• Fri. Feb 14th, 2025

भद्रपुर झापा गोल्डकप र मुख्य प्रायोजकबीच सम्झौता

BySaptahik Samachar

२३ माघ २०८१, बुधबार २२:३२ २३ माघ २०८१, बुधबार २२:३२ २३ माघ २०८१, बुधबार २२:३२

प्रायोजक पोखरेलद्वारा ३१ लाख दिने घोषणा

भद्रपुर २३ , माघ / भद्रपुर झापा गोल्डकप र भद्रपुर झापा गोल्डकप २०८१ को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) सौर्य एअरलाइन्स तथा भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलबीच सम्झौता भएको छ ।
   आज भद्रपुरस्थित होटल एअरपोर्टको सभाहलमा  भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र सौर्य एयर तथा ओमसाई पाथीभरा हस्पिटलका तर्फबाट अध्यक्ष दिपक पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो। यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको सम्मानस्वरुप ‘गम्भीर राई स्मृति संस्करण’ का रुपमा सञ्चालन हुँदैछ । हस्ताक्षरसँगै औपचारिक रुपमै अब यो प्रतियोगिता  ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथीभरा हस्पिटलको मुख्य प्रायोजनमा सञ्चालन हुनेछ ।

  प्रतियोगितामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकाल एवम् नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष हेमराज ढकालले आफ्ना मातापिता रामरेखा तथा लक्ष्मण ढकालको स्मृतिमा प्रथम पुरस्कार प्रदान गर्नुभएको छ ।त्यस्तै, दोस्रो पुरस्कार अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गर्ने भएको छ ।
   प्रतियोगिताको फाइनलमा टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई जगदम्बा मोटर्सले एक थान टिभिएस मोटरसाइकल उपहार प्रदान गर्नेछ भने नेपाल सुनचाँदी व्यवसायी संघ झापाको भद्रपुर शाखाले सुनको सिक्री प्रदान गर्नेछ। साथै,शाखाले प्रत्येक दिन टिकट काटेर प्रतियोगिता हेर्ने २ जना दर्शकलाई चाँदीको सिक्री, महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट प्रत्येक दिन टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई  एक थान हिमस्टार टिभी र एअर पोर्ट होटलले भाग्यशाली विजेताका २ जनालाई डिनरको व्यवस्था गरेको छ ।

प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म भद्रपुर–८ मा रहेको मेची रंगशालामा हुनेछ । रंगशालामा करिब २० हजार दर्शक बस्न सक्ने गरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य अन्तिम चरणमा पुगेको छ । त्यस्तै, बाँसको अस्थायी प्यारापिट निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
भद्रपुर झापा गोल्डकप २०८१ को विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछन् । यो रकम पूर्व राष्ट्रिय खेलाडी स्व.गम्भीर राईको स्मृतिमा उहाँकी धर्पमपत्नी रेखा अधिकारी राईले प्रदान गर्ने हुनुभएको जनाइएको छ।

यस्तै, उत्कृष्ट गोल किप्पर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइने भएको छ । भद्रपुर-८ निवासी दुर्गाराज-चन्द्रमाया श्रेष्ठले पनि आफ्ना सुपुत्र निश्चलराज राजभण्डारीको स्मृतिमा पुरस्कार प्रदान गर्ने हुनुभएको आयोजकले जनाएका छन्।
प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११,  विभागीय टोलीहरू सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस, ए डिभिजन क्लब एनआरटी,मच्छिन्द्र,चर्च ब्वाइज तथा भारत, भुटान र बंगलादेशका तीन विदेशी क्लबको सहभागिता रहने छ गोल्डकपका   अध्यक्ष दिपेश ढकालले जानकारी दिनु भयो।        

सम्झौता हस्ताक्षर तथा पत्रकार भेटघाट कार्यक्रममा सौर्य एअरलाइन्स तथा हस्पिटलका अध्यक्ष पोखरेलले आफ्नो ठाउँमा भएको प्रतियोगिताका लागि पहिलो प्राथमिकता स्थानीयले सहयोग गर्नुपर्ने आफ्नो मान्यता रहेकाले मुख्य प्रायोजन गरेको बताउनु भयो ।प्रायोजन स्वरूप प्रतियोगितालाई ३१ लाख रूपैयाँ प्रदान गरेको पनि उहाँले घोषणा गर्नु भयो।

गोल्डकपको संरक्षक भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले प्रतियोगिता आयोजनाले भद्रपुर तथा दक्षिण झापामा उत्साह छाएको उल्लेखगर्नुभयो। उपप्रमुख राधा कार्की, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले समेत सफलताको शुभकामना व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिवजीवनकुमारश्रेष्ठले गर्नुभएको थियो।

पत्रकार भेटघाटमा क्वार्टर फाइनलसम्मको खेलको टिकट दर रू.२ सय, सेमिफाइनलको रू.३ सय र फाइनलको टिकट दर रू.५ सय कायम गरिएको,ज्येष्ठ, अपाङ्गता भएका र सामुदायिक बिद्यालयका छात्र छात्रालाई परिचयको आधारमा निःशुल्क प्रवेश दिइने महासचिव श्रेष्ठले जानकारी दिनु भयो। भद्रपुर नगर पालिकाका जनप्रतिनिधि र कर्मचारी एवं पत्रकारहरूलाई पनि परिचय-पत्रको आधारमा प्रवेश दिने व्यवस्था गरिएको उहाँले बताउनु भयो।
प्रतियोगिताको अघिल्लो संस्करण २०७९ मा भएको थियो।सो संस्करणको विजेता टोली नेपाली सेनाले सहभागिता जनाउनेछ वा नजनाउन टुङ्गो आउन बाँकी रहेको आयोजकले जनाएका छन्।

3 thoughts on “भद्रपुर झापा गोल्डकप र मुख्य प्रायोजकबीच सम्झौता”

Leave a Reply

Your email address will not be published. Required fields are marked *