रेल सेवा विस्तारले स्थानीय खुसी

भद्रपुर ९ असोज / झापाको सदरमुकाम भद्रपुरसँग सीमा जोडिएको गलगलियाबाट पटना, कटिहार, बनारश, दिल्ली र कलकत्तासम्म जान आउन सुविधा भएको छ। नेपालसँग सीमा जोडिएको गलगलिया रेलस्टेशनबाट सुरु भएको यो सेवाले नेपाल-भारतबीचको आवागमनलाई समेत अझ नजिक ल्याउने विश्वास लिइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ सेप्टेम्बर अर्थात् भदौ ३० गतेका दिन गलगलिया–ठाकुरगञ्ज–अररिया नयाँ रेलखण्डको औपचारिक उद्घाटन गर्नुभए पछि त्यहाँबाट सुरु भएको रेल सेवाले नेपालीहरूलाई पनि आवतजावतमा सुविधा भएको हो। करिब ११० किलोमिटर लामो यो रेलमार्ग नेपालसँग सीमा जोडिएको गलगलिया स्टेशनमार्फत सञ्चालनमा आएको हो।
नेपाल भारत मैत्री सङ्घ , भद्रपुर नगरपालिकाका प्रमुख,झापा उद्योग संघ र ती संघ संस्थासँग आबद्ध अभियानकर्मीहरूको निरन्तरको प्रयासले सीमाञ्चल क्षेत्रको रेलसेवा सुरु भएकोमा भारत नेपाल मैत्री संघले आज नेपालका अभियानकर्मीहरूलाई स्वागत सम्मान समेत गरेको थियो।

रेलमार्ग सञ्चालनसँगै कटिहार–सिलिगुडी डीएमयू ट्रेन नियमित रूपमा चल्न थालेको छ। यो ट्रेन बिहान ५ बजे कटिहारबाट छुटेर पूर्णिया, अररिया, ठाकुरगञ्ज, गलगलिया लगायत विभिन्न स्टेशन हुँदै बिहान १० बजे सिलिगुडी पुग्नेछ। फर्की आउने क्रममा दिउँसो १२:३० बजे सिलिगुडीबाट छुटेर साँझ ६ बजे कटिहार पुग्ने गरेको छ।
यससँगै दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी विभिन्न पूजा स्पेशल रेलसेवाहरू समेत सञ्चालनमा आएका छन्। यी रेलहरू सीमांचल हुँदै मिथिलाञ्चल, पटना, नरकटियागञ्ज र गोरखपुर–अयोध्या–गोमतीनगरसम्म पुग्नेछन्।
नेपाल भारत मैत्री सङ्घ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीका अनुसार, गलगलिया स्टेसनमा रोकिने रेलहरूमा महानन्द एक्सप्रेस बनारसहुँदै दिल्लीसम्म जाने गर्छ भने क्यापिटल एक्सप्रेसले पटनासम्मको यात्रा तय गर्छ। यस्तै, कञ्चनकन्या एक्सप्रेस कलकत्तासम्म पुग्छ । यी सबै रेल सेवाहरू सिलीगुरी बाट यात्रा गरी गलगलिया स्टेसनमा रोकिएर आफ्नो गन्तव्यतिर जाने आउने गर्दछन्।

स्थानीय बासिन्दाले लामो समयदेखि प्रतीक्षा गरेको यो रेलसेवा सञ्चालनमा आएपछि सीमांचल क्षेत्रको यात्रु आवागमन सहज भएको छ। विशेष गरेर कृषक, व्यवसायी, विद्यार्थी र रोजगारीका लागि बाहिर जाने युवाहरू सबैलाई यसले प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ।