चिटगाउँ — वेस्ट इन्डिजले दोस्रो टेस्टको पाँचौं दिन आइतबार बंगलादेशमाथि तीन विकेटको अपूर्व जित निकालेको छ । जितका लागि चौथो इनिङ्समा ३ सय ९५ रन पछ्याएको वेस्ट इन्डिजले सात विकेट गुमाएर त्यसलाई प्राप्त गरेको थियो ।
पाहुना टिमका लागि डेब्यु गरिरहेका केली मेयर्सले नटआउट रहेर २ सय १० रन बनाए र जितको आधार तयार पारे । उनले एनक्रुमह बोनरसँग निर्णायक सावित चौथो विकेटका लागि २ सय १६ रनको साझेदारी गरे ।
उत्कृष्ट प्रदर्शन गर्नेक्रममा मेयर्सले ३ सय १० बलको इनिङ्समा २० चौका र सात छक्का प्रहार गरे र उनी नै म्यान अफ द म्याच पनि रहे ।
डेब्युमा कोही पनि वेस्ट इन्डिज ब्याट्सम्यानले बनाएको यो दोस्रो ठूलो व्यक्तिगत स्कोर हो ।