अली,प्रतीक राउत,सांसदद्वय महेश बर्तौला र रामहरि खतिवडा, रजनी थापा र सुगारिका केसी.को प्रस्तुति रहने छ। सारङ्गी फिल्मको चर्चित गीतका गायक प्रशान्त शिवाकोटीलाई सम्मान गर्ने तथा भद्रपुर घोषणापत्र जारी गरेर सम्मेलन सम्पन्न गर्ने तयारी छ।