भद्रपुर १२,फागुन / आगामी फागुन २८ गतेबाट नेपालमा हात्ती पाइले रोग विरूध्द आम औषधि खुवाइँदैछ। भद्रपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा विहीबार भएको भद्रपुर नगरस्तरीय योजना तर्जुमा तथा वहुनिकाय गोष्ठीमा औषधि सेवन अभियान देशैभर फागुन २८ गतेबाट सञ्चालन हुने जानकारी गराइएको हो। ‘निको नहुने गरी अपाङ्गता गराउने समस्याको मुख्य कारण हात्ती पाइले भएको तथ्याङ्क छ’ जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रवक्ता जीवन चौलागाईंले भन्नुभयो – ‘८०प्रतिशत भन्दा बढी हाइड्रोसिलका बिरामी हात्ती पाइले रोगले नै भएको भेटिएको छ।’ भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्य र नगर स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईको अध्यक्षतामा भएको गोष्ठीमा चौलागाईंले प्रगति राम्रै देखिए पनि पटक पटकको सर्भेबाट पास हुन नसक्दा यस पटक ११औं चरणको औषधि खुवाउन लागेको बताउनुभयो।हात्ती पाइलेसंगै जुकाको औषधि पनि खुवाइन्छ। नेपाल सरकारको यो अभियानलाई सवैले आ- आफ्नो ठाउँबाट सहयोग पुर्याउन नगर प्रमुख श्रेष्ठले जोड दिनुभएको छ। हामी आफै बढी जान्ने र गैर जिम्मेवार हुँदा कार्यक्रम पटक पटक असफल भएको छ, यस पटक अलिक प्रभावकारी ढंगले लाग्न सम्वध्द सवै पक्षसँग उहाँको आग्रह छ। ७१ वटा देशका ८५ करोड मानिस हात्ती पाइलेबाट प्रभावित भएको र विश्वका ४ करोड मानिस हात्ती पाइलेकै कारण अंग भंग भएर जीवन बिताइरहेको तथ्याङ्क छ। सन् २०३० सम्ममा विश्व स्वास्थ्य सङ्गठनले हात्ती पाइले रोग निवारण गर्ने लक्ष्य निर्धारण गरेको तथा नेपालले पनि सन् २०२६ सम्ममा हात्ती पाइलेलाई स्वास्थ्य समस्याका रूपमा नराख्ने संकल्प लिएको चम्लागाईंले त्यस अवसरमा जानकारी दिनुभयो। झापा जिल्लामा यसपटक ८ लाख ४३ हजार जनालाई औषधि खुवाउने लक्ष्य छ। त्यसका लागि ६ सय तालिम प्राप्त स्वास्थ्यकर्मी र ६ सय जना महिला स्वयंसेविकाहरु परिचालन गर्ने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। खाली पेटमा खान नहुने, दुई वर्ष भन्दा मुनिका बच्चा र सात दिन सम्मका सुत्केरी महिला तथा सिकिस्त विरामी वाहेक सवैले खाए हुने यो औषधिले कसै कसैलाई सामान्य असर देखिए पनि आम मानिसलाई कुनै असर नपार्ने स्वास्थ्य विज्ञले जनाएका छन्। Post Views: 348 Post navigation इलामबाट आजदेखि व्यवसायिक उडान सुरु/पर्यटन विकासमा सहयोग पुग्ने सदरमुकाममा पुनर्निर्मित काली मन्दिरको उद्घाटन
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९