
भद्रपुर,१ मङ्सिर / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्रा आजदेखि सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति,पूर्व उपप्रधानमन्त्री एवम् सांसद रवि लामिछानेले हिजो जनकपुरधामको रामजानकी मन्दिरमा ६० दिने ऐतिहासिक मेची–महाकाली यात्राको शुभारम्भ गर्नु भएर आजदेखि सांसद सिंहले भद्रपुरबाट पैदल यात्रा प्रारम्भ गर्नुभएको हो।
देशमा शान्ति स्थापना, राष्ट्रिय एकता सुदृढीकरण तथा नेपालीहरूबीच भावनात्मक सम्बन्ध, आपसी सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यका साथ यो अभियान अघि बढाइएको हो।
यस यात्राका क्रममा सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउँदै गाउँ–बस्तीमा पुगेर जनताको आवाज सुन्ने, समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने सांसद सिंहले बताउनुभएको छ।
उहाँका अनुसार, यो केवल पैदल यात्रा होइन, जनतासँग जोडिने, देश बुझ्ने र परिवर्तनको नयाँ संकल्प बोकेको राष्ट्रिय अभियान हो।
एकता, सद्भाव र समृद्धिका लागि मेची–महाकाली यात्राको अपेक्षा
यात्रालाई केवल पैदल यात्रा वा राजनीतिक अभियानमा सीमित नराखी नागरिकका समस्या बुझ्ने र नीतिगत समाधानको आधार तयार गर्ने संसदीय अभ्यास बनाउन विभिन्न कोणबाट सुझावहरु दिइएको छ।

यात्रामा नागरिकलाई भाषण सुनाउने भन्दा नागरिकका कुरा सुन्ने, यात्राका क्रममा पर्ने प्रत्येक बस्तीमा नागरिकसँग प्रत्यक्ष संवाद गरी आफ्ना कुरा कम राखेर नागरिकका गुनासा, अनुभव र अपेक्षालाई प्राथमिकतामा राखेर यात्रा अघि बढाउने लक्ष्य लिइएको छ। सांसद सिंहले दैनिक ५ घण्टा हिंड्ने, सात घण्टा जनताका कुरा सुन्ने र बाँकी १२ घण्टा अन्य नित्य कर्मलाई समय छुट्याएको बताउनुभयो।
यात्राका क्रममा स्थानीय उत्पादन, बजारीकरण र आर्थिक समृद्धिमा ध्यान दिदै नागरिकले के उत्पादन गर्छन्, बजारीकरणमा के समस्या छ र स्थानीय अर्थतन्त्र बलियो बनाउन के गर्नुपर्छ भन्ने विषयमा नागरिकसँगै समाधान खोजेर आवश्यकता पहिचान गरी नीतिगत सहयोगका लागि दस्तावेज तयार गर्ने,त्यस्तै लामो समयदेखि जेल जीवन बिताइरहेका, अन्यायमा परेका वा राजनीतिक तथा प्रशासनिक दबाबका कारण पीडित भएका नागरिकका गुनासा सुनेर तथ्य संकलन गरी कानुनी तथा नीतिगत सुधारका लागि पहल गर्ने, जनजीवनमा प्रभाव पार्ने नीतिगत र सरकारी निर्णय पहिचान गरी स्थानीय, प्रदेश र संघीय सरकारले गर्नुपर्ने काम र क्याबिनेटबाट आवश्यक निर्णयबारे नागरिकसँगै समाधान खोजेर संसद् र सरकारसम्म पुर्याइने छ।
त्यस्तै, एकता, सद्भाव र समृद्धिका लागि थालिएको मेची–महाकाली यात्रालाई प्रभावकारी बनाउन सीमा क्षेत्रमा नेपालको सीमा र सीमावर्ती समाजको संरक्षणमा योगदान पुर्याएका स्थानीय व्यक्ति तथा समुदायको पहिचान गरी सम्मान गर्नुपर्ने र सीमामा हुने अवाञ्छित गतिविधिका कारण नेपाली नागरिकले भोग्नुपरेका समस्या अभिलेखीकरण गर्नुपर्ने तथा जहाँ पुगिन्छ त्यहीँका नागरिकले खाने खाना खाने, स्थानीय परिवेशमै बस्ने र उनीहरूको जीवनशैली बुझेर स्थानीय व्यवसाय र समुदायलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइएको छ।
हिमाल, पहाड र तराईलाई जोड्ने गरी भाषण र व्यवहार दुवैबाट भौगोलिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश प्रवाह गर्न, विशेषगरी ग्रामीण तथा अस्थायी प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीको आवास, सुरक्षा, स्रोतसाधन र मनोबलको अवस्था बुझेर उनीहरूको अवस्था सुधार्ने व्यावहारिक योजना तयार गर्न पनि भनिएको छ।
महिला, ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका आवाजलाई प्राथमिकताका साथ अभिलेखीकरण गरी उनीहरूलाई राज्यले अपनत्व र भरोसा दिएको अनुभूति गराउनुपर्ने र सम्पूर्ण यात्राको प्रत्येक बस्तीका समस्या, नागरिकका गुनासा, स्थानीय सुझाव, सम्भावना र समाधानका उपायलाई सूक्ष्म रूपमा अभिलेखीकरण गरी काठमाडौं फर्किएपछि ती तथ्य र नागरिकका आवाज संसद् तथा नीतिनिर्माणको तहमा प्रस्तुत गर्नुपर्ने अपेक्षा गरिएको छ।
समाधानका धेरै उपाय नागरिकसँगै रहेको भन्दै आवश्यकता केवल उनीहरूका कुरा सुन्ने, बुझ्ने र कार्यान्वयन गर्ने राजनीतिक इच्छाशक्तिको रहेको सुझावमा उल्लेख छ।
